तिहार मसलाको भाउ आकासियो

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै उपभोग्य वस्तुको भाउ पुनः आकाशिन थालेको छ । विशेषगरी तिहारको भाइटीकाका वेला प्रयोग हुने मसलाको मूल्य अत्यधिक रूपले बढेको हो । व्यापारीहरूका अनुसार मसलामा ३५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।

भाइटीकामा प्रयोग हुने काजु, किसमिस, ओखर, पेस्ता, बदाम, नरिवल, मखना लगायतका मसलामा शतप्रतिशत भन्दा पनि बढी मूल्यवृद्धि भएको छ । दुई साताकै अवधिमा प्रतिकिलो किसमिसमा २ सय ५०, सुकमेलमा ७ सयदेखि १ हजार दुई सयसम्म, बदाममा २ सय र पेस्तामा ५ सय रुपैयाँ मूल्यवृद्धि भएको छ ।

त्यस्तै, नरिवलमा १ सय ७५, मखनामा ७ सय, ल्वाङमा १ सय २५, खुरपानीमा ३ सय र ओखरमा २ सय रुपैयाँसम्म प्रतिकिलो मूल्यवृद्धि भएको छ । खुद्रा व्यापार संघद्वारा उपलब्ध गराइएको तथ्यांकअनुसार दुई साताअघि मात्र मूल्यमा उच्च वृद्धि भएको हो ।

सबैभन्दा बढी मखनामा मूल्यवृद्धि भएको छ । पहिले चार सय रुपैयाँ किलो पर्ने मखना अहिले १२ सय रुपैयाँ किलो पुगेको छ । पेस्ता १९ सय रुपैयाँ किलो, नरिवल ५ सय रुपैयाँ, ओखर ६५० रुपैयाँ किलो, ल्वाङ १४ रुपैयाँ किलो र किसमिस ६०० रुपैयाँ किलो पुगेको खुद्रा व्यापारीहरूले जानकारी दिएका छन् ।

टीकामा प्रयोग हुने मसलासँगै फलपूmलमा समेत भाउ बढेको छ । स्याउ र केराको भाउ बढेको छ भने मौसमको पनि सिजन सुरु भएसँगै भाउ विस्तारै बढ्दै छ । असोज १६ गते १ सयदेखि १ सय १० रुपैयाँ रहेको स्याउको मूल्य अहिले ११० देखि १२० सम्म बिक्री भइरहेको छ । यस्तै, ६० देखि ७० रुपैयाँ दर्जनमा बिक्री भइरहेको केरा अहिले ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

बजारमा तिहारको मसलाको मूल्यमा उच्च वृद्धि भए पनि थोक व्यापारीले भाउ नबढेको दाबी गरेका छन् । भाउका विषयमा थोक र खुद्रा व्यापारीबीच विवाद देखिएको छ । थोक व्यापारीले खुद्रा व्यापारीले भाउ बढाएको बताएका छन् भने खुद्रा व्यापारीले भने थोकबाटै मूल्य बढेर आएकाले बढाउनुपरेको बताएका छन् । नेपाल थोक व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार अहिले बजारमा तिहारका मसला नै नआएको भन्दै भाउ बढ्ने कुरै नहुने बताए ।

‘थोक बजारमा अहिले तिहारका मसला नै छैनन्, थोकबाट खुद्रामा पुग्दा पनि मूल्य बढेको छैन ।’ उनले खुद्रा व्यापारीले नै मूल्य बढाएको दाबी गरे । उता खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ भने थोकबाटै मूल्य बढेर आएको बताउँछन् ।

बजार भाउ बढेसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबारबाट अनुगमन सुरु गरेको जानकारी दिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार बिहीबारबाट अनुगमन थालिएको बताउँदै अस्वाभाविक रूपमा भाउ बढाएको पाइएमा कारबाही गर्ने बताए ।

प्रतिक्रिया