चिनी उद्याेगीलार्इ चेतावनी

किसानको रकम नतिर्ने र चाडबाडका वेला महँगोमा बिक्रीवितरण गर्ने व्यवसायीलाई प्रक्राउ गरी कारबाही थाल्ने सरकारको निर्णय

काठमाडौं । चिनी व्यवसायीले भाउ मात्र बढाएर किसानलाई रकम नदिएपछि सरकारले उनीहरूलाई पाँच दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।

चाडबाडको समय आइसक्दा पनि किसानहरू भुक्तानी नपाएर छटपटाइरहेका वेला सरकारले पाँच दिनभित्र भुक्तानी नदिए व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

सरकारले चिनीको मूल्यमा सधैँ देखिने गरेको विवादको स्थायी समाधान खोज्ने जिम्मेवारीसहित राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ संयोजकत्वमा आइतबार एक समिति गठन गरेको थियो । समिति गठन गरेको भोलीपल्टै सरकारले व्यवसायीहरूलाई चेतावनीयुक्त निर्देशन दिएको हो ।

उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको उनीहरूको आरोप थियो

अर्थमन्त्री, कृषि तथा पशुपन्छी विकासमन्त्री, उद्योग तथा आपूर्तिमन्त्री, बन तथा वातावरण, सामान्य प्रशासनमन्त्री र विभिन्न मन्त्रालयका सचिवहरूको सोमबार सिंहदरबारमा भएको बैठकले यस्तो निर्देशन दिएको कृषिमन्त्री चक्रपाणी खनालले जानकारी दिए । पाँच दिनभित्र भुक्तानी नदिने उद्योगीहरूलाई कारबाही गर्ने निर्णय भएको बताए ।

चिनी मिलले भुक्तानी नदिएपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समिति लगायतले संयुक्त रूपमा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको उनीहरूको आरोप थियो ।

कृषि मन्त्रालयको सिफारिसमा गत ५ वैशाखमा बसेको मन्त्री परिषद्को बैठकले उखु किसानलाई उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा र नेपाल सरकारले अनुदानवापत ६५ रुपैयाँ २८ पैसा गरी प्रति क्विन्टल ५ सय ३६ रुपैँया ५६ पैसा दिने निर्णय भएको थियो ।

निर्णय भएको ६ महिनासम्म पनि आफूहरूले भुक्तानी नपाएको भन्दै आन्दोलनको बाटो अपनाउनुपरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । हालसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदानवापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नुपर्ने महासंघको दाबी छ ।

‘पाँच दिनभित्र उखु उत्पादनक किसानको रकम भुक्तानी गर्न निर्देशन दिइएको छ’, बैठकमा सहभागी समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने, ‘पाँच दिनभित्र रकम भुक्तानी नगरे पक्राउ गरी कारबाहीको तयारी गरेका छौँ ।’ यसअघि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि एक साताभित्र उखु किसानको बाँकी रकम उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो ।

यसैबीच सरकारले निर्धारण गरेको भन्दा बढी मूल्यमा चिनी बेच्ने व्यापारीलाई कडा कारबाही गर्ने भएको छ । चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । त्यसअघि आम उपभोक्तामा जनचेतना जगाउनका लागि मुख्य मुख्य सहरहरूमा माइकिङ गरिने कृषिमन्त्री खनालले जानकारी दिए ।

गत बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा १ लाख मेट्रिक टनभन्दा बढी चिनी आयातमा रोक लगाउने निर्णय गरेपछि व्यापारीहरूले चिनीको कालोबजारी गरी बढी मूल्यमा बिक्री वितरण गरिरहेको उपभोक्ताले गुनासो गरिरहेका छन् ।

गत आर्थिक वर्षमा भारत, पाकिस्तान लगायतका मुलुकबाट सस्तो मूल्यमा चिनी आयात भएकाले स्वदेशी उत्पादन गोदाममा थन्काउनुपरेको भन्दै नेपाली उद्योगीहरूले गुनासो गरेपछि सरकारले चिनी आयातमा कोटा प्रणाली तोकेको थियो ।

प्रतिक्रिया