प्रहरीको कमजोरी खाेज्दै समिति

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा खटिएको छानबिन समितिले तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत र कर्मचारीमाथि सूक्ष्म अध्ययन गरिरहेको छ ।

गृह–मन्त्रालयले गत ३१ भदौमा प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले अहिले शंकास्पद प्रहरी, घटनास्थल र स्थानीयका बारेमा समेत अध्ययन गरिरहेको छ । प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सूक्ष्म अध्ययन गर्दै टोली अहिले भीमदत्तनगर पुगेको छ ।

अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शकास्पद देखिए हामी कडाभन्दा कडा कारबाही गर्ने

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारीअनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरिक्त महानिरीक्षक बस्नेतको टोलीले अनुसन्धानमा खटिएका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शकास्पद देखिए हामी कडाभन्दा कडा कारबाही गर्छौं,’ शनिबार बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग बस्नेतले भने, ‘छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ ।’

संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबै पक्षसँग आग्रहसमेत गरेका छन् । पीडित निर्मला पन्तको परिवार र यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टको परिवारसँग छानबिन समितिले भेट गरेको छ ।

टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ । छानबिन समितिसँगको छलफलमा उनीहरूले तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरबाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारबाहीको मागसमेत गरेका छन् ।

गत १० साउनमा साथीको घरबाट गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ साउनमा बिहान उखुबारीमा शव भेटिएको थियो । निर्मलाको हत्या प्रकरण अनुसन्धान गर्न गठन गरिएका अनेकौँ टोलीमध्ये एक हो, बस्नेत नेतृत्वको टोली ।

टोलीले शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा स्थानीय पत्रकारसँग समेत सामान्य अन्तक्र्रिया गरेको थियो । कञ्चपुरका एसपी कुुवेर कडायत र केन्द्रबाटै गएका अर्का प्रहरी अधिकृतसहित पत्रकारहरूसँग करिब १५ मिनेट बसेका एआइजी बस्नेतले दुईचार शब्द मात्रै बोले । उनले स्थानीय पत्रकारका कुरा सुने ।

आफ्ना धारणा राख्ने क्रममा स्थानीय पत्रकारले गृह–मन्त्रालयद्वारा गठिन उच्चस्तरीय समितिको प्रतिवेदनले शंकास्पद भनेका केही व्यक्तिको नाम लिए । तीमध्ये एक थिए, बम दिदीबहिनी रोशनी र बबिता र निर्मलाको मामा हुँ भन्दै शव बुझ्ने तीर्थराज भण्डारी । यिनै शंकास्पदमाथि छानबिन गर्नुपर्छ भनेपछि संयोजक बस्नेतले छानबिन हुने आश्वासन दिए ।

उनले प्रहरीबाट भएको कमजोरी र भूमिका शंकास्पद देखिए कडाभन्दा कडा कारबाही गर्नेसमेत बताए ।

प्रहरी प्रधान कार्यालयले घटनाको गम्भीर अनुसन्धान नगरेको, प्रमाण जोगाएर नराखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई बर्खास्त गर्ने तयारी

त्यसैगरी, प्रहरी प्रधान कार्यालयले घटनाको गम्भीर अनुसन्धान नगरेको, प्रमाण जोगाएर नराखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई बर्खास्त गर्ने तयारी गरिरहेको जानकारी स्रोतले दिएको छ ।

प्रमाण नष्ट गरेको अभियोगमा विष्टमाथि के–कस्तो कानुनी कारबाही गर्न सकिन्छ भन्नेबारे प्रहरीको कानुन विभागले अध्ययन गरिरहेको छ । गृहले गठन गरेको उच्चस्तरीय समितिले विष्टमाथि कारबाहीको सिफारिस गरेको थियो । एआइजी बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदन आएपछि उनीमाथि कारबाही गर्ने प्रधान कार्यालयको तयारी छ ।

बस्नेत नेतृत्वको समितिले घटनामा संलग्न प्रहरी अधिकारीको बयान लिने र कल डिटेल अध्ययन गर्ने काम सकिसकेको छ । एआइजी बस्नेत शुक्रबार घटनाबारे थप अध्ययन गर्न एसएसपी नीरज शाही, डिएसपीहरू दधिराम न्यौपाने र सन्तोष आचार्यसहित कञ्चनपुर पुगेका थिए । स्रोतका अनुसार टोलीले अन्तिम प्रतिवेदन तयार पार्नुअघि स्थलगत अध्ययन गर्दै गृह–मन्त्रालयको समितिले तयार पारेको अनुसन्धानमा देखिएका केही नयाँ तथ्यबारे थप बुझ्नेछ ।

प्रतिक्रिया