साफ यू–१५ः बंगलादेश र पाकिस्तान फाइनल खेल्ने

काठमाडौं । अघिल्लो संस्करणको उपविजेता नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । नेपाल बिहीबार पाकिस्तानसँग ४–० ले पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा बिहीबार भएको खेलमा नेपालले बलियो पाकिस्तानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा रोक्न सकेन ।पाकिस्तानले ५४औँ मिनेटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । पाकिस्तानका खेलाडीले क्रस गरेको बललाई जान लिम्बूले क्लियर गर्न खोज्दा बलले आफ्नै पोस्टको दिशा लिएको थियो ।

५९औँ मिनेटमा जान लिम्बूले पाकिस्तानी खेलाडीलाई डी–बक्समा लडाएपछि पाकिस्तानका मोहम्मद उल्लाहले गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा प्राप्त अर्काे पेनाल्टीमा मोहम्मदले गोल गर्दै पाकिस्तानलाई ३–० को सहज स्थितिमा पु¥याएका थिए । ७७औँ मिनेटमा मोइन अहमदले गोल गर्दै पाकिस्तानलाई ४–० को सहज जित दिलाए ।

अब पाकिस्तानले उपाधिका लागि शनिबार बंगलादेशको सामना गर्नेछ । बंगलादेशले बिहीबारै भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । नेपालले शनिबार तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ ।

प्रतिक्रिया