जुवाखालबाट भाग्दा दुर्इकाे मृत्यु, २३ पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा सुक्रबार राति दुइजनाको मृत्यु भएको छ ।

प्रहरीले जुवाडेमाथि गरेको अपरेशनका क्रममा भागदौडमा घाइते भएका उनीहरुको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् ।

जुवा खेलाइएको सूचनाका आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो ।

घर बाहिर रहेको सादा पोशाकका प्रहरीले दुई जना व्यक्तिले हामफालेको चाल पाएलगत्तै उनीहरुलाई प्रहरीको भ्यानमा हस्पिटलसम्म लगिएको थियो । तर, ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारको क्रममा उनीहरूको राति नै मृत्यु भयो ।

प्रहरीले जुवाको खालबाट २३ जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको छ ।

तर, जुवाखालको मुख्य नाइके हेमा गुरुङ भने भाग्न सफल भएकी छन् । उनले लामो समयदेखि जुवा खेलाउँदै आएको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीका अुनसार बौद्ध क्षेत्रको विभिन्न स्थानमा हरेक दिन भिन्नभिन्न घरमा जुवा खेलाइँदै आएको थियो । प्रहरीले जुवाडेको एउटा कार र १० वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

प्रतिक्रिया