पप्पु कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार र उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

संघीय समाजवादी फोरम नेपालका तर्फबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो ।

गएको निर्वाचनमा पर्सा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । हाल उनका छोरा सुमित उक्त कन्स्ट्रक्सनको अध्यक्ष छन् ।

अख्तियारले कन्स्ट्रक्सनको वर्तमान अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको छ ।

 

प्रतिक्रिया