रजस्वला भएका वेलामा पनि जान पाइने मन्दिर

भारतको सर्वोच्च अदालतले सबै उमेर समूहका महिलालाई केरलाको सबरीमाला मन्दिरमा प्रवेश दिन भन्दै एउटा निर्णय सुनाएपछि चौतर्फी रूपमा त्यसको विरोध भइरहेको छ । फैसलाको विरोधमा मन्दिर वरिपरि मानिसहरूले धर्ना अनि प्रदर्शन गरेका थिए ।

कडा सुरक्षाबीच दुई जना महिलाले उक्त मन्दिरमा प्रवेश गर्ने प्रयत्न गरे पनि विरोधका कारण उनीहरू छिर्न भने पाएनन् । उक्त मन्दिरमा १० देखि ५० वर्ष उमेरसम्मका महिलालाई प्रवेश निषेध थियो । यस उमेरका महिला रजस्वला हुन्छन् भनेर मन्दिरभित्र प्रवेश गर्न रोक लगाइएको थियो । जुन नियमलाई सर्वोच्च अदालतमा चुनौती दिँदै प्रवेश गर्न दिनु भन्ने फैसला सुनायो । सबरीमाला बारेको विवाद दिनप्रतिदिन बढ्दो छ ।

तर, भारतमा एउटा यस्तो मन्दिर पनि छ जसले महिलालाई रजस्वलाका वेला पनि प्रवेश दिने गरेको छ । तमिलनाडुस्थित आदि पराशक्ति मन्दिरमा महिलाहरूविना कुनै रोकतोक पवित्र स्थानसम्म जान पाउँछन् र दशकौँदेखि उनीहरूलाई त्यसको अनुमति छ । महिलाको रजस्वलालाई सो मन्दिरले अपवित्र मान्दैन । एउटा सामान्य शारीरिक परिवर्तन ठान्दछ । दक्षिण भारतका अधिकांश मन्दिरको भन्दा विपरीत यो मन्दिरमा पूजारी पनि हुँदैनन् ।

मन्दिरका जनसम्पर्क अधिकारी रविचन्दन भन्छन्, ‘पुरुषसरह महिलाहरू पनि यो मन्दिरको पवित्र गर्भसम्म जान पाउँछन् र पूजा गर्न पाउँछन् । यहाँ जाति, धर्म, लिंग र उमेरको कुनै अर्थ र विभेद हुँदैन । केही दशकअघि चेन्नई–विल्लुपुरम राजमार्ग नजिकै पर्ने मरुवथुर गाउँस्थित एउटा विद्यालयका शिक्षक बंगारूले एउटा नीमको रुखबाट दूध निस्किँदै गरेको देखेको बताए । उनले त्यस्तो दाबी गरेको केही दिनपछि ठूलो आँधी आउँदा रुख ढल्यो । अनि बंगारूले त्यहाँ स्वयम्भू लिंगमा प्रकट भएको बताए । त्यसपछि उनले आफूलाई ‘शक्ति’ भन्न थाले र पहिला नीमको रुख भएकै स्थानमा पराशक्ति मन्दिरको निर्माण गराए ।

सो मन्दिरमा आदि पराशक्तिको मूर्ति स्थापना गरियो । बंगारूले बिस्तारै मानिसहरूलाई उपदेश पनि दिन थाले । बिस्तारै उनको लोकप्रियता बढ्दै गयो र तमिलनाडु र आसपासका राज्यबाट पनि मानिसहरू उनका कुरा सुन्न आउन थाले । मन्दिरको दायरा बढ्दै गयो र मन्दिरका नाममा कैयौँ सामाजिक तथा शैक्षिक संस्था खोलिए ।

मन्दिरको गुठीले गाउँमा एउटा मेडिकल कलेज पनि चलाउँदै आएको छ, जहाँ टाढाटाढाबाट विद्यार्थी पढ्न आउँछन् । आदि पराशक्ति मन्दिरसँग जोडिएका गुठी पूरै तमिलनाडु र आसपासका राज्यमा पनि सञ्चालनमा छन् र त्यसका अधिकांश प्रमुख पदमा महिला छन् । हुन त मन्दिरसँग सम्बद्ध संस्थाहरूसँग कैयौँ विवाद पनि जोडिएका छन् ।

करिब ३० वर्षसम्म मन्दिरमा पूजा गरेकी मीनाकुमारी कनकराज पहिलोपटक मन्दिरमा प्रवेश गरेको क्षण यसरी सम्झिन्छिन्, ‘त्यो अनुभूतिलाई म शब्दमा वर्णन गर्न सक्दिनँ । मन्दिरको गर्भसम्म जान पाउने र पूजा गर्न पाउने अनुमति मलाई दिइयो । मेरो खुसीको सीमा थिएन ।’ सो मन्दिरमा लैंगिक मात्र नभई जातीय समानता पनि रहेको उनी बताउँछिन् ।

‘हाम्रो प्रार्थनासभाका सदस्यमा प्राध्यापकदेखि फोहोर फाल्ने र कपडा धुने महिलासम्म छन् । ती सबैले मन्दिरको पवित्र स्थानसम्म पहुँच पाउँछन् ।’

प्रतिक्रिया