‘छिट्टै काममा फर्कन्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट चाँडै डिस्चार्ज भई काममा फर्कने बताएका छन् । अस्पतालमा उपचार गराइरहँदा विभिन्न नकरात्मक टीकाटिप्पणी भएकोमा दुःख व्यक्त गर्दै समृद्ध नेपालको साझा सपना साकार पार्ने कामका लागि छिट्टै फर्किने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले मंगलबार एक सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य ठीक रहेको बताएका हुन् ।

‘चिकित्सकहरूले मलाई दिनुभएको जानकारीअनुसार म छिट्टै नै अस्पतालबाट फर्किनेछु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछुु’, उनले आफ्नो सन्देशमा अगाडि भनेका छन्, ‘विगतमाझैँ समग्र देशवासी दिदीबहिनी–दाजुभाइहरूको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति सबैले देखाएको चिन्ता तथा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि सबैलाई हार्दिक धन्यवाद प्रकटसमेत गरेका छन् । ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रूपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ ।’

प्रधानमन्त्री ओलीले सन्देशमा अगाडि भनेका छन्, ‘यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्दछु ।’ प्रधानमन्त्री ओलीले पछिल्लो समय देशमा भइरहेका अनपेक्षित घटनाप्रति संवेदनशील रहेको समेत बताएका छन् । ‘धर्म संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुस्कर्म मान्य हुनै सक्दैन । यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुनबमोजिम कारबाही गर्छ ।’

‘चिकित्सकहरूले मलाई दिनुभएको जानकारीअनुसार म छिट्टै नै अस्पतालबाट फर्किनेछु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछुु’, उनले आप्mनो सन्देशमा अगाडि भनेका छन्, ‘विगतमाझैँ समग्र देशवासी दिदीबहिनी–दाजुभाइहरूको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु ।’

उनले दंगा, हुल हुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले केवल सुशासनलाई बिथोल्ने भन्दै शान्ति सुव्यवस्था भंग गर्ने यस्ता आपराधिक कार्यबाट समृद्धिको हाम्रो महाअभियान बिथोलिन्छ, विकासको मार्ग भत्किने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले अपराध कर्ममा संलग्न हुने, अपराधका घटनासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्ने, अपराधी बचाउ गर्ने र अनुसन्धानमा बाधा अवरोध खडा गर्ने जो सुकैलाई पनि सरकारले कानुनबमोजीम कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निकै उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । मंगलबार गरेको रगत परिक्षण तथा छातीको एक्सरे आदिको रिपोर्टहरू सकारत्मक रहेको र स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान नियमित कार्य गरेका छन् भने खाना खाएर सामान्य हिँड्डुल गरेका छन् । अन्य समस्या लगभग निको भइसके पनि संक्रमण फैलन सक्ने डरले अस्पतालमै राख्नुपरेको उनको उपचारमा खटिएका डा. अरुण शायमीले बताए । संक्रमण फैलने डरले भने अस्पतालले भेटघाटमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

‘प्रधानमन्त्रीलाई भेट्न तथा उहाँको स्वास्थ्य लाभको कामना गर्न चाहने शुभचिन्तकहरूको आकांक्षालाई अस्पतालले आत्मासात गरे पनि अस्पतालको पहिलो दायित्व प्रधानमन्त्रीको स्वास्थ्यलाभ गराउनु भएकाले चिकित्सकको सुझाबअनुसार नै भेटघाटलाई प्रतिबन्ध गरिएको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार ओलीलाई भेट्न पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतलाई पनि प्रत्यक्ष भेटवार्ता गर्न दिइएको छैन । संक्रमण नसरोस् भनेर भेटवार्तालाई रोक्नुपरेको डा. शायमीले बताएका छन् । ‘उहाँ (प्रधाननमन्त्री) त भेट्न खोज्नुहुन्छ । भिजिटरले १ मिनेट बोल्दा १० मिनेट बोल्नुहुन्छ’ उनले भने । स्वास्थ्यमा समस्या आएपछि ओली सोमबार बिहान साढे ४ बजे शिक्षण अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया