न्यु डायमण्ड र एपिएफ तथा पुलिस र चितवन टाइगर्स सेमीमा भिड्ने


काठमाडौं । आधी आवाधी एनभिए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले न्यु डायमण्ड क्लबसँग खेल्ने तय भएको छ ।

प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभुवन आर्मी क्लब भने समूह चरणबाटै बाहिरिएका छन् । सोमबारको खेलमा चितवन टाइगर्सले न्यु डायमण्डमाथि ३–१ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्यो । न्यु डायमण्डले पहिलो सेट नै २५–१९ ले गुमाएको थियो ।

तर, न्यु डायमण्डले दोस्रो सेटमा २९–२७ ले आफ्नो पक्षमा पार्दै सेटमा १–१ को बराबरी ग¥यो । यद्यपि, तेस्रो सेट चितवनले २५–१९ ले जितेपछि सेटमा पुनः अग्रता लियो । चौथो सेटमा चितवनलाई कडा टक्कर दिँदै डायमण्डले २६ अंकसम्म पुर्याएको थियो ।

तर, चितवन २८–२६ ले विजयी हुँदै समूह ‘ए’ को विजेता बन्न सफल भयो । न्यु डायमण्ड भने समूहको उपविजेता बन्यो । अब न्यु डायमण्डले समूह ‘बी’ को विजेता एपिएफसँग खेल्नेछ । एपिएफले पोखरा पिंकेजलाई ३–० कै सोझो सेटमा हराउँदै समूह विजेता बनेको थियो ।

पहिलो सेटमा २५–१३ को जित निकालेको एपिएफले पछिल्लो २ सेट २५–११ र २५–१५ ले जित्यो । भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशीको एभिएल विजेताले ६ लाख नगद प्राप्त गर्नेछ ।

उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान स्कुटर र नगद ५० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया