महाधिवेशन नहुँदा डामाडोल

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका भ्रातृ संगठन अहिले डामाडोल अवस्थामा पुगेका छन् । अधिकांश संगठनको महाधिवेशन भएका छैनन् भने भएका संगठनमा पनि अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

तीन तहको निर्वाचनमा लज्जास्पद पराजय भोगेपछि पार्टीभित्र र संगठनको महाधिवेशनका विषयमा शीर्ष नेतृत्वबीच विवाद चर्किंदै गएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भ्रातृ संगठनका कारण विवाद चर्किंदै गएको हो ।

मुख्यतः नेपाल विद्यार्थी संघको विवादका कारण पार्टीका नेताहरू समूहगत रूपमा विभाजित भएर एक अर्काको आरोप प्रत्यारोपमा लागेका छन् । ३२ वर्षे उमेरहद लगाउने संस्थापन पक्षको निर्णय र त्यसको विरोधमा पौडेल समूह उत्रिएपछि नेविसंघको महाधिवेशन अनिश्चित बनेको छ ।

सभापतिले पार्टीलाई जस्तै भ्रातृ संस्थालाई पनि चलाउन नजानेको कोइराला पक्षको आरोप, नेविसंघको विधानमा उमेरहद राखेपछि शीर्ष नेतृत्वबीच नै विवाद चर्कियो

तत्कालको अवस्थामा निर्वाचन भए पौडेल समूहका नेता विजयी हुने भएपछि संस्थापन पक्षले उमेरको हद लागू गर्नुपर्ने सर्त अघि सारेको छ । जसको पौडेल समूहले विरोध गर्दै त्यो विधान नमान्ने घोषणा गरिसकेको छ । यसअघि नेविसंघभित्र रहेका सबै गुटले कात्तिकको मध्यमा महाधिवेशन गर्ने सहमति गरे पनि उमेरहद आएपछि पुन विवाद चर्किएको छ ।

मंसिर २ भित्र नेविसंघको महाधिवेशन नभए नेविसंघ नै विघटन हुने अवस्थामा पुग्छ । कांग्रेसभित्र १३ वटा भ्रातृ संगठन भए पनि सबैभन्दा बलियो नेविसंघ भएकाले सबै नेताको ध्यान यही संगठनमा रहने गरेको छ ।

जुन पार्टीको युवाहरूको संगठन पनि हो र यहीँबाट नेता उत्पादन गर्ने थलोका रूपमा पनि चिनिन्छ । अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन नभएको पनि वर्षौं भइसक्यो । आन्तरिक चुनावहरू समयमा नगर्ने ‘कांग्रेसी चरित्र’ सबै भ्रातृ संगठनहरूमा सरेको स्वयं कांग्रेसका नेताहरूले भन्दै आएका छन् ।

कांग्रेसका अन्य भ्रातृ संगठनको निकै लामो समयदेखि महाधिवेशन हुन सकेको छैन, तर यस विषयमा न पार्टी नेतृत्वको चासो छ, न सम्बन्धित नेतृत्वको नै । कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघको महाधिवेशन नभएको १३ वर्षभन्दा लामो समय भइसक्यो । यस संस्थाको अध्यक्ष नै संगठनका बारेमा बेखबर छन् ।

समयमा महाधिवेशन नगरेको भन्दै तत्कालीन सभापति सुशील कोइरालाले ०६८ सालमा सबै भ्रातृ संस्था विघटन गरेका थिए । त्यसपछि महाधिवेशनका लागि भन्दै तदर्थ समिति गठन गरिका थिए । अहिलेसम्म १३ वटा भ्रातृ संस्थामध्ये ६ वटाको मात्र महाधिवेशन भएको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, नेपाल भूतपूर्व सैनिक संघ, मुस्लिम संघ नेपाल र नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन भएको छ ।

महाधिवेशन हुन नसक्नुमा पार्टी नेताहरूको भने आ—आप्mनै तर्क छ । नेतृत्वले पार्टी चलाउन नजानेका कारण संगठनको अवस्था भद्रगोल बनेको पार्टी नेता डा. शेखर कोइराला आरोप लगाएका छन् । ‘सभापतिले पार्टीलाई जस्तै भ्रातृ संस्थालाई पनि चलाउन जान्नुभएन’, उनले भने, ‘एक पटक निर्वाचन जितेपछि सकियो भन्ने शैलीमा उहाँ अघि बढ्नुभयो । सबै भ्रातृ संस्थाहरू भद्रगोल अवस्थामा छन । कुनै सक्रिय छैनन् ।’

कांग्रेसको भ्रातृ संगठन भूतपूर्व सैनिक संघको पनि दुई वर्षे कार्यकाल सकिएको छ । चैत सम्ममा महाधिवेशन गर्ने सैनिक संघको तयारी रहेको अध्यक्ष धनबहादुर मास्किरानाले जानकारी दिए । महाधिवेशन भएका भ्रातृ संगठन पनि विवादमा छन् । ती भ्रातृ संगठनले आफ्नो आन्तरिक बैठक पनि बोलाउन सकेका छैनन् ।

करिब ढेड वर्षअघि पोखरामा उद्घाटन भएको तरुण दल अधिवेशनले बन्दसत्रबाट नेतृत्व नै चयन गर्न सकेन । नेपाल दलित संघको पनि अवस्था उस्तै छ । अध्यक्ष मीन विश्वकर्मा पार्टी राजनीतिमा छन् । संगठनको ६ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । यस्तै, नेपाल आदिवासी जनजाति संघको महाधिवेशन नभएको दुई दशक हुनै लाग्यो । ०५८ सालमा महाधिवेशन भएदेखि उक्त भ्रातृ संगठनको महाधिवेशन भएकै छैन ।

प्रतिक्रिया