नेता कार्यकर्ताको एकता सन्देश

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विभिन्न चाडवाडको अवसर पारेर शनिबार चियापान गरेको छ ।

राजनीतिक दलहरूले आपसी तीक्तता मेटाउने गरी आयोजना गर्ने चियापानमा विभिन्न दलका नेता, मन्त्री, कूटनीतिक नियोगका अधिकारीसहित पार्टीका नेता कार्यकर्ता एंव सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

सर्वसाधारण र पार्टी कार्यकर्तालाई मध्याह्न्न १२ बजेदेखि र विशिष्ट व्यक्तिलाई दिउँसो ३ बजेदेखि चियापानका लागि समय छुट्याएको थियो । तर, चियापानमा सहभागी हुनका लागि नेता कार्यकर्ता पार्टीले तोकेको समयभन्दा आधा घण्टा चाँडै लाइनमा बसेका थिए ।

विगतमा दसैँ, तिहार र नेपाल सम्बत तथा छठ पर्वका अवसरमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले फरक–फरक रूपमा आयोजना गर्दै आएको चियापन कार्यक्रम यो वर्ष पार्टी एकता भई नेकपा गठनपछि पहिलोपटक आयोजना भएको हो । चियापानमा सहभागी हुनेको लाइन भृकुटीमण्डपबाट पद्मोदय मोडसम्म पुगेको थियो ।

नेकपाको जिल्ला र जनसंगठनबीच एकता प्रक्रियाले पूर्णता नपाए पनि विगतमा एमाले र माओवादीका नेता कार्यकर्ताको पहिचानमा चिनिएका नेता कार्यकर्ताहरू एकै पार्टीको र एकै लक्ष्य बोकेका सिपाहीझैँ अन्तरघुलित भएका थिए । एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियो ।

तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीले २०५१ सालको दसैँका अवसरमा शुभकामना आदानप्रदानका लागि चियापान कार्यक्रमको थालनी गरेका थिए । त्यसपछि नियमित रूपमा यो कार्यक्रम हुँदै आएको छ । माओवादीले भने शान्ति प्रक्रियामा आएपछि मात्र चियापानको आयोजना गरेको थियो ।

चियापानको उद्घाटन भने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मध्याह्न १२ बजे गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाल राजनीतिक रूपमा नयाँ कालखण्डमा प्रवेश गरेको र समाजवादको नयाँ युगमा जाने भनेर संविधानमा नै लिपिबद्ध गरिएको भन्दै आर्थिक विकास र समृद्धिको यात्रा नै आफूहरूको कार्यभार रहेको बताए ।

दाहालले उद्घाटन गरेको चियापानमा उनी स्वयं नेता कार्यकर्ताको स्वागतमा उभिएका थिए । सर्वसाधारणलाई शुभकामना दिन दाहालसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, अन्य नेताहरू वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, विष्णु पौडेललगायत तैनाथ थिए । उनीहरूले मन्द मुस्कानमा उपस्थितलाई नमस्कार गर्दै कार्यक्रममा स्वागत गरेका थिए ।

चियापानका सहभागी हुन आउने नेता, कार्यकता र सर्वसाधारणको बाक्लो उपस्थितिले प्रदर्शनीमार्ग भरिभराउ रहेको थियो । पद्मोदय मोडदेखि भृकुटीमण्डपसम्म लाइन लागेको थियो भने एकैपटक मानिसहरूको प्रवेश हुँदा व्यवस्थापनमा हम्मेहम्मे परेको देखिएको थियो ।

नेकपामा महासचिव पौडेलले नेपालीको राष्ट्रिय चाडपर्वको अवसरमा पार्टीले विगतदेखि आपसी सद्भाव साटासाट गर्न चियापान गर्दै आएकोले यसवर्ष पनि आयोजना गरिएको बताउँदै चियापानमा राजनीतिक दलका नेता सामाजिक व्यक्तिदेखि सर्वसाधारणको उपस्थितिले आफूहरूलाई उत्साही बनाएको बताए । उनले सदियाैँदेखि चलिआएको चाडपर्वले नेपालीबीच एकता मेलमिलाप र सहिष्णुता सन्देश दिएको बताए ।

नेकपाका केन्द्रीय सदस्य गरिमा शाहले चियापानले एकतापछि कार्यकर्ताबीच यति ठूलो भेटघाट अवसर मिलाएको बताइन् । उनले शुभकामना सन्देशसँगै यसले नेता र कार्यकर्ताको दुरी नजिक ल्याउन कामसमेत गरेको बताइन् ।

को को आए ?

चियापान कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू उपस्थित भए । कार्यक्रममा देउवा आउने वा नआउने अनिश्चित भइरहँदा उनी सवा चार बजेतिर चियापानस्थल भृकुटीमण्डप प्रवेश गरेका थिए ।

देउवालाई नेकपाका अध्यक्ष दाहालसहितका शीर्ष नेताले स्वागत गरेका थिए । उनी त्यहाँ केही समय बसेर चिया खाएर फर्किएका थिए । उनले सञ्चारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताए ।

देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्तापक्षको हातमा रहेको बताए । छोटो प्रतिक्रिया दिएर देउवा चियापान कार्यक्रमबाट बिदा भएका थिए ।

चियापानमा भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, कांग्रेस नेता अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ सहभागी थिए । यसैगरी, मन्त्री, सांसदहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू कार्यक्रममा सहभागी थिए ।

अस्वस्थ भएपछि ओली अनुपस्थित

नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली भने अस्वस्थ भएपछि आफ्नै पार्टीको चियापानमा सहभागी भएनन् । केही दिनदेखि अस्वस्थ रहेका ओलीलाई शनिबार बिहानैदेखि सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा संक्रमण देखिएको थियो । सोही समस्याको कारण चियापानमा प्रधानमन्त्री ओली सहभागी हुन नसकेका हुन् ।

चियापानमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर मिडिया तथा कार्यकर्ताले प्रश्न गरेपछि महासचिव विष्णुप्रसाद पौडेलले उनको स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने जानकारी गराए ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा संक्रमण देखिएकाले आउन नसक्नुभएको हो, उहाँ यहाँ आउन नसके पनि भावनात्मकरूपमा उपस्थित हुनुभएको छ,’ महासचिव पौडेलले भने ।

दिउँसो आउन प्रयास गरे पनि चिकित्सकले आराम गर्न सुझाब दिएपछि उपस्थित नभएको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । यद्यपि, प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य भने चियापानमा उपस्थित भएकी थिइन् ।

४० हजार सहभागी भएको दाबी

आयोजकले ५० हजारका लागि निमन्त्रणा गरेकामा ४० हजारको सहभागिता रहेको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनले दुनाको हिसाब गर्दा ४० हजार सहभागी भएको बताए । ३५ हजार आउने अपेक्षा गरिए पनि शनिबार बिदाको दिन भएकोले त्यो संख्या बढेको हो ।

यसैगरी करिब १० लाख खर्च भएको अनुमान गरिएको छ । सर्वसाधारण र भिआइपीलाई छुट्टै खाजाको व्यवस्था गरिएको थियो । सर्वसाधारणलाई कचौरी, लड्डु, निम्किन, केरा र चियाको व्यवस्था गरिएको थियो भने भिआइपीलाई मिठाई, बिस्कुट, पकौडा, स्यान्डविच र कफीको व्यवस्था गरिएको थियो ।

चियापान चलिरहेका बेला राष्ट्रिय जनसांस्कृतिक महासंघ, अन्तरा समूहलगायत कलाकार टोलीबाट सांगीतिक प्रस्तुति भएको थियो । ती प्रस्तुतिमा पनि पार्टी एकता, समृद्धि र सद्भावको सन्देश प्रवाह भएको थियो भने जनताको अपेक्षाअनुसार काम गर्न नेताहरूलाई खबरदारी गरिएको थियो । कलाकार राजाराजेन्द्र पौडेल, भूमिका पौडेल, मनोज गजुरेलले बेला बेलामा हास्यव्यंग्य प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया