‘जुवाको खाल’मा वामदेव

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र झ्यांगिएको असन्तुष्ट स्वर मत्थर नहुँदै नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नं ७ बाट चुनावमा उठाउने सहमति भएको छ । गौतमलाई सांसद बनाउने नेकपाको पहलले फेरि बजार तताएको छ ।

सरकारको कार्यशैलीप्रति असन्तुष्ट र पार्टीभित्र विवाद बढेको बेला नेता गौतमलाई चुनाव जित्न भने त्यति सहज नहुने अड्कल धेरैको छ । काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले मंगलबार नै राजीनामा दिइसकेका छन् । उनले पत्रकार भेला गरेर ‘पार्टी एकतामा वामदेवको भूमिका महत्वपूर्ण भएकोले आपूmले उहाँका लागि राजीनामा दिएको’ बताए ।

नेता गौतमका लागि अहिलेसम्म खोजिएका मध्ये काठमाडौं–७ झनै खतरा रहेको क्षेत्र हो । यस क्षेत्रमा ७० प्रतिशत नेवार समुदायको बसोवास छ

स्रोतका अनुसार सोमबारको नेकपा सचिवालयको बैठकमा ठट्टाका रूपमा मात्र यो विषयले प्रवेश पाएको थियो । तर, भोलिपल्ट मंगलबारको निर्णयले अघिल्लो दिनको ठट्टाको विषय गौतमलाई सांसद बनाउने कार्यान्वयन तहमा पुगेको हो ।

नेता गौतमका लागि अहिलेसम्म खोजिएका मध्ये काठमाडौं–७ झनै खतरा रहेको क्षेत्र हो । यस क्षेत्रमा ७० प्रतिशत नेवार समुदायको बसोवास छ । मानन्धर वडा सदस्यदेखि चुनाव जित्दै सांसद बनेका हुन् । उनी यस क्षेत्रका स्थायी बासिन्दा हुन् । यहाँ जातीय मतदाताले ठूलो प्रभाव पार्ने धेरैले अनुमान गरेका छन् ।

नेवार समुदायको बाहुल्य रहेको क्षेत्रमा जातीय मतले ठूलो अर्थ राख्छ । यस क्षेत्रमा बालाजु, वनस्थली, इचंगुनारायण र तीनपिप्ले पर्छन् । महानगरका वडा नम्बर १६, १७, १८ र २५ पर्छन् । स्थानीय चुनावमा वडा नम्बर १८ बाहेक सबै कांग्रेसले जितेको छ । सांसद मानन्धरको आफ्नो वडा १६ समेत कांग्रेसले जितेको छ ।

यस क्षेत्रमा प्रतिनिधिसभाको चुनावमा १८ हजार मत ल्याएर रामवीरले जितेका हुन् । कांग्रेसको समर्थनमा राप्रपाका विक्रम थापाले १० हजार मत ल्याएका थिए । सहरी क्षेत्रमा यो खासै ठूलो अन्तर होइन । यो क्षेत्रमा ६० हजार मतदाता छन् ।

अहिले सरकारको कार्यशैलीप्रति सत्तारूढ दलभित्रै असन्तुष्ट व्याप्त छ । जसका कारण नेकपाका उम्मेदवारलाई भोटमा नोक्सान हुन सक्छ । गत वर्षको संघीय संसद्को चुनावमा डोल्पा नपाएपछि वामदेवले दैलेख र बाँके ताकेका थिए । तर, त्यसमा पार्टीका नेताहरू सकारात्मक भएनन् ।

नेकपाका अध्यक्ष दाहाल र नेता गौतमबीच सुमधुर सम्बन्ध छ । ०६९ मा केपी ओलीले दाहाललाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ तोड्दा गौतमले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए । ओली सरकार ढालेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्दै गर्दा दाहालले संसद्मै वामदेवको नाम लिएर उनलाई प्रधानमन्त्री बनाउने भूमिका खेल्ने बताएका थिए ।

पछिल्लोपटक एमाले र माओवादीबीच पार्टी एकताका क्रममा भएको ‘आलोपालो प्रधानमन्त्री र अध्यक्ष बन्ने’ भद्र सहमतिको पनि वामदेवले बचाउ गर्दै आएका छन् । त्यसैले यो गुन तिर्न पनि वामदेवलाई संसद्मा ल्याउने दाहालको भूमिका अब्बल छ ।

रामवीर प्रधानमन्त्री ओलीनिकट मानिन्थे । उनले ओलीसँग गम्भीर रूपले कुनै सल्लाह नगरी पदबाट राजीनामा दिएका एक नेताले बताए । स्रोतका अनुसार दाहाल र वामदेवले रामवीरलाई भविष्यमा पार्टीको केन्द्रीय सदस्य र मन्त्रीसमेत बनाउने लोभ देखाएका छन् । केही समयपछि राष्ट्रिय सभामा ल्याउने र दाहालको कोटाबाट मन्त्री बनाउने आश्वासनपछि उनी गलेको स्रोतले जनायो ।

स्थानीय नेवार समुदायको उम्मेदवार हुनु र कांग्रेसले राप्रपालाई समर्थन गर्नुले काठमाडौं ७ मा रामवीरको सहज जित भएको थियो । तर, अहिले परिस्थिति फेरिएको छ । नेकपा नेतृत्वको सरकारको लोकप्रियता गिर्दो छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीले काठमाडौंवासी दिक्दार छन् । वामदेवको आफ्नै छवि पनि उच्च छैन । अर्कोतर्फ उनलाई जिताउन पार्टी एक ढिक्का हुनेमै शंका छ ।

तत्कालीन वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए । नेकपाको सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्रै सांसद छैनन् । श्रेष्ठ गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

नेता गौतमले अन्तर्घातका कारण आफूले चुनाव हार्नुपरेको नेताहरूसँग गुनासो गर्दै आएका छन् । नेकपा उच्च स्रोतका अनुसार गौतम प्रतिनिधिसभाकै सदस्य बन्नका लागि इच्छुक हुनुमा उनमा प्रधानमन्त्री बन्ने अपेक्षाले पनि काम गरेको छ । मन्त्री हुन राष्ट्रियसभाको सदस्य भए पनि हुन्छ । तर, प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाकै सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया