पप्पु ‘छोटे रौनियार’ कता गायव ?

रौतहट । पुर्जी जारी भएको दुई साता नाघिसक्दा पप्पु कन्सट्रक्सनका सञ्चालक सुमित रौनियार पक्राउ नपरेपछि प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ । स्थानीयले रौनियार पक्राउ नपर्नुमा प्रहरीको सक्रियतामाथि प्रश्न उठाएका छन् । रौनियार पक्राउ पर्न नसक्नुमा प्रहरीको उदासीनता रहेको स्थानीयको आरोप छ ।

९ भदौमा पप्पु क्न्सट्रक्सनले ठेक्का लिएर निर्माण गरिरहेको पुलको पिल्लरमा डुंगा ठोकिँदा ५ जनाको मृत्यु भएको थियो । त्यसपछि टिकुलियाका स्थानीयले पप्पु कन्ट्रक्सनमाथि मुद्दा दायर गरेका थिए । प्रहरीले पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियारलाई कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो । रौनियारले अटेर गरेपछि जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति पुर्जी जारी गरेको थियो ।

हाल रौनियार कहाँ छन् ?, प्रहरीले कुनै जवाफ दिएको छैन । प्रहरीले रौनियारलाई पक्राउ नगरेपछि पीडित परिवार र स्थानीय सरोकारवालाले प्रहरीमाथि शंका गर्न थालेका छन् । प्रहरी अदालतको आदेशको अवज्ञा गर्दै राजनीतिक हस्तक्षेपका कारण मौन बसेको स्थानीयको आरोप छ ।

‘हामीले हत्यारा रौनियारलाई कारबाहीसहित क्षतिपूिर्तको माग गर्दै उजुरी दिएका हौँ, दुर्घटनामा मृतक ५५ वर्षीय कान्तिदेवीको छोरा रामबाबु साहले भने, ‘न रौनियार पक्राउ परे न क्षतिपूर्ति पायौँ ।’ अब कसरी न्याय पाउने होला निकै चिन्ता लागेको उनले सुनाए । प्रहरी कार्यालयले मूलुकी फौजदारी कार्य विधिसहित ऐन ०७४ को दफा ९ को उपदफा २ बमोजिम पक्राउ गर्न अदालतसमक्ष माग गरेको छ ।

अदालतले असोज ४ गते आदेश दिएपछि स्थानीयले केही राहत महसुस गरेका थिए । ठेकेदार पक्राउ पर्नुपर्ने, पुल निर्माणको कार्य अगाडि बढ्नुपर्ने, दुर्घटनामा ज्यान गुमाएका र घाइतेले क्षतिपूर्ति पाउनुपर्ने स्थानीयको माग छ । रौतहट पर्सा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बानेश्वरलाई पक्राउ गर्न पत्राचार गरिए पनि सुमित फेला परेका छैनन् । रौनियार हाल भागेर भारततर्फ गएको प्रहरीको अनुमान छ ।

‘योजनाको ठेक्का लिएर योजना अलपत्र पारी देश बर्बाद गर्ने रौनियार जनताका शत्रु हुन्, डुंगा दुर्घटनामा पत्नी गुमाएका भरत पटेलले भने, ‘उसलाई सरकारले रेड कर्नर नोटिस जारी गरी पक्रनुपर्छ ।’ उनको सडक दुर्घटनामा खुट्टा भाँचिएपछि हाल २ वर्षदेखि उपचाररत छन् म शारीरिक रूपमा अशक्त छु, भगवान्ले पत्नी पनि खोस्यो, सरकारबाट क्षतिपूर्ति पनि पाइनँ, उनको गुनासो छ ।

दुःख पाए पनि टिकुलिया घाटमा पुल बनेको हेर्ने रहर नमरेको उनले सुनाए । लालबकैया पारिका बन्जाराहा, औरैया, मठिया लगायतका स्थानीयलाई सदरमुकाम गौर आउजाउ गर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गरेका थिए ।

०७१ साल २९ गते १४ करोड ९३ लाखमा पप्पु कन्सट्रक्सनले ठेक्का सकार गरेको थियो । ०७४ साल असार २५ गतेभित्र निर्माण कार्य पूरा गर्न लिखित सम्झौता गरेका हरिनारायण रौनियार (सुमितको बुबा)ले हालसम्म पुलको पिलर मात्र ठड्याएको र सोही पिलरमा ठोकिएर डुंगा दुर्घटना भएपछि स्थानीयले पप्पु क्न्सट्रक्सनविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रहरी खोजीमा रहेका सुमित पर्सा क्षेत्र नं.३ का सांसद हरिनारायण रौनियारका छोरा हुन् । ०७३ चैत अन्तिम साता उपेन्द्र यादवको हातबाट टीका थाप्दै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हरिनारायण चुनावी अभियानका क्रममा छोरा सुमितलाई ठेक्का पट्टाको जिम्मा सुम्पेका थिए ।

देखावटी रूपमा कन्ट्रक्सनको काम छोरालाई सुम्पे पनि सम्पूर्ण कारोबारमा हरिनारायण स्वयं हस्ताक्षर गर्ने खुलेको छ । रकमी चलखेलको कारण टिकट लिई चुनावी मैदानमा उत्रिएका हरिनारायण ठेक्कामा आफ्नो संलग्नता नदेखाउन छोरा सुमितलाई कागजी सञ्चालक बनाएका थिए । त्यसैको आधारमा रौतहट प्रहरीले दुर्घटनापछि सुमितलाई सोधपुछका लागि बोलाएको हो ।

डुंगा दुर्घटनामा परी गौर नगरपालिका–४ की ४५ वर्षीया इन्दुदेवी पटेल, ६४ वर्षीया शान्तिदेवी साह, १० वर्षीया उष्माकुमारी पटेल, सहचालक ओमप्रकाश चन्द्रवंशी र ईशनाथ नगरपालिका औरैयाकी ४५ वर्षीया रुनादेवी पटेलको ज्यान गएको थियो ।

‘भवितव्य ज्यान मुद्दामा सुमितलाई पक्राउ गर्न खोजिरहेका छौँ,’ प्रहरी उपरीक्षक केदार ढकालले भने, ‘सुमित भारतमा लुकेको आशंका छ ।’ ऊ जहाँ भए पनि कानुनले नछोड्ने उनले बताए ।

पप्पुका पुल कतै भाँचिए, कतै भासिए

रौतहटको लालबकैया नदी कटहरियाघाटमा आर्थिक वर्ष ०७१÷७२ मा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो । स्थानीयको विरोधपछि पुलको पूर्वपट्टिको पिल्लर पप्पु कन्स्ट्रक्सन आफैँले मर्मत गरेर सञ्चालनमा ल्यायो ।

पछि पश्चिमपट्टिको पिलर भासियो । पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो । महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल निर्माण सम्पन्न हुन नपाउँदै भाँचियो ।

गत भदौमा बबई नदीमा आएको बाढीका कारण पुलको पिलर भासिएपछि पुल भाँचिएको थियो । पुल निर्माण गर्दा पानीमा बनाइने फाउन्डेसन कमजोर भएकाले पुल निर्माण कमजोर भएको सडक विभागको प्रारम्भिक अध्ययनले देखायो ।

यसको भुक्तानी रोकिएपछि पप्पु कन्सट्रक्सनले सडक विभागविरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ । परामर्शदाताको सुझावअनुसार पुल नबनाएको र कमजोर कंक्रिट तथा पिल्लर प्रयोग गरेका कारण नतिजा कमजोर देखिएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

भदौमा भाँचिएपछि पुल अलपत्र अवस्थामा छ । पप्पुको ठगका यी दुई अलपत्र पुल उदाहरण मात्रै हुन् । रौनियारको पप्पु कन्सट्रक्सनले निर्माण गरेका धेरै आयोजना यस्तै समस्यामा फसेका छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेका पुलहरूमा यस्तै समस्या देखिएका छन् । अधिकांश निर्माणाधीन पुलको काम समयमा हुन सकेको छैन ।

कम्पनीले अहिले एकल तथा अन्य कम्पनीसँग मिलेर ४० वटाभन्दा धेरै पुलको ठेक्का लिएको छ । पप्पु कन्सट्रक्सनले एक्लै निर्माण गर्न लागेको पुलको लम्बाइ ५ हजार ७ सय ८० मिटर छ । तर, अधिकांश पुलको निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा काम भने सुरुसमेत भएको छैन । निर्माण सम्पन्न भएका पुल कमजोर अवस्थामा रहेका सडक विभागले जनाएको छ ।

‘हाम्रो मूल्यांकनमा सबैभन्दा खराब काम गर्ने ठेकेदार कम्पनी मध्येको पप्पु कन्ट्रक्सन रहेको विभागका एक अधिकारीले भने, ‘पप्पु कन्स्ट्रक्सनले बनाएका सबै आयोजनामा कुनै न कुनै समस्या देखिएका छन् ।’

पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेमा बागमती नदीमाथि आर्क ब्रिज निर्माणको ठेक्का पनि पाएको छ । यो वर्ष पूरा हुने भनिएको आयोजनाको फाउन्डेसन निर्माणको काम भइरहेको छ । ठेकेदारले समयमै काम नगरेका कारण आयोजनामा ढिलाइ भइरहेको विभागले जनाएको छ । यस्तै टेकुमा बन्न लागेको मोटरेबल पुल तीन वर्षअघि नै निर्माण सक्नुपर्ने भए पनि कम्पनीले बल्ल निर्माण थालेको छ ।

एसियाली विकास बैंकको सफ्ट लोनमा बन्न लागेको पुलको काम समयमा नभएपछि दाताले ऋण रोक्ने चेतावनी दिएपछि बल्ल काम अघि बढेको छ । कम्पनीले देशका विभिन्न सडक खण्डमा रहेका पुल तथा कान्ति राजपथ, मध्यपहाडी राजमार्ग, धरान, चतरा, हेटौँडा सडकका पुलहरूको पनि ठेक्का लिएको छ ।

देशैभरिका पुलहरूको निर्माण कार्य सन्तोषजनक नरहेको विभागको भनाइ छ । ठेक्का मात्रै लिने र गुणस्तरीय काम गर्न नसक्ने ठेकेदार कम्पनीलाई सडक विभागले कारबाही गर्न सकेको छैन । सडक विभागको पुल महाशाखाका एक अधिकारीका अनुसार अनुगमन नभएका बेला र राति तथा बिदाको दिन यो कम्पनीले निर्माणको काम गर्छ । जसका कारण अनुगमनमा जाने कर्मचारीलाई समस्या हुने गरेको ती अधिकारीले बताए ।

सडक विभागले कमसल काम गरेको भन्दै कालोसूचीमा राख्न पप्पु कन्सट्रक्सनलाई स्पष्टीकरण पनि सोधेको थियो । तर, विभागबाट पत्र प्राप्त भएपछि पप्पुले सर्वोच्च अदालतमा विभागविरुद्ध मुद्दा दायर ग¥यो । सर्वोच्च अदालतले पप्पु कन्सट्रक्सनलाई तत्काल कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएपछि सडक विभागको प्रयास पनि बीचैमा असफल हुन पुगेको थियो ।

रौतहटमा हाल पप्पु कन्स्ट्रक्सनका आधा दर्जन पुल निर्माणाधीन अवस्थामा छन् । पप्पुको लापरबाहीमा लमहा खोला पुल पनि एक हो । १२५.९ मि. लम्बाइ रहेको सो पुल लाई निर्माण गर्न ०७३–६–२६ गते सम्झौता गरेको पप्पुले ०७५–६–१५ सम्म निर्माण सम्पन्न गनुपर्नेछ ।

त्यसैगरी, ६० मिटर लम्बाइ रहेको रौतहटको तरहरीको झाझ नदीको पुलको ०७३–६–९ गते सम्झौता गरेको पुलको निर्माण कार्य ०७५–२–१० सम्म सक्नुपर्ने थियो । तर, हालसम्म कार्य सम्पन्न नभएको अवस्था छ । ४७० मि. चाँदी पुलको निर्माणका लागि ०७३–३–३ मा ठेक्का लिएको पप्पुले ०७६–३–३ सम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवस्था छ ।

लालबकैया खोला पुलको ०७२–३–३० मा ठेक्का पाएको हुँदा ०७६–३–२९ गते २५० मि. को पुल बनाइसक्नुपर्ने चुनौती छ । ती सबै पुलको हालसम्मको निर्माण प्रगति १० देखि ३५ प्रतिशतसम्म रहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया