विश्वभर अहिले ‘मिटू’ अभियान फैलिएको छ । हरेक मान्छेका यौन चाहना हुन सक्छन् मात्रै त्यसलाई प्रयोग कसरी गर्ने वा कसरी बुझ्ने भन्ने हो । त्यही यौनका कारण विश्वमा ठुल्ठूला मान्छेले पद, पावर र प्रतिष्ठा गुमाउनु परेका थुप्रै उदाहरणहरू छन् । अमेरिकामा राष्ट्रपति भइसकेका र पुनः उम्मेदवार बनेका बिलकिन्टनलाई निर्वाचनमा त्यही विषयले असर पारेको थियो ।
यस्तै, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रमका बारेमा पनि वेलावेला यही चर्चा हुने गर्छ । यो केही उदाहरण मात्रै हो । यसले विश्वका धेरै चर्चित व्यक्तिहरूलाई पदमुक्त गराएको छ । पछिल्लो समय यसले नेपालमा पनि प्रभाव पार्न थालेको छ । १०औँ वर्ष लुकाएर राखेका कुण्ठा खोल्न थालेका छन् महिलाले । यसै सन्र्दभमा विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको अंश
महिलामाथि हुने यौन दुर्व्यवहारबारे गत वर्षदेखि विश्वव्यापी रूपमा चलेको ‘मिटू’ अभियानको केही प्रभाव नेपालमा पनि पर्न थालेको छ । सामाजिक र सांस्कृतिक परिवेशमा केही हदसम्म समानता रहेको छिमेकी देश भारतमा समेत पीडित महिलाले एकपछि अर्को गर्दै आफूमाथिको दुर्व्यवहार गर्नेहरूको नाम सार्वजनिक गर्न थालेका छन् । भारतमा देखिएको त्यसको प्रभाव नेपालमा पनि पर्दै छ । पछिल्लो समय नेपाली महिला चाहिँ खासै खुल्न नसके पनि थोरै थोरै खुलेको पाइन्छ ।
नेपालको सामाजिक संरचना र यौन दुर्व्यवहारबारे सम्बन्धी घटनामा देखिएको दण्डहीनताका कारण नेपालमा पीडकबारे खुलेर बोल्ने अवस्था नभएको कतिपय अधिकारकर्मीले बताउने गरेका छन् । गतवर्ष खासगरी हलिउडभित्र भएको यौन दुर्व्यवहारका घटना सार्वजनिक रूपमा देखापर्न थालेपछि त्यसले विश्वभरि नै ‘मिटू’ अर्थात् ‘यौनदुर्व्यवहारको सिकार म पनि’ भन्ने अभियान सुरु भयो ।
त्यसको तरङ्ग छिमेकी मुलुक भारतसम्म आइपुग्न करिब एक वर्ष लाग्यो । विभिन्न पेसा व्यवसायमा काम गर्ने केही महिलाले खुलेरै सामाजिक सञ्जालमा आफूमाथि दुर्व्यवहार गर्नेहरूको नाम सार्वजनिक गरे । वर्षौँ लुकाएर राखेका कुण्ठा उनीहरूले सामाजिक सञ्जालमार्फत पोखे । ढिलै भए पनि उनीहरूको साहसलाई सकारात्मक रूपमा लिनु पर्छ ।
भारतका राज्यमन्त्रीदेखि, प्रख्यात कलाकार र पत्रकारसमेत उक्त अभियानअन्तर्गत आरोपितको सूचीमा परे र तीमध्ये कतिपय यही कारण पदबाट राजीनामा दिन बाध्य भए । नेपालमा पनि कैयौँ महिलाले आफूहरू यौन दुव्र्यवहारमा परेको भन्दै त्यस्ता घटनाबारे बोल्न थालेको केही समय हुन थाल्यो ।
केही महिलाले आफ्ना सहकर्मीबाट दुर्व्यवहारमा परेका घटना सार्वजनिक गरेका छन् । तर, अझै पनि प्रस्टसँग आफूलाई दुव्र्यवहार गर्ने व्यक्ति को हो भनेर खुलाएका भने छैनन् । त्यसको पछि पनि यहाँको सामाजिक संरचना र सोचाइ हो ।
त्यसको कारण केलाउँदै सञ्चारकर्मी बबिता बस्नेत भन्छिन, ‘दण्डहीनता यसको मुख्य कारण हो । पीडा दिएका अथवा अपराध गर्ने व्यक्तिलाई कारबाही नभएकोले मानिसहरूलाई विश्वास छैन ।’ ‘आफूले भोगेको पीडाभन्दा पनि त्यो अपराध गर्ने व्यक्तिलाई कारबाही हुँदैन भने किन भनिरहने भनेर पनि यो विषयमा मौनता छाएको हो ।’ उनले बताइन् । पीडा सुनायो अरूले थाहा पाउँछन् तर, अपराधिलाई कारबाही हुँदैन भन्ने डर पीडित महिलामा छ ।
केही साताअघि पूर्व–सञ्चारकर्मी मीना कैनीले पत्रकार भएर काम गर्दा मौखिक र सांकेतिक यौन दुव्यर्वहारको सामना गर्नुपरेको सामाजिक सञ्जालमा लेखेकी थिइन् । यस्तै पत्रकार सुबिना श्रेष्ठले पनि समाचार संकलनका क्रममा उनीमाथि भएका दुर्व्यवहारबारे सामाजिक सञ्चालमा र पछि एउटा दैनिक पत्रिकामा पनि त्यस्ता विवरणहरू खुलाएर लेख नै लेखिन् । तर, दुवैले पीडकको विवरण भने खुलाएनन् ।
लेखक सरला गौतमले पनि मिटू अभियानलाई समर्थन गर्दै आएकी छन् । करिब १२ वर्षअघि रेडियोमा काम गर्दा त्यहाँका अधिकृतले दुर्व्यवहार गर्न खोजेको शंका लागेपछि त्यसको प्रतिवाद गरेको स्मरण गर्दै गौतमले भनिन्, ‘एउटा अन्तर्वार्ता अनुवाद गरूँ सर भन्दा उनले ‘यो अन्तर्वार्ता हामी कतै पर गएर गर्नुपर्छ’ भने । ‘तर, त्यो मेरा लागि स्वीकार्य भएन र त्यो काम गरिनँ । भोलिपल्टदेखि उनलाई नमस्कार गर्न पनि छाडेँ ।’
सामाजिक सञ्जालमा चलेको अभियान र यसले निम्त्याएको बहसले पनि समाजमा ल्याएको तरंगलाई सकारात्मक मान्नुपर्ने अधिकारकर्मी राधा पौडलेको भनाइ छ । उनी भन्छिन्, ‘यो अभियानलाई समर्थन गर्दै आफ्नो पीडा सार्वजनिक गरेका सबैले न्याय पाएका छैनन् । तर, यो महिलाको समस्या हो भन्ने धारणामा परिवर्तन आउँछ र सबैलाई यौन दुर्व्यवहारविरुद्ध बोल्ने वातावरण बनाउँछ ।’ कार्यालय वा अन्य स्थानमा भएका हिंसाबारे महिलाले यसरी बोल्न थाल्नुलाई धेरैले सकारात्मक मानेका छन् ।
तर, पनि त्यस्ता घटनाको कानुनी उपचार लिन लामो समय गुजार्दा न्याय पाउने सम्भावना कम हुँदै जाने कानुनका जानकारहरू बताउँछन् । अधिवक्ता सबिन श्रेष्ठले भने, ‘पीडकलाई समाजमा सार्वजनिक गर्ने कुरालाई यो अभियानले मद्दत गर्छ । तर, घटना भएको धेरैपछि कानुनी प्रक्रियामा जान उजुरी दर्ता गर्ने, हदम्यादको कारण र प्रमाण जुटाउनका लागि पनि गाह्रो हुन्छ । तर, आफूले भोगेका यौन दुर्व्यवहारबारे मुख खोल्नका लागि महिलामा पहिले सशक्तीकरण जरुरी रहेको धेरैको बुझाइ छ ।
त्यही कारण यस्ता घटना प्रकाशमा ल्याउन समय लाग्ने बस्नेत बताउँछिन् । त्यसमा पनि नेपाली समाजमा पीडकको नाम नै किटान गर्ने गरी महिलाहरू सशक्त हुन अझै केही समय लाग्ने देखिएको अधिकारकर्मी पौडेलले बताइन् । पछिल्लो समय महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको प्रहरी आँकडाले देखाउँछ ।
यस्तो अवस्थामा आफूमाथि भएको हिंसाबारे यसअघि मौन रहने गरेका महिलाहरू सार्वजनिक रूपमा बोल्दा पनि पीडकलाई सचेत गराउने कतिपयको बुझाइ छ । तर, बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तका परिवारले न्याय पाउन नसकेको अहिलेको अवस्थामा राज्यले पीडितलाई न्याय दिने संयन्त्र बलियो नबनाउँदासम्म यस्ता अभियानले तात्विक असर पार्न नसक्ने बुझाइ अर्काथरीको रहेको पाइन्छ ।
यो विषयमा जसरी विदेशमा महिलाहरू एकपछि अर्को खुल्दै गएका कारण नेपालमा महिलाहरू खुल्न थालेका छन् । त्यो प्रयाप्त छैन । घटना थाहा पाएपछि महिलालाई मात्रै दोषी देख्ने र पुरुषलाई जे पनि गर्न छुट छ भन्ने मान्यता हाम्रो समाजमा दह्रो गरी बसेको छ । यस कारण पनि धेरै महिला अहिले पनि आफ्नो समस्या दबाएर राख्न बाध्य छन् ।
यस्तै ब्रिटेनका आधा महिला र पाँचमध्ये एक पुरुषले कार्यस्थलमा वा शैक्षिक संस्थाहरूमा यौनदुर्व्यवहारको सामना गर्नुपरेको बिबिसीको एक सर्वेक्षणले जनाएको छ । दुव्र्यवहारकोे सिकार भएको बताउने महिलामध्ये ६३ प्रतिशतले कहीँ कतै उजुरी नदिएको र ७९ प्रतिशत पुरुषले उक्त घटना कसैलाई नभनेको बताउने गरेका छन् । बिबिसी रेडियो फाइभ लाइभले गरेको सर्वेक्षणका क्रममा २ हजारभन्दा बढी मानिससँग कुरा गरिएको थियो ।
हलिउडका एक निर्माता हार्भी वाइन्स्टिनले महिलाहरूमाथि यौन दुव्र्यवहार गरेका आरोपहरू सार्वजनिक भएपछि धेरै जनाले त्यस्तै किसिमका दुव्र्यवहार आफूहरूले पनि सामना गरेको भन्दै अनुभव साट्ने क्रमसँगै उक्त सर्वेक्षण गराइएको थियो ।
यौन दुर्व्यवहारको सामना गरेका महिला र पुरुषहरूले ‘मिटू’ अर्थात् ‘म पनि’ भन्ने ह्यासट्याग राख्दै विश्वव्यापी रूपमै त्यस्तो समस्या विकराल रहेको देखाउने गरि आआफ्ना अनुभव सामाजिक सञ्जालमा साटेका थिए । वाइन्स्टिनविरुद्ध हलिउड अभिनेत्रीहरू गुइनेथ पाल्ट्रो, एन्जेलिना जोली र रोज मागोवानलगायतका दुई दर्जनभन्दा बढी महिलाले बलात्कार तथा यौन दुर्व्यवहारका आरोप लगाएका थिए । वाइन्स्टिनले भने आफूले यौन सम्बन्ध सहमतिमै राखेको बताउँदै आएका छन् ।
रेडियो फाइभ लाइभको सर्वेक्षणमा २ हजार ३१ जना ब्रिटिस वयस्कहरू समावेश गरिएका थिए । सर्वेक्षणमा ३७ प्रतिशतले यौन दुर्व्यवहारको सामना गरेको बताए । सर्वेक्षणमा सहभागीमध्ये ५३ प्रतिशत महिला र २० प्रतिशत पुरुषले कार्यस्थल वा शैक्षिकस्थलमा अनुचित टिप्पणीदेखि लिएर यौन दुव्र्यवहारसम्म खेपेको जनाएका छन् ।
एक चौथाइभन्दा बढीले अश्लिल खालका चुट्किलाहरू सुन्नुपरेको र झण्डै सात जनामा एकजनाले आफूले अप्ठ्यारो महसुस गर्ने गरी स्पर्श गरिएको बताएका छन् । फाइभ लाइभको सर्वेक्षणअनुसार दुव्र्यवहार खेपेका १० मध्ये एकजना महिलाले यौनदुर्व्यवहारको सिकार भएको बताएका थिए ।
पुरुषभन्दा धेरै महिलालाई कम्पनीका मालिक वा वरिष्ठ प्रबन्धकले निसानामा पारेको सर्वेक्षणले देखाएको छ । त्यस्तो किसिमको दुव्र्यवहारमा पर्ने महिलाको संख्या ३० प्रतिशत र पुरुषको संख्या १२ प्रतिशत रहेको र १० पीडित महिलामध्ये एकजनाले दुर्व्यवहारबकै कारण जागिर वा पढ्दै गरेको शैक्षिक संस्था छोडेको बताएका छन् ।
क्यामब्रिजकी स्याराह किलकोयनले पढ्दै गर्दा दुई पुरुषले यौन दुव्र्यवहार गरेको बताइन् । किशोरावस्थामा हुँदा विद्यालयका शिक्षक र पछि क्याम्पसका प्राध्यापकबाट दुर्व्यवहार भएको उनले बताइन् ।
मानिसहरू प्रायः धेरैजसो कारणले यौन दुर्व्यवहारका बारे बताउन वा उजुरी गर्न असफल हुने एक्सेटर विश्वविद्यालयकी सामाजिक र संगठनात्मक मनोविज्ञानकी प्राध्यापक म्यानुएला बारेटोले बिबिसीलाई बताइन् । उनीहरूले त्यस्ता दुर्व्यवहारबारे सोझै नभएको वा ठट्टामा भएको हुनसक्ने ठान्दछन् ।
तर, जब सञ्चार माध्यममा दुर्व्यवहारको एउटा घटनाबारे खुलासा गरिन्छ, तब ती असरहरू बदलिन थाल्छन् । ‘यसले बुझाइमा मद्दत पु¥याउँछ । अनि कस्ता गतिविधि यौन दुर्व्यवहार हुन् भनेर छुट्याउन मद्दत पुग्छ ।’
‘यसले के सन्देश दिन्छभन्दा पनि यो गम्भीर समस्या हो । साथै, यो समस्या हो भन्ने सोचलाई समर्थन गर्ने बाहिर धेरै जना रहेछन् भन्ने पनि यसले अनुभव गराउँछ । अभियानकर्मी तराना बुर्क सबभन्दा पहिला सुरु गरिएको मिटू अभियानकी संस्थापक हुन् ।
उक्त अभियान संयुक्त राज्य अमेरिकामा यौन हिंसा, आक्रमण, शोषण र दुव्र्यवहारका पीडितहरूलाई ‘सहानुभूतिका माध्यमबाट सशक्तीकरण’ प्रदान गर्न १० वर्षअघि सुरु गरिएको थियो । यौन दुव्र्यवहारका घटनाविरुद्ध कसरी परिवर्तन ल्याउने भन्नलाई अहिले यो अभियानले नयाँ गति पाएको आफूलाई लागेको उनले बताइन् ।
यस्तै, भारतमा कैयौँ महिलाहरूले आफूमाथि यौन दुव्र्यवहार तथा आक्रमण गरेको आरोप लगाएपछि त्यहाँका केन्द्रीय विदेश राज्य मन्त्री एमजे अकबरले उनको पदबाट राजीनामा दिएको अधिकारीहरूले पुष्टि गरेका छन् । भूतपूर्व सम्पादकसमेत रहेका कनिष्ठ विदेशमन्त्री अकबर, भारतीय मिटू अभियानअन्तर्गत यौनदुर्व्यवहारबारे गरेको आरोप लाग्ने उच्च पदस्थ सरकारी अधिकारी हुन् । ‘हिंसात्मक व्यवहार’ देखि यौन आक्रमण गरेको आरोपहरू उनीमाथि लगाइएको छ ।
उनले यसअघि सुरुमा उनीविरुद्ध यौनदुर्व्यवहारबारे गरेको आरोप लगाएकी एकजना महिला पत्रकारविरुद्ध आपराधिक मानहानीको मुद्दा दायर गरेका थिए । सुरुमा लेखिएको लेखमा रमानीले कसैको नाम उल्लेखित गरेकी थिइनन् तथा एउटा ट्वीट सन्देशमा उनले सो लेख अकबरबारे भएको बताएकी थिइन् ।
त्यस यता कैयौँ अन्य महिलाले पनि अकबरको नाम लिँदै उनीहरूले भोगेको अनुभवबाहिर ल्याएका छन् । अकबरको राजीनामा प्रति प्रतिक्रिया जनाउँदै रमानीले अर्को ट्वीट सन्देशमा आफू ‘सही’ भएको बताइन् ।
सुरुमा जब अकबरमाथि आरोप लगाइएको थियो तब उनी विदेशयात्रामा थिए, भारत फर्किएपछि उनले रमानीमाथि मानहानीको मुद्दा दायर गरेका थिए । अकबरले नै ती आरोपहरूलाई अस्वीकार गर्दै ती आरोपहरूलाई उनले, उनकै शब्दमा, झुटो तथा बनावटी भनेका थिए ।
तर, पछिल्लो समय नेपालसँगै अन्य मुलुकका महिलाले आफूमाथि भएका र हुने गरेका यौन दुव्र्यवहारका बारेमा खुल्नु र उजुरी गर्नु सकारात्मक पक्ष हो । यसले खराब मानसिकता भएकालाई सचेत गराउनका साथै त्यसबाट पीडितका लागि उजुरी गर्ने मनबोल बढाउँछ । बिबिसीको सहयोगमा
प्रतिक्रिया