पूर्व–प्रधानमन्त्रीका छोरालार्इ आजीवन कारबास

काठमाडौं । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिने फैसला गरेको छ ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान सोही घटनामा संलग्न भएको भन्दै आजीवन काराबासको सजाय सुनाइएको बंगलादेशी सञ्चार माध्यमहरूले जनाएका छन् । त्यतिबेला विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित ¥यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

मृत्युदण्डको सजाय पाउनेमा पूर्व–गृहराज्यमन्त्री लत्फोजमान बाबर पनि सामेल छन् । उनी समेतका ४९ जनाविरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ । ५० वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।

भ्रष्टाचार आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) को नेतृत्व गरिरहेका छन् । ‘हामी फैसलाका लागि भगवान्लाई धन्यवाद दिन्छौँ, कडा सुरक्षाबीच सरकारी वकिल मोसाराफ होस्सैनले भने, हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउनेछन् ।

होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गरे । उनले पूर्व–गृहमन्त्रीसमेत दुईजना मन्त्री र जासुसी संस्थाका दुईजना पूर्व–प्रमुखहरूमाथि पनि मृत्युदण्डको फैसला भएको बताए ।

बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामी (हुजी)सँग आबद्ध १५ जना लडाकुलाई आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको होस्सैनले जानकारी दिए । उक्त संस्थाका प्रमुखलाई गत वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो ।

सरकारी अधिवक्ताहरूले पूर्वमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकुलाई ग्रिनेड दिएको दाबी गरेका छन् । ग्रिनेड बिस्फोट हुँदा र्यालीमा हसिनाले सम्बोधन गरिरहेकी थिइन् । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्व–राष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो । चार वर्षपछि डिसेम्बर २००८ मा भएको निर्वाचनमा हसिनाले बहुमत प्राप्त गरिन् ।

बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्यझैँ भएको छ । सबैजसो मृत्युदण्ड झुन्ड्याएर दिने गरिएको छ । सन् २००७ यता नै कम्तीमा नौजना इस्लामिक अतिवादी, पाँचजना मुलुकका सबैभन्दा ठूलो इस्लामिक पार्टीका नेता र एकजना वरिष्ठ प्रतिपक्षी नेतालाई झुन्ड्याएर मृत्युदण्ड दिइएको छ ।

रहमानका वकिल सनाउल्लाह मियाले भनर्र हमानविरुद्ध लगाइएका आरोप राजनीतिक प्रेरित भएको दाबी गरेका छन् । उनले अदालतको फैसलाको समय पनि शंकास्पद रहेको बताए । आगामी डिसेम्बरमा हुने संसदीय चुनावअघि यो सजाय सुनाइएकोमा उनको आपत्ति छ ।

प्रतिक्रिया