आत्मरक्षा कला सिक्दै किशोरी

महेन्द्रनगर । दैनिकजसो रेडियो, टेलिभिजन र पत्रपत्रिकामा बलात्कार, महिला हिंसाका घटना सुन्दै आएका युवती र महिलाले प्रतिरक्षा तालिम चासो देखाउन थालेका छन् ।

विभिन्न समयमा प्रहरी र स्थानीय क्लबले सञ्चालन गर्दै आएको यस्ता तालिममा उल्लेख्य सहभागिता हुँदैन थियो । तर, पछिल्लो समय निर्मला पन्त प्रकरणपछि भने युवती र महिलाहरूले यो तालिमको महत्व बुझ्न थालेका छन् ।

प्राय आफन्त वा चिनेजानेकाबाट नै बलात्कारमा पर्ने गरेको अहिलेसम्मका घटनाले देखाएको छ । विशेषगरी एकान्तमा यस्ता घटना हुने भएकाले उनीहरूले तालिमको महत्व बुझेका हुन् । त्यस्तो बेलामा आपूmलाई बचाउन कोही पनि नहुने भएकाले आफैँले आफ्नो सुरक्षा गर्नुपर्छ भन्ने भावना जागेर आएको तालिम लिन आएको उनीहरूले बताएका छन् ।

कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने ?, पछाडिबाट अंगालो हाल्यो भने कसरी छुटकारा पाउने ?, संवेदनशील अंग समात्यो भने कसरी छुटाउने ?, कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने ? जस्ता तरिका पनि तालिममा सिकाइनेछ

सुदूरपश्चिममा अहिले यस्तै तालिम लिनेहरूको संख्या निकै उल्लेखनीय देखिन्छ । राष्ट्रिय गोजुरियो कराते–दो संघ र प्रदेश सरकारले आयोजना गरेको तालिममा करिब १७ सय बढी किशोरी, युवती र महिलाले सहभागिता जनाएका छन् ।

तालिममा सहभागीहरूलाई मुक्का, पञ्च, किक प्रहार गर्नेजस्ता आत्मरक्षाका उपाय सिकाइने आयोजक संघका महासचिव प्रकाशकुमार चन्दले बताए । आत्मरक्षाको तालिमबाट महिलाहरूले सुरक्षित हुने उपाय सिक्नुका साथै उनीहरूको आत्मविश्वासमा वृद्धि हुने उनको भनाइ छ ।

कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने ?, पछाडिबाट अंगालो हाल्यो भने कसरी छुटकारा पाउने ?, संवेदनशील अंग समात्यो भने कसरी छुटाउने ?, कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने ? जस्ता तरिका पनि तालिममा सिकाइनेछ । तालिममा धनगढीका विभिन्न विद्यालयका किशोरी पनि सहभागी छन् ।

अभियानको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयं तयार हुनु जरुरी रहेको बताए । ‘आधा धर्ती र आधा आकाश ओगटेर बसेका महिला जो आज समाजमा पीडित छन्, उपेक्षित छन्, हिंसामा छन्, तिनै महिलाको स्वाभिमान र आत्मरक्षा जोगाउन दृढ भएर लाग्न आवश्यक छ ।’

समारोहमा सामाजिकमन्त्री दीर्घबहादुर सोडारीले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक न्यायसहितको समाज निर्माणमा प्रदेश सरकारबाट अधिकतम प्रयत्न गरिने बताए ।

महिला हिंसा न्यूनीकरण गर्न सरकारीस्तरबाट ठोस कदम नचलेका बेला आत्मरक्षा तालिमले केही हदसम्म भए पनि यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने अधिकारकर्मी बताउँछन् । ‘हरेक दिन बिहान रडियोे सुन्दा, पत्रपत्रिका पढ्दा प्रायः दैनिकजसो बलात्कार र महिला हिंसाका समाचार पढ्नुपर्दा मन खिन्न भएको थियो । तर, आत्मरक्षा तालिमबाट यस्ता घटनामा कमी आउनेमा विश्वस्त छु’, अधिकारकर्मी निर्मला बागचन्दको भनाइ छ ।

यो आत्मरक्षा शिविर सुदूरपश्चिमको धनगढीबाट शनिबारदेखि सुरु भई असोज २६ गते प्रदेश–१ को बिर्तामोडमा समापन गरिने जनाइएको छ । आत्मरक्षा तालिममा सहभागीका लागि करिब एक हजार ७०० बढी महिला तथा बालबालिकाले फाराम भरेका छन् । सहभागी महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनोट गरिनेछ । उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया