निलम्बित एसपी विष्ट नै मुख्य दोषी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा छानबिन गर्न गठित टोलीले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टको भूमिकामा पुनः छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनले निलम्बित एसपी विष्ट र बम दिदी–बहिनीमाथि नै शंका गर्नुपर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि आइतबारै छानबिन प्रतिवेदनमा यस्तै आशंका निकालेको छ । १० साउनमा साथीको घरमा गएकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।

शव भेटिएपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान त्रुटिपूर्ण रहेको भन्दै आन्दोलन चर्काउँदै गएपछि गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदन मन्त्रालयले आप्mनो वेबसाइटमार्फत आइतबार सार्वजनिक गरेको हो । आइतबार मन्त्रिपरिषद्को स्वीकृतिपछि गृहले पन्त प्रकरणको प्रतिवेदन बाहिर ल्याएको हो । समितिले गत १० असोजमा गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन गुपचुप राखिएको भन्दै गृहको चर्को आलोचना हुँदै स्वयं गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनसमेत भइरहेका थिए । प्रतिवेदनमा घटनाको विवरण, सम्बन्धित व्यक्तिसँग सोधपुछ, निष्कर्ष र सुझाब रहेका छन् ।

सामूहिक बलात्कार

दिउँसोको समय र मान्छेहरूको आवतजावत भइरहने सडकनजिकै एउटा व्यक्तिबाट आकस्मिक रूपमा बाटोमै समाती जबरजस्ती करणी गर्न असम्भव देखिएको प्रतिवेदनमा उल्लेख छ ।

किनकि, दुई हातले समातेर लिँदा पनि बालिका चिच्याउनुपर्ने, शव फेला परेको उखुबारीनजिकै घरमा दुईवटा कुकुर रहेको र चक्रदेव बडू तथा निजका बाबुसमेत उक्त दिन घरमै भएको भन्ने भनाइ र पोस्टमार्टम रिपोर्टमा बालिकाको तौल ४०-४५ केजी उल्लेख गरिएको, एकजनाले आकस्मिकरुपमा बलात्कार गर्न एकहातले बालिकालाई समाते पनि अर्को हातले मुख थुनेको भए बालिकाको सुरुवाल, पेन्टी र आफ्नो पाइन्ट, हाफ पाइन्ट पनि खोल्न गाह्रो हुनसक्ने भएकाले एकजनाले मात्र आकस्मिक बलात्कार गर्न सम्भावना कम देखिएको ।

नियोजित रूपमा शव फालियो

लासलाई पानीमा घोप्टो पारेर फालिएकोले बलात्कारका कुनै पनि दसी प्रमाण लिन नसकिने गरी घटना अन्तै घटाइ नियोजित रूपमा उखुबारीमा फालेको जस्तो देखिने ।

वारदात त्यही घटेको भएका मृतकको मुखभित्र माटो, फोक्सोमा पानीको मात्रा हुनुपर्ने । मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले उक्त कार्य चलाखीपूर्णरूपमा गरेको जस्तो देखिने ।

मृतकको शव भिजे पनि उनले बोकेको कापी नभिजेको र नीलो जेलपेनले लेखेको नोट कापीसमेत पानीको कुनै असर नपरेको र रातभरि पानी परेको भन्ने आमनागरिक तथा प्रहरी कर्मचारीहरू समेतको भनाइले लास उखुबारीमा नियोजित ढंगले ल्याइराखेको अनुमान गर्न सकिने ।

प्रहरीबाटै प्रमाण नष्ट

साउन ११ गते प्रहरीबाट खडा गरिएको घटनास्थल लासजाँच मुचुल्का र दसी सनाखत मुचुल्कामा मृतक निर्मला पन्तको जिउमा रहेको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेस्ट र खरानी रङको पेन्टीलगायत साइकल, कापी बरामद गरी प्रहरीले लगेको उल्लेख रहेको ।

तर, बरामद गरिएका उल्लिखित वस्तुहरू हाल नभेटिएको । दसी सनाखतमा मृतकका बाबु आउनुभन्दा अघिल्लो दिन नै उनको नामको ल्याप्चे सहीछाप गराएको देखिन्छ । बमको घरमा नयाँ रङरोगन गरिएको भन्ने विषय व्यापक चर्चामा आए पनि सोही घरभित्र गई हेर्दा त्यस्तो नयाँ रङरोगन गरिएको देखिन आएन ।

पोस्टमार्टम

मृत्युको कारण Throttling Leading to AsphyxiaÚ उल्लेख रहेको छ । साथै घाँटी थिची हत्या गरेको र घाँटीको अगाडिपट्टिको किलकिले हड्डी भाँचिएको, मृतक निर्मलाको यौनांगको हाइमेन ‘फ्रेस डिएर’ भएको र त्यसको अवस्थामा ‘clock / 7, 0 clock 1-1 cmÚ ’ उल्लेख गरिएको छ । मृतकको यौनांगको स्वाब लिँदा यौनांगमा वीर्य नदेखिएको, तर कन्फर्म गर्नका लागि सो स्वाबको नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाउनुपर्ने भन्ने उल्लेख गरेको ।

निष्कर्ष

हराएको जानकारी गराउँदा तत्काल खोजतलासका लागि सम्बन्धित प्रहरी उदासीन रहेको, खोजतलास नगरिएको, प्रमाण संकलनमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्रयाइ देखिएको तथा अपराधीको पहिचानका लागि सहयोग हुनसक्ने गरी तालिम प्राप्त कुकुरको प्रयोग नभएको ।

प्रमाण लाग्न सक्ने वस्तुहरू भित्री वस्त्र पानीमा चोपलेको, गुप्तांग र तिघ्रा पखालिएको तथा उक्त वस्त्र नै लोप भएको, बम दिदी–बहिनीको गतिविधि शंकास्पद देखिएको ।

सुझाब

पक्राउ परेको दिलीपसिंह विष्टलाई केरकार एवं सोधपुछ गर्ने टोलीमा संलग्न रहेका प्रहरी कर्मचारीहरूलाई तत्काल छानबिन गरी विभागीय कारबाही गर्नुपर्ने, घटनास्थलमा खटिएका प्रहरीको भूमिका निर्वाह गरेको नपाइएकोले पदीय तह र जिम्मेवारी एवं भूमिकाअनुसार छानबिन गरी विभागीय कारबाही गर्नुपर्ने ।

प्रहरी उपरीक्षक डिल्लीराज विष्ट आफ्नो जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वयं घटनास्थलमा नगएको तथा सो घटनाको थप अनुसन्धानमा समेत निजले निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारी पूर्णतः पालना गरेको नदेखिँदा निजमाथि छानबिन गरी विभागीय कारबाही गर्नुपर्ने, सो घटनापछि भएका प्रदर्शनमा घाइतेको उपचार खर्च वा यसैको कारण सामान्य जीवन निर्वाहमा असर पर्ने भए राज्यको तर्फबाट जीवन निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने । यस्ता घटना हुन नदिन जिल्लाको प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूको एकसाथ स्थानान्तरण गर्न उपयुक्त नहुने उल्लेख छ ।

प्रयोगशालामा पठाइएको नमुना सच्याउन पत्र

दिलीपसिंह विष्टले शौचालयमा हस्तमैथनु गरेका र शौचालयभित्र पानी नभएकाले हातमा वीर्य लगाएर अएको थियो भन्ने प्रहरी नायव निरीक्षक हरसिंह धामीको भनाइ र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट मिति २०७५।४।८ गते पठाइएको नमनुा परीक्षणको च.नं ६२३ को पत्रलाई प्रतिस्थापन हुने गरी मिति २०७५।५।१० गतेको च.नं ६४६ र ६४९ बाट सेन्डो गन्जी हुनुपर्नेमा नीलो रङको सेन्डो गन्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा खैरो रङको हाप पाइन्ट हुन गएको हुँदा पत्र र नमुना सच्याइदिनु हुन व्यहोराको पत्राचार गरी अनुरोध गरिएको देखिन्छ ।

तर, मिति २०७५।५।४ गतेको बरामदी खानतलासी मचुल्कामा नीलो रङको सेन्डो गन्जी र खैरो रङको जिन्स हाप पाइन्ट नै बरामद गरेको देखिन्छ ।

प्रतिक्रिया