जलवायुमा बढ्दो समस्या

गत २५ वर्षमा विभिन्न समुद्रले सोसेको ताप पहिले सोचेको भन्दा धेरै परिमाणमा भएको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् । पछिल्लो अध्ययनले पहिले आँकलन गरिएको भन्दा ६० प्रतिशत धेरै ताप समुद्रहरूले सोसेको पाइएको देखाएको छ । नयाँ निष्कर्षअनुसार पृथ्वी इन्धन उत्सर्जनको परिणामप्रति धेरै नै सम्वेदनशील रहेको देखिन्छ । यसले यो शताब्दीमा विश्वव्यापी तापमान वृद्धिलाई सुरक्षित स्तरमा राखिराख्न निकै कठिन बनाइदिने देखिन्छ । यसको असर कहाँसम्म पुग्न सक्छ सहजै अनुमान लगाउन सकिने उनीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानेलको पछिल्लो बृहत् परीक्षणबमोजिम हरितगृह ग्यासका कारण संकलित अतिरिक्त तापको ९० प्रतिशत विश्वका समुद्रहरूले सोसेको देखिएको छ । यो नयाँ हिसाबले के देखाएको छ भने समुद्रहरूले पहिले सोचिएभन्दा निकै धेरै परिमाणमा ताप सोसेका छन् । यसले मानव क्रियाकलापका कारण उत्पन्न विश्वव्यापी तापमान वृद्धिका कारक ग्यासहरूले पहिले सोचेभन्दा धेरै तापमान वृद्धि गराएको देखाएको छ ।

सो अध्ययनमा सामेल अनुसन्धानकर्ताहरू भन्छन्, ‘यी नयाँ तथ्यले प्यारिस सम्झौतामा सरकारहरूले तापमान वृद्धिसम्बन्धी राखेको लक्ष्य भेट्टाउन झन् कठिन हुने देखिन्छ । बढी ताप भएको समुद्रमा अक्सिजनको मात्रा कम हुन्छ, जलचर प्रभावित हुन्छन् र सामुद्रिक सतहमाथि आउने जोखिम बढ्छ । यसले मानव जीनका साथै अन्य प्रणलीलाई पनि असर पार्ने उनीहरूको तर्क छ ।  यस शताब्दीमा तापमान वृद्धिलाई डेढ वा अझ २ डिग्री सेल्सियसभित्रै कायम राख्न थप कठिन बनाउने त छँदै छ, समुद्रमा मिसिएको अतिरिक्त तापले त्यहाँको पानीमा पनि व्यापक परिवर्तन ल्याउनेछ ।

संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स र जर्मनीका अनुसन्धानकर्ताहरूको सो अध्ययनले पृथ्वीको तापमान बढाउने हानिकारक तत्वहरूको उत्सर्जनमा पहिले लक्ष्य गरिएभन्दा थप २५ प्रतिशतले कमी ल्याउन पर्ने निष्कर्ष निकालेको छ । बढी ताप भएको समुद्रमा कम अक्सिजन हुन्छ जसले सामुद्रिक पर्यावरणमा सोझो असर पर्छ । यसैको कारणले समुद्र सतहमाथि आउने जोखिम पनि बढ्ने उनीहरूको भनाइ छ ।

वैज्ञानिकहरूले विश्वको तापक्रम बढ्दै जाँदा हुने खतराका सम्बन्धमा हालसम्म कै सबैभन्दा विस्तृत चेतावनी जारी गर्दै जलवायु परिवर्तनलाई सीमित तुल्याउन समाजमा अभूतपूर्व परिवर्तनहरू हुनुपर्ने बताएका छन् । पृथ्वीको तापक्रम वृद्धि, औद्योगिक क्रान्तिको वेलाको स्तरभन्दा १ दशमलव ५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिएको उक्त प्रतिवेदनका अनुसार हाम्रो संसार हाल त्यो सीमाभन्दा निकै बढी ३ डिग्री सेल्सियसतर्फ अघि बढिरहेको छ ।

तीन वर्ष लगाएर गरिएको अनुसन्धान र दक्षिण कोरियामा वैज्ञानिक तथा सरकारी अधिकारीहरूबीच एक हप्तासम्म चलेको वार्तापछि विश्वको तापमान वृद्धि हुँदा त्यसबाट पुग्ने असरबारे उक्त विशेष प्रतिवेदन सार्वजनिक गरिएको थियो । संयुक्त राष्ट्रसंघले जारी गरेको जलवायु परिवर्तनसम्बन्धी सो प्रतिवेदनमा भनिएको छ, पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमै परिवर्तन ल्याउन आवश्यक भएको छ । त्यसो गर्न सकिएन भने पृथ्वीलाई विनाशकारी जोखिमबाट जोगाउन गाह्रो हुन सक्छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर सकारी प्यानल (आइपिसिसी) ले तयार पारेको उक्त प्रतिवेदनका अनुसार ऊर्जा खपत, यात्रा, निर्माण सामग्रीको प्रयोग र हामीले खाने खानेकुरा जस्ता क्षेत्रमा नाटकीय परिवर्तन आवश्यक छ । सो अध्ययन प्रतिवेदनका अनुसार पृथ्वीको तापक्रमलाई १ दशमलव ५ डिग्रीभन्दा बढी बढ्न नदिने हो भने त्यसबाट विभिन्न प्रजातिहरू व्यापक रूपमा लुप्त हुनेदेखि सुख्खा र बाढीको समस्यालाई रोक्न सकिन्छ । तर, त्यस्तो लक्ष्य हासिल गर्न पुनः प्रयोग गर्न मिल्ने ऊर्जाको क्षेत्रमा तत्काल ठूलो लगानीको आवश्यकता पर्दछ ।

वैज्ञानिकहरू भन्छन्, ‘पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसले बढ्यो भने समुद्रमा रहेको ‘कोरल रिफ’ भनिने मुगाको बासस्थान नै मासिनेछ । यसका बारेमा सोच्न पनि उनीहरूले सुझाव दिएका छन् । दुई डिग्रीले तापक्रम बढेमा विश्वव्यापी रूपमा नै समुद्रको सतह झन्डै १० सेन्टिमिटरले बढ्नेछ । तर, तापमान वृद्धि १ दशमलव ५ डिग्रीमा सीमित तुल्याउन सकिएमा १ करोडभन्दा थोरै मानिसहरू बाढीको जोखिमबाट जोगिन सक्नेछन् । त्यसैगरी, समुद्रको तापक्रम र अम्लीयपनमा उल्लेख्य प्रभाव पर्नेछ र धान, मकै तथा गहुँजस्ता बालीको उत्पादन पनि प्रभावित हुनेछ ।

मेरिकी सरकारी वैज्ञानिकहरूले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले भनेको छ, ‘मानवीय गतिविधि’ ले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको हुनसक्छ । यसमा कमै मान्छेले ध्यान दिएका छन् । सो अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेखित गरिएको थियो ।

उक्त अध्ययन प्रतिवेदनको निचोड जलवायु परिवर्तनका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कैयौँ राष्ट्रलाई दोष लगाउँदै झुट बोलेको समेत उल्लेख गरेको थियो ।  ‘द क्लाइमेट साइन्स स्पेसल रिपोर्ट’ लाई ह्वाइट हाउसले अनुमोदन गरेको हो तर अध्ययन प्रतिवेदनको निष्कर्ष जलवायु परिवर्तनसम्बन्धी राष्ट्रपति ट्रम्पको धारणासँग मिल्दैन । उक्त कुरा सो प्रतिवेदनमा उल्लेखित गरिएको थियो । त्यसपछि ह्वाइट हाउसले एउटा वक्तव्यमार्फत भन्यो, ‘सशक्त वैज्ञानिक विश्लेषण र बहसलाई सहयोग गर्दै आएको’ छ । फेरि पनि गर्नेछौँ ।

५ सय पृष्ठको अध्ययन प्रतिवेदनको निष्कर्ष थियो, ‘यो आधुनिक सभ्यताको इतिहासमै सबैभन्दा बढी गर्मी भएको समय हो ।’ यो वातावरणीय दृष्टिले ठीक नभएको भन्दै उनीहरूले पुनः सचेत रहन आग्रह गरेका थिए । खासगरी, हरित गृह ग्यास उत्सर्जनजस्ता मानवीय गतिविधि नै जलवायु परिवर्तनको प्रमुख कारण भएको जस्तो देखिएको प्रतिवेदनले जनाएको छ । अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो, ‘योभन्दा चित्तबुझ्दो अर्को कुनै वैकल्पिक व्याख्या रहेको छैन ।’

वैज्ञानिकहरूले आफ्नो धारण राख्दै भनेका थिए, ‘यो शताब्दीको अन्त्यसम्ममा विश्वव्यापी समुद्री सतह ८ फिट जतिले बढ्ने सम्भावनालाई नकार्न सकिँदैन ।’ यो निकै ठूलो कुरा भएको उनीहरूले दाबी गरेका थिए । यही समयमा विश्वभर खडेरी र बाढीको जोखिम बढ्ने तथा डढेलो एवं विनाशकारी आँधीहरू प्रायः आइरहने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
यस्तै, जलवायु परिवर्तनका कारण पुरुषभन्दा महिला बढी प्रभावित हुने सम्भावना धेरै रहेको अध्ययनहरूले देखाएका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांकहरूले, जलवायु परिवर्तनका कारण विस्थापितमध्ये ८० प्रतिशत महिला रहेको देखाएका छन् ।
हेरचाह गर्नुपर्ने तथा खाना र इन्धनको व्यवस्था गर्नुपर्ने जस्ता प्राथमिक भूमिकाका कारण उनीहरू बाढी र खडेरीको अवस्थामा बढी जोखिममा पर्ने गरेको उल्लेख गरिएको छ । महिलाहरू बढी प्रभावित हुने गरेको विषय पहिचान गर्दै महिलाहरूको सशक्तीकरणसम्बन्धी प्रावधानलाई निरन्तरता दिनुपर्ने उनीहरूको तर्क रहेको छ ।

जलवायुका कारण सबै प्रकार जीव र प्राकृतिक वस्तुमा प्रभाव पार्ने हुुँदा त्यसको संरक्षण गर्ने दायित्व सबैको भएको उनीहरूले सुझाव दिएका छन् । त्यसैले, पूर्वाधार, रोजगारी र बसोबासलाई प्रभावित पार्ने विपत्तिहरूबाट फेरि पुरानै स्थितिमा फर्कन जटिलता थपिरहेको छ । अध्ययनअनुसार गर्मी क्षेत्रमा धेरै नै कीराफट्यांग्राको उल्लेख्य वृद्धि भएको र त्यसले बालीमा चरम असर गरेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् । ती क्षेत्रमा तापक्रम वृद्धिको असर कम देखिनेछ ।

वासिंगटन विश्वविद्यालयका एकजना अनुसन्धानकर्ताले बिबिसीलाई भने, ‘अहिले १२ वटा पाउरोटीमध्ये एउटा पाउरोटी बनाउन चाहिने बराबरको बाली नष्ट गर्छ कीराफट्यांग्राले । तर, यदि जलवायु परिवर्तन यसैगरी भइरह्यो भने यो शताब्दीको अन्त्यसम्ममा कीराफट्यांग्राले १२ मध्ये दुइवटा पाउरोटी बराबरको पिठो नष्ट गर्नेछ ।’
आनुवांशिक रूपमा संशोधन गरिएको बाली लगाएर, बालीको चक्र परिवर्तन गरेर र कीटनाशक विषादीको प्रयोग गरेर कीराफ्यांग्रा र तिनले गर्ने असर न्यूनीकरण गर्न उनीहरूले सुझाव दिएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया