पार्टीको चियापानमा प्रधानमन्त्री ओली गएनन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् ।

सत्तारुढ दल नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

चियापानमा सहभागी भएकाहरुलाई अध्यक्ष पुष्पकमल दाहालले, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरे ।

चियापान कार्यक्रममा प्रधानमन्त्री ओली ३ बजे आउने भनिएको थियो । तर, उनी कार्यक्रममा सहभागी भएनन् । स्वास्थ्यमा समस्या देखिएकाले सहभागी नभएको पार्टीले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई रुघाखोकी, ज्वरो र भाइरल भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेको पार्टीले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य भने उपस्थित थिइन्। चियापान जारी छ।

कार्यक्रममा नेकपा नेताका साथै भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी, कांग्रेस नेता अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ लगायत विदेशी कुटनीतिक नियोगका व्यत्तित्वरुको समेत सहभागीता रहेको छ ।

प्रतिक्रिया