विमानस्थलका लागि लेखपोखरा छानियो

सल्यान । जिल्लामा विमानस्थल निर्माण हुने भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराको लेखानाचौरमा विमानस्थल निर्माण हुने भएको हो ।

आइतबार लेखपोखरा विमानस्थल पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विमानस्थल निर्माणका लागि लेखपोखरा उपयुक्त भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । राप्ती राजमार्गको लान्ती बजारदेखी करिब १५ किमीको दुरीमा सम्भाब्यता अध्ययन गरिएको विमानस्थल पर्दछ ।

लेखपोखरा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न छत्रेश्वरी गाउँपालिकाले यस आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । आरम्भ आर्कोटेक्ट एन्ड इञ्जिनियर्स प्रालि काठमाडांैले एक महिनासम्म गरेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा भौगोलिक रूपमा लेखपोखरा विमानस्थल निर्माणको लागि उपयुक्त भएको उल्लेख छ ।

अध्ययनमा संलग्न प्रालिका किशोर थापाले विमानस्थल निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको र केही सामुदायिक वनको भएकोले विमानस्थल गर्दा प्राविधिक रूपमा चाहिने जमिन प्रशस्त रहेको उनले बताए । सल्यान जिल्लाको अधिकांश भूभागका २ लाख ४२ हजार ४ सय ४४ र रोल्पाका केहीभागका गरेर ३ लाख २१ हजार २ सय ९७ बढी लाभान्वित हुने प्रतिवेदनमा उल्लेख छ । लेखपोखरामा विमानस्थल निर्माणका लागि ८१ करोड बढी लाग्ने अनुमान गरिएको छ ।

विमानस्थल बनाउने क्षेत्रमा केही सार्वजनिक जमिन रहेको र यस क्षेत्रमा घनाजंगल पनि नभएकाले प्राकृतिक हिसाबले पनि खासै क्षति नहुने अध्ययन टोलीको निष्कर्ष रहेको छ । यहाँको सामुदायिक वनसँग सहकार्य गरी काम गर्न सकिने अध्ययन टोलीले जनाएको छ ।

लेखपोखरामा विमानस्थल निर्माण भएमा यस जिल्लाकै आन्तरिक पर्यटनको विकास हुने बताउँदै गाउँपालिका अध्यक्ष सन्तोष केसीले यहाँको स्थानीय स्तरमा उत्पादन हुने टिमुर, सुन्तला, खुकुरीजस्ता सामग्रीहरूलाई सजिलै ठूलो बजारमा पु¥याउन सकिने बताए ।

गाँउपालिका अध्यक्ष केसीका अनुसार यस विमानस्थलले छत्रेश्वरी गाउँपालिकाको मात्र नभई सिंगो जिल्लावासीको ड्रिम प्रोजेक्ट भएको बताए । उनले लागत धेरै देखेर निर्माण कार्य सम्भव हँुदैन कि भनेर धारण नबनाउन आग्रह गरे ।

‘छत्रेश्वरी गाँउपालिकाको लागि त विमानस्थल हो, त्यति मात्र नभएर सिंगो सल्यानका लागि ड्रिम प्रोजेक्ट भएकाले अहिले नै लागत देखेर डराउनुपर्ने अवस्था छैन’, उनले भने । उनले काम सुरु गरेपछि जुनसुकै काम पनि सम्भव भएकाले लेखपोखरा विमानस्थल आफ्नै कार्यकालमा सञ्चालनमा आउने दाबी गरे ।

सल्यान र रोल्पा जिल्लाका पश्चिमी भेगका करिब ३ लाख ५० हजार जनसंख्यालाई लक्षित गरी अध्ययन थालिएको यस लेखपोखरा विमानस्थल सञ्चालनमा आएमा १९ सिटे विमानहरू अवतरण गर्न सकिनेछ ।

प्रतिक्रिया