मुख्य विषय पढाउने शिक्षक पाउन छाडे


रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी सुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एक जना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता परेको सूचना प्रकाशन÷प्रसारण गर्दा पनि शिक्षक नआएपछि समस्यामा परेको विद्यालयका प्रअ नीलकण्ठ सुवेदी बताउँछन् ।

रघुगंगाकै चिमखोलामा रहेको अमर माविमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान विषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थी आन्दोलनमै उत्रनुपर्ने अवस्था सिर्जना भयो । एसइई परीक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर विषयको पठनपाठन लामो समयदेखि हुन नसकेपछि विद्यार्थी विद्यालयमा तालाबन्दी गर्न बाध्य भए ।

यी प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । जिल्लामा विज्ञान, गणित, कम्युटरसँगै अंग्रेजी विषयका विषयगत शिक्षकहरूको अभावले पठनपाठन प्रभावित बन्दै आएको छ । जिल्लाको ग्रामीण भेगमा रहेका एक दर्जनभन्दा बढी सामुदायिक विद्यालयको मावि तहमा विज्ञान शिक्षकको अभाव छ ।

एसइई परीक्षा नजिकिरहेको र शैक्षिक सत्रको आधा समय बितिसकेको अवस्थामा विज्ञान लगायतका मुख्य विषयको पढाइ नै सुरु नहुँदा विद्यार्थीहरू समस्यामा परेका छन् ।  गत जेठमा विज्ञान विषय अध्यापन गराउने शिक्षक सरुवा भएर गएपछि नयाँ शिक्षक नराखिँदा आफूहरू मुख्य विषयकै अध्ययनबाट वञ्चित हुनुपरेको अमर माविमा अध्ययनरत कक्षा १० की छात्रा सम्झना थापाको गुनासो छ ।

‘हामीले निरन्तर विज्ञान विषयको शिक्षकको व्यवस्था गर्न विद्यालयलाई भनिरहेका छौँ तर, अहिलेसम्म एक पाठको मात्रै पठाइ भएको छ, कतै अध्ययन नै नगरिकन परीक्षा दिन त पर्ने होइन भन्ने चिन्ता थपिएको छ’, उनले भनिन् । चिमखोलामा मात्रै होइन ग्रामीण भेगमा रहेका मावि तहका विद्यालयमा मुख्य विषयका विषयगत शिक्षकको अभाव छ ।

जसका कारण हरेक वर्ष कुनै न कुनै विद्यालयका विद्यार्थीहरूलाई पूरै अध्ययन नसकिकनै परीक्षा दिनुपर्ने बाध्यता आइलाग्छ । विज्ञान, गणितजस्ता मुख्य विषयमा पटकपटक विज्ञापनमार्फत आह्वान गर्दासमेत शिक्षक नपाउने समस्या भएपछि ग्रामीण भेगका सामुदायिक विद्यालयहरू हैरानीमा छन् ।

 मावि तहमा विज्ञान र गणित विषयको शिक्षक अभाव रहेकाले तल्लो तहमा पढाउँदै आएका शिक्षकहरूलाई नै अध्यापन गर्न लगाउनुपर्ने बाध्यता रहेको ज्ञानोदय माविका प्रअ सुवेदीले बताए । प्रअ सुवेदीले भने, ‘शिक्षक पाउनै मुस्किल छ, पटकपटक सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाउन सकेका छैनौँ ।

तहअनुसार विषयगत शिक्षक उपलब्ध नहुँदा विद्यालयको शैक्षिक गुणस्तरमा समेत प्रत्यक्ष असर परिरहेको छ ।’ शिक्षक सेवा आयोगमार्फत आउने शिक्षकहरू बाहिर जिल्लाका हुने र उनीहरू अधिकाँश ६ महिनादेखि १ वर्षसम्म मात्रै बसेर सरुवा भएर जाने चलन छ ।

यो समस्याको समाधान नखोजिँदा विद्यालयहरूमा जनशक्तिको चर्को अभाव हुने गरेको छ । रिक्त दरबन्दीमा करारमा नियुक्त गर्न प्रक्रियागत झन्झट त छ नै, योग्य र शिक्षण अध्यापन अनुमतिपत्र भएका व्यक्तिहरू पाउनै पनि मुस्किल छ । जिल्लामा विज्ञान, गणित, कम्प्युटर र अंग्रेजी विषयका शिक्षकहरूको अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

मुख्य विषयहरूमध्ये विज्ञान र गणितका शिक्षकको अभाव ठूलो मात्रामा रहेको इकाइ प्रमुख दलबहादुर थापाले बताए । थापाका अनुसार शिक्षक अनुमतिपत्रको परीक्षामा उत्तीर्ण दर घट्दो छ । विज्ञान संकाय अध्ययन गरेकाहरूका लागि परीक्षा अव्यावहारिक हुनाले योग्यता पुगेकाहरू पनि अनुमतिपत्रविहीन छन् । योग्यता भएर पनि अनुमतिपत्र नहुँदा शिक्षक अभावको समस्या छ ।

अनुमतिपत्र नभएकै कारण विज्ञान विषयका शिक्षकहरू पाउन मुस्किल पर्ने गरेको सर्वोदय मावि भुरुङ तातोपानी स्रोत केन्द्रका स्रोत व्यक्ति जयराम सुवेदी बताउँछन्। शिक्षक खोजीका लागि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरू भौँतारिरहनुपर्ने बाध्यता रहेको छ ।

दरबन्दीमा शिक्षक नियुक्त गर्न अनुमति लगेका विद्यालयहरूलाई पनि शिक्षक पाउन महिनौँ लाग्ने गरेको छ ।कतिपय विद्यालयले ६ देखि ७ महिनासम्म पनि कुर्नुपर्ने स्थिति आएको छ । यहाँ शैक्षिक जनशक्ति अभाव रहँदा धेरै टाढाका जिल्लाहरूबाट जसोतसो शिक्षकहरू ल्याउनुपर्ने बाध्यता छ ।

मुख्य विषय अध्ययनप्रति चासो घट्दै
जिल्लामा उत्कृष्ट विद्यार्थीहरू नबस्ने प्रचलनले निकट भविष्यमा योग्य शैक्षिक जनशक्तिको अभाव झनै चर्केर जाने खतरा देखिएको छ । कक्षा ११ देखि क्याम्पससम्म नै मुख्य गणित, विज्ञान, अंग्रेजीजस्ता मुख्य विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरूको संख्या क्रमशः घट्दै गइरहेको छ ।

विज्ञान संकायमा हाल बेनीस्थित प्रकाश माविमा कक्षा ११ र १२ को अध्यापन हुँदै आएको छ ।  एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू पोखरा, काठमाडौं लगायतका ठाउँमा जाने र अध्ययनपछि पनि उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने प्रचलन बढ्दो छ ।

जिल्लाभित्र रहेका शैक्षिक संस्थाहरूमा मुख्य विषय अध्ययन गर्ने विद्यार्थी घट्दै जाने र बाहिर अध्ययन गर्न गएकाहरू नफर्कने स्थिति कायमै रहे यहाँ योग्य शैक्षिक जनशक्तिको अभाव थप बढ्ने म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले बताए ।

विगतमा उत्कृष्ट विद्यार्थीहरू मुख्य विषयहरू अध्ययन गरी शिक्षण पेसामा लाग्न रुची राख्थे । अहिले अब्बल विद्यार्थीहरूको रोजाइ शिक्षणतर्फ छैन । भविष्यमा यस जिल्लाको शैक्षिक क्षेत्रको नेतृत्व गर्ने योग्य जनशक्ति नभइदेला कि भन्ने त्रास उत्पन्न गराएको सुवेदी बताउँछन् ।

उनका अनुसार म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्ला वर्षहरूमा गणित र अंग्रेजी विषय लिएर अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दो छ । क्याम्पसले गणिततर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालाहरूसँग अन्तक्र्रियात्मक छलफल नै सुरु गरेको छ ।

प्रतिक्रिया