गुन्डा नाइकेलाई थुनामुक्त गर्ने निवेदन खारेज

काठमाडौं । सर्वोच्च अदालतले गुन्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्ने आदेश दिएको हो ।

१७ असोजमा न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरिएको हो ।

ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई केहीअघि मुस्ताङ कारागार पठाइएको थियो । बस्नेतलाई गैरकानुनी रूपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतबाट पक्राउ गरेर गत मंसिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा रोखेको थियो । गौचनको गत २३ असोजमा काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया