त्रिदेशीय सीमामा सरकारको उपस्थिति कमजोर

दार्चुला । नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमाक्षेत्रमा नेपाल सरकारको उपस्थिति निकै कमजोर देखिएको छ । त्रिदेशीय सीमाक्षेत्रमा सामरिक महत्व हुने भए पनि नेपालतर्फ सुरक्षा व्यवस्था निकै कमजोर रहेको जानकारहरूले बताएका छन् ।

सामरिक महत्व बोकेको त्रिदेशीय सीमाक्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् । यहाँको तिंकर तथा छांगरु क्षेत्रमा सुरक्षा व्यवस्था निकै कमजोर छ । सीमा क्षेत्रमा भारतले ठाउँठाउँमा सुरक्षाकर्मी राखेको छ । नेपालतर्फ भने सुरक्षा व्यवस्था शून्यजस्तै छ । त्रिदेशीय सीमाक्षेत्रमा मात्र नभई भारतसँग जोडिएका सिमानामा सुरक्षा उपस्थिति निकै न्यून रहेको छ ।

दार्चुलाको उत्तर–पश्चिम त्रिदेशीय सीमाक्षेत्रमा हिउँदमा मानवीय बस्ती बसाल्नसमेत चुनौती रहेकाले राज्यको उपस्थिति कमजोर देखिएको सुरक्षा अधिकारीको दाबी छ । व्याँस गाउँपालिका–१ तिंकर छांगरुमा प्रहरी पोस्ट भए पनि वर्षभरि सुरक्षा व्यवस्था राख्न सक्ने अवस्था नरहेको सुरक्षास्रोतले जनायो । हिउँदमा बाक्लो हिमपात हुने भएकाले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन चुनौती रहेको प्रहरी स्रोतले बताएको छ । व्याँसमा ६ महिना मात्रै राज्यको उपस्थिति रहने गरेको छ । ६ महिना मानवीय उपस्थिति शून्य छ ।

व्याँस गाउँपालिका–१ का बासिन्दा हिउँदमा सदरमुकाम खलंगा झर्ने गरेका छन् । हिउँदमा बाक्लो हिमपात हुने भएकाले उनीहरू खलंगा झर्ने गरेका हुन् । स्थानीयहरू खलंगा झरेसँगै तिंकर प्रहरीहरू व्याँस गाउँपालिका–२ राप्लाको दुम्लिङ झर्ने गरेका छन् । स्थानीय र सुरक्षाकर्मी पनि बस्न सक्ने अवस्था नहुने भएपछि दुम्लिङ त्रिदेशीय सीमाक्षेत्रमा मानवीय उपस्थिति शून्य हुने गरेको छ ।

सामरिक महत्व बोकेको त्रिदेशीय सीमाक्षेत्रमा राज्यको उपस्थिति बलियो हुनुपर्ने हो । मौसम प्रतिकूलताका कारण दार्चुलाको तिंकरमा भने ६ महिना मात्रै राज्यको उपस्थिति हुने गरेको छ । सीमाक्षेत्रमा अवैध व्यापार, चोरी तस्करीजस्ता आपराधिक गतिविधिमा संलग्नको मनपरी चल्ने गरेको स्थानीयले बताएका छन् ।

यो विषयमा दार्चुला आइपुगेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापासँग प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले छलफल गरेका छन् । सामरिक महत्व बोकेको त्रिदेशीय सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कमजोर भएकाले सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बिओपी) राख्ने विषयमा छलफल भएको आचार्यले बताए ।

जिल्लास्तरबाट त्रिदेशीय सीमाक्षेत्रमा सशस्त्र प्रहरी पोस्ट राख्नेबारे माग गरिए पनि हालसम्म केन्द्र सरकारले कुनै प्रतिक्रिया देखाएका छैन । उत्तरपश्चिम त्रिदेशीय सीमाक्षेत्रमा सुरक्षा पोस्ट राख्ने विषय पहिलेदेखि उठेको र छलफलकै क्रममा रहेको प्रजिअ आचार्यले जनाए । यहाँ एउटा स्थानमा मात्रै सशस्त्र प्रहरी बल गुल्म छ । सशस्त्र गुल्म खलंगा क्षेत्रमा राखिएको छ ।

प्रतिक्रिया