सडक मिच्ने घरटहरा भत्काइयो

काभ्रे । पटक–पटक सूचना जारी हुँदा पनि अटेर गरेपछि राजमार्ग छेउ अतिक्रमण गरेर अनाधिकृत रूपमा बनेका घरटहरा हटाउने काम सुरु गरिएको छ ।

बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरे पनि स्थानीयहरूले बेवास्ता गर्दै प्रतिकारमा उत्रिएपछि सोमबार साँगामा प्रहरीसँग स्थानीयको झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।

आक्रोशित भिडमाथि प्रहरीले लाठीचार्जसमेत गरेको छ । घटनामा दर्जन बढी घाइते भएका छन् । नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गर्दा तनाव सिर्जना भएको हो ।

राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सञ्चालक, स्थानीय र प्रहरीबीच झडप भएको थियो । नगरपालिकाले अरनिको राजमार्गको साँगाचोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दायाँबायाँ २५ गज सडक सिमानाभित्र रहेका घरटहरा हटाउन यसअघि नै सूचना जारी गरेको थियो ।

घरटहराहरू हटाउन सडक विभाग, डिभिजन कार्यालय भक्तपुरबाट सूचनासमेत जारी भइसकेको छ । स्थानीयले भने दसैँसम्म घरटहरा नहटाउन माग गरेका छन् । डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख गुरु अधिकारीले भने अरनिको राजमार्ग साँगाबाट धुलिखेलको सम्मको नौ किलोमिटर सडक मिचेर बनेका घरटहरा यो साताभित्र हटाइने बताएका छन् ।

बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनाव सिर्जना भएको बताइएको छ ।

नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गरेका हुन् । काभ्रे र भक्तपुरको सीमानाका साँगादेखि धुलिखेलसम्म सडक अतिक्रमण गरी निर्माण भएका १ सय ५६ वटा घरटहरा भत्काइने बताइएको छ ।

प्रतिक्रिया