नियात्रा : याराको लुरी गुम्बा

माथिल्लो मुस्ताङभन्दा माथि रहेको छोसेर वरपरका गार्फु, सिसाजस्ता गाउँ, गार्फुमा रहेको लो गार्फु गुम्बा, लो निफु गुम्बा र सिजा जोङ पहराको गुफाको छोटो अवलोकन भए तापनि ऐतिहासिक भयो ।

तुलनात्मक रूपमा निकै फराकिलो र लामो छ छोसेर उपत्यका ल्होमान्थाङ जत्रै । उपत्यकामा छरिएर रहेका नेयुल, सिसा, अर्को गार्फु, सामजोङजस्ता गाउँ र गढी, यात्रुलाई स्वागत गर्न उभिएका कानिचोर्तेन, चोर्तेन र माने घरले हाम्रो मन तानेका थिए ।

त्यहाँका मिहिनेती दाजुभाइ, दिदीबहिनी, आमाबा, जीवन्त संस्कृति झल्कने गुफा र गुम्बा, खेतीपाती, पशुपालन र व्यापारसहितको तीर्थ यात्रामा बित्ने जिन्दगीले भावुक बनाएको थियो । ६/७ हजार वर्ष पुरानो इतिहास त त्यहाँ कुटोले कोट्याउँदा आलु भेटिएझैँ भेटिन्छ ।

१०औँ हजार वर्ष पुराना गुफाले मानव सभ्यताको अध्ययन गर्न विश्वका विश्वविद्यालयलाई चुनौती दिएको छ । ‘सक्छौ भने आऊ, खोज र विश्वलाई बताइदेऊ’, ती गुफा र गढीहरूले भनी रहेका छन् । मलाई त्यस्तै लाग्यो ।

त्यो दिन ल्होमान्थाङमा झैँ उत्साहकासाथ बित्यो । साँझ मात्र होटलमा फर्कियौँ । दुईजना साथीहरू अरूभन्दा बढी थाकेका थिए । साँझ खाना खाने वेलामा छलफल गर्यौँ ।

सिजा जोङ गुफाको पहिलो तलामा पुगेरबाहिर हेरेपछि माधवलाल श्रेष्ठको मन फेरिएको कुरा खानाको टेबलमा टुप्लुक्क आयो । वास्तवमा हाम्रो पैदल यात्रा त ल्होमान्थाङबाट बल्ल पो सुरु हँुदै थियो ।

हामी ल्होमान्थाङबाट यारा, दामोदर कुण्ड, ताङग्या, धे हुँदै मुक्तिनाथसम्म जाने योजना गरेका थियौँ । श्यामले औषधी खाएर नै दिनभरिको यात्रा गरेकाले साहस थपिएको कुरा पनि टेबलमा दर्ता भयो । अन्तिममा माधव चराङ हुँदै जोमसोम फर्कने, हामी चारभाइ मिठाराम, श्याम, ज्ञानेन्द्र र म यारातिर लाग्ने निष्कर्ष निकाल्यौँ र कोठामा छिर्यौँ ।

खाजा खायौँ । खर्चलाई पाँच भाग लगायौँ । बिहान ६ बजे पैदल यात्राका लागि तयार भयौँ । यारा जाने बाटो देखाइदिन दुई घण्टाका लागि होटल मालिकले एकजना साथीको व्यवस्था गरिदिए । नक्सा भए तापनि पश्चिमा पर्यटकजस्तो एक्लै हिँड्ने बानी मेरो छैन । हिमाली क्षेत्रको यात्रामा निस्कँदा बाटो हराएर कतै अलपत्र परिन्छ कि भनेर पनि डराउँछु ।

हिउँदको वेला सारा हिमाली जगत्मा हिउँको साम्राज्य हुन्छ, त्यसवेला त्यो डर झन् भीमकाय बन्छ । त्यसैले, यारा र चराङको बाटो फाट्ने ठाउँसम्म पुग्न एकजना साथी खोजिदिन मैले आग्रह गरेको थिएँ ।

नेपाली भावना, नेपाली मन हिमालजस्तै सफा र कालीगण्डकीको पानीजस्तै चोखो हुन्छ । त्यसको भर र विश्वासमा हामीले जीवन गुजारेका छौँ । हामी आर्थिक रूपमा सम्पन्न छैनौँ, भौतिक विकास गरेर मानिसले जीवनमा लिनसक्ने सुविधा युरोपियन, अरेबियन, चाइनिज, जापानिज, अमेरिकनले लिएका छन् । जीवनको मूल्यको महत्व तीनले जे दिएका छन्, त्यसबाट हामी वञ्चित छौँ ।

हाम्रोमा जीवनको मूल्य याराको भिरबाट लडेर मर्ने याकको जत्तिको पनि छैन । हाम्रोमा जीवनको मूल्य लुरी गुम्बामा जलेको धूपको खरानी जतिको पनि छैन् । ६÷७ हजार वर्ष पहिले मेरी आमाले खोज्नेजस्तै त्यस्तै गुइँठा खोजेर एक मुठी नुन चिया पिएर त्यसवेला मेरा बाले खेद्ने भेडाबाख्रा खेदेझैँ खेद्दै लेकबेँसी चहार्दै छु । मेरै पाखुरीले कोदालो र आँसी नचाएर खेती गरेको छु ।

मेरै धर्ती माताले दिएका जडीबुटीका जरा खोजेर औषधि बनाएर बाँचेको छु । फरक के भने म साँचो हाँसो हाँस्न सक्छु मुस्ताङ र दामोदर हिमाल हाँसेझँै । म शिव नृत्य नाच्न सक्छु, मधेसको मयुर नाँचेझैँ । जति सुखभोग गरेर जीवनलाई सुखको उत्कर्षमा पु¥याए पनि ती पश्चिमाहरू म जसरी हाँस्न र नाच्न सक्दैनन् । त्यसैमा मैले भोको मन बुझाएको छु ।

ल्होमान्थाङको दक्षिणी पर्खालमा उभिएर समूह तस्बिर खिच्यौँ । माधव बोलेरोभित्र छिरे । हामी चारभाइ हिमाली मनले खोजिदिएको साथीलाई अगाडि लगाएर लो भञ्ज्याङ (३९५० मिटर) तिर उकालो लाग्यौँ ।

दुई दिनअघि लो लामा मोटर रोक्न अनुरोध गर्दा चालकले मानेनन् । त्यसको बदला हामी लो भञ्ज्याङमा पुगेपछि हृदयका सम्पूर्ण रक्तनली सन्तुष्ट हुनेगरी ल्होमान्थाङ सहरलाई भञ्ज्याङबाट हेर्यौँ । त्यतिमात्र कहाँ हो र ? त्यहाँबाट त, उत्तरतर्फ अघिल्लो दिन हामी पैदल यात्रा गरी गएको बाटो लमतन्न सेतीको उपत्यका तिब्बतको भूभागसम्मनै छिचोल्ने गरी देखिँदो रहेछ ।

अनि पूर्वमा दामोदर कुण्डतिरको भूगाग मनाङसम्म देखिदो रहेछ । पश्चितिरको मुस्ताङ हिमाल र डोल्पाको छार्का गाउँका हिमाल भने यस पटक देख्ने मौका मिलेन । दक्षिणमा रहेका अन्नपूर्ण हिमालको मनास्लुसम्म लम्केको लामो धार, नीलगिरिका चुचुराहरू, मुक्तिनाथ हिमालसँग त हामीले धेरैपटक मितेरी साइनो कसेका थियौँ । बादलका भुल्काहरूलाई पन्छाउँदै त्यो दृश्य हेर्यौँ ।

मानिसलाई माटो र जीवन प्यारो हुन्छ । माटो बचाउन जीवनको आहुति दिइन्छ । मानिसले माटो र जीवन बचाउन अन्तिम प्रयास गर्छ । मुस्ताङका संस्थापक राजा आमिपालले माटो र जीवन बचाउन पर्खाल बनाए ।

भर्खर बिहे गरेकी दुलहीसँग विछोड हुँदा छटपटाएको गोर्खा रेजिमेन्टको नेपाली लाहुरेको मुटुको धड्कन क्षणभर रोकिएझैँ, मेरो मुटुको धड्कन पनि त्यसवेला रोकियो, जब मैले पर्खालभित्रको इतिहास र सभ्यताको साक्षी ल्होमान्थाङ र त्यसभित्रको जाम्पा मैत्रेय बुद्धको रातो गुम्बालाई अन्तिम पटक हेरेँ ।

लो धुरीदेखि आधाघण्टाको बाटो पैदल हिँडेपछि चराङतिर जाने मोटरबाटो छोडेर यारा (३६५० मिटर) गाउँ जाने मधुरो गोरेटो समात्यौँ । त्यहाँबाट चारैतिर हजारौँ बलौटे पिरामिड देखिए । खम्पा विद्रोहको वेला यो भेगका धेरै समथर ठाउँ उनीहरूले कब्जा गरी चीन सरकारविरुद्ध विद्रोह गरेका थिए । सन् ७० को दशकमा अमेरिकी सरकारको भित्री सहयोगमा सञ्चालन भएको त्यो विद्रोह निस्तेज भयो ।

दोबाटोमा पुगेपछि ल्होमान्थाङबाट आएका छोटो समयका मित्रलाई मायाको चिनो दियौँ, उनीसँग बिदा भयौँ र यारातिर लम्कियौँ । शितलमा धेरै बाटो काट्न सक्ने भएकाले बिहानै पदयात्रा सुरु गरेका थियौँ । हामी धेरै समय ४ हजार मिटरदेखि ४ हजार २ सय मिटर उचाइ भएका पखेरा, भञ्ज्याङ र पहाडको धार भएर हिँड्यौँ ।

त्यसैले हामीले कहिले पश्चिमतिरको मोटरबाटो, मराङ, चराङ, पूर्वतिरका अग्ला चुचुरा, र कहिले उत्तरतिर ल्होमान्थाङको विशाल फाँट देख्थ्यौँ । सबैले पानी बोकेका थियौँ । सुख्खा खाजा, चिउरा, भुजिया, बदाम, काजु, किसमिस, बिस्कुट र चक्लेट झोलामा थियो । त्यसलाई चपाउँदै हिँड्यौँ । कुनै–कुनै बलौटे धार पाइला अड्याउन पनि नपुग्ने साँघुरा र बालुवा खसिरहने भिरालो बाटो थियो । त्यस्तोमा विशेष होसियारी अपनायौँ ।

बलौटे, सेता, राता, खैरा, फुस्रा तर आकर्षक सयौँ पिरामिडका थुप्राजस्ता देखिने थुम्काका लस्कर, तिब्बतको जान्दा क्षेत्रको जस्तो माटोको जङ्गल ‘अर्थ फरेस्ट’ पाइला पनि राख्न नपुग्ने साँगुरो भिरको गोरेटो बाटो, फराकिला उपत्यका, भञ्ज्याङ, नाघ्दै धीभन्दा माथि रहेको उधिडाँडा (३९५० मिटर) को शिरमा पुग्यौँ ।

त्यसवेला घाम चरक्क चर्कियो, भोक लाग्न थाल्यो र थकाइले पनि पेल्यो । उधिडाँडाबाट हामी करिब ६ सय मिटर पहाडको धार हुँदै धी गाउँ (३४०० मिटर) कालीगण्डकीको किनारमा झर्नुपर्ने थियो । पहाडको धार हँुदै गर्गरे गोरेटोबाट ६ सय मिटर ठाडो ओरालो झर्नुपर्ने भएकाले कठिन थियो । साँघुरो नभए पनि धुलो, गेगर, गिटी र ढुङ्गा भएकाले लरक्क लर्कन्थ्यो ।

लर्केर बाटोबाहिर झरियो भने कति गहिरो खोँचमा कुन कुनातिर कोच्चिन पुगिने हो थाहा हँुदैन्थ्यो । एक ठाउँमा पुगेपछि बाटो दुईतिर फाट्यो । एउटा पाखैपाखो भएर नदीतिर गएको थियो भने अर्को सिधै झरेको थियो । नक्सा हेर्यौँ, सिधा फेँदमा धी गाउँ हुनुपर्छ भन्ने तय गरेपछि तल झर्दै गयौँ । गाउँ देखेपछि मन हाँस्यो । भोक पनि हरर बौरेर आयो । गाउँ पुग्नुअघिको नाङ्गो पहाडको धार झनै ठाडो भएर झरेको थियो । होसियार भएर ८/१० घर भएको धी गाउँमा झर्यौँ ।

६ घण्टामा यारा पुगिन्छ भनेर हिँडेका हामी ७ घण्टा हिँडेपछि बल्ल धी गाउँ पुगेका थियौँ । धी गाउँका एकजना किसान बाले एक घण्टामा यारा पुगिन्छ भने तापनि कम्तीमा तीन घण्टालाग्ने अनुमान मैले गरेको थिएँ ।

ल्होमान्थाङबाट पूर्वतिर बग्दै दक्षिण झरेको कालीगण्डकी धी गाउँमा भेटिएको थियो । कालीको पानी कुलोबाट ल्याएर धी गाउँमा सिँचाइ गरिएको रहेछ । पानीसँगै बाक्लो बालुवा देखिन्थ्यो । धी गाउँको पखेरामा च्याङ्मा रुखको छहारीमुनि बसेर चिउरा र दालमोठ नै बुकायौँ र कालीगण्डकीको झोलुंगे पुल तरेर यारातिर लाग्यौँ ।

एक बित्तेजस्तो देखिएको पखेरो छिचोल्न नै एक घण्टा लाग्यो । धी गाउँदेखि पारि यसक्षेत्रको ठूलो गाउँ सुर्खाङ रहेको छ । कालीको तिरमा रहेको गाउँ हामी हिँडेको पखेराबाट सुन्दर देखिएको थियो । चराङ्बाट आएको मोटरबाटो सुर्खाङ हँँँुदै यारासम्म पुगेको छ, तापनि भाडामा यात्रु भने ओसार्दैनन् । दुई घण्टाको पैदलयात्राबाट पुगिने ठाउँका लागि १० हजारभन्दा बढी भाडा तिर्नुपर्ने भएकाले दामोदर कुण्ड तीर्थ गर्न जाने यात्रु चराङ्बाट हिँडेर नै जान्छन् ।

पखेरोपछि हामी पुयुङ खोलाको गहिरो सुरुङजस्तो उपत्यकामा छि¥यौँ । त्यसपछि हामीलाई अग्ला यारीपाङ्जे र घारतिरका अग्ला बलौटे पहाडले घर्लम्म अँगालो हाले । थकाइ र भोक बढ्दै गएपछि छोटो उकालो पनि लामो भएको थियो । हामीसँग भएको पानी पनि सकिएको थियो । पुयुङ खोलाकै किनार भएर हिँडेका थियौँ । कालापहाडको शिरबाट नुनको पहिरो गएको देखिन्थ्यो ।

वारिपारि नजिकैका ढिस्कामा हिउँजस्तै सेताम्मे देखिनेगरी नुनका पहाड देखिएका थिए । पुयुङ खोलामा नुनकै सेताम्मे बगर थियो । तिर्खाले आत्तिएर पुयुङ खोलाको नुनिलो पानी पियौँ । त्यसले तिर्खा मार्नेभन्दा पनि पेटलाई तमतमायो । कठिनका साथ अग्लो ठूलो च्याङ्को फेँदमा पुग्यौँ । त्यहाँ खानेपानीको धारो थियो । पानी पियौँ र फेरि उकालो लाग्यौँ । अपराह्न चार बजे करिब १० घण्टा हिँडेर ल्होमान्थाङबाट यारा पुग्यौँ ।

यारा (३६५०मिटर) र घारा (३९२० मिटर) पूर्वोत्तर मुस्ताङ अर्थात् दामोदर कुण्ड जाँदा बाटोमा पर्ने अन्तिम गाउँ हुन् । यारा बाटोमा नै पर्छ । यारामा एक होटल र यात्रुका लागि स्वयं सेवीद्वारा सञ्चालित एक धर्मशाला रहेको छ जुन वैशाखदेखि भदौको २० गतेसम्म खुला हुन्छ ।

तिब्बतको मानसरोवर, पोताला दरबार, भारतको बद्रीनाथ, नेपालको गोसाइँ कुण्डभन्दा ऐतिहासिक र धार्मिक महत्व बोकेको पर्यटकीय पवित्रस्थल भए तापनि यारा नजिक रहेको दामोदर कुण्ड र लुरी गुम्बाजस्ता तीर्थलाई साँच्चिकै तिरस्कार गरिएको छ । यारा नजिकैको गाउँ घारा एक घण्टाको दूरीमा पूर्वमा रहेको छ । यी प्रत्येक गाउँमा १० देखि १२ घर रहेका छन् ।

ती मध्ये तीनवटा ठूला छन् भने अन्य घर गुफाका घरजस्तै देखिन्छन् । गुफामा ढोका हँुदैन भने घरमा काठको ढोका र एक वर्ग फिटको झ्याल हुन्छ । घर र खेतलाई पर्खालले घेरिएको छ । केही घर कोप्रिएको पहाडमाथि टुक्रुक्क बसेकाले संकटको अवस्थामा देखिन्थे ।

ल्होमान्थाङदेखि टाढा कुनामा रहेकाले यी गाउँ डोल्पाको छार्का, मनाङको फू गाउँजस्तै मुस्ताङका विकट गाउँ भनेर जानिन्छन् । यहाँका बासिन्दाको मुख्य पेसा पशुपालन, दोस्रो खेती, तेस्रो जडीबुटी संकलन र व्यापार हो । हिउँदमा हिउँ छल्न वृद्धबाहेक परिवारका सदस्य पोखरा, बौद्धनाथ, लुम्बिनीदेखि लद्दाखसम्म पुग्छन् ।

त्यो दिन हामी यारा लजमा बस्यौँ । त्यहाँ खान, बस्न र शौचालयको सुविधा राम्रो थियो । भोलिपल्ट बिहान ६ बजे स्थानीय जामयाङ तेन्जिङ गुरुङलाई साथमा लिएर लुरी गुम्बा उपत्यकाबाट आएको पुयुङ खोलाको बाटो भएर उकालो लाग्यौँ ।

पुयुङ खोलाको बगर हुँदै जाँदा लुरी गुम्बा पुग्न लगभग तीन घण्टा लाग्छ । बाटोमा एउटा पुरानो चोर्तेन भेटिएको थियो जुन स्तूपा जत्रै ठूलो देखिन्थ्यो । पुरानो त्यो चोर्तेन जीर्ण भएको छ । लुरी गुम्बा नपुग्दै पुयुङ तरेर दाहिनेतिर लागेपछि एउटा सानो ढुङ्गामा दामोदर कुण्डजाने संकेत देखाइएको छ । त्यो संकेतपछि कुण्ड जाने बाटो उकालो लाग्छ भने खोलाको बगरको बाटो लुरी गुम्बातिर ।

यारा वरपरका पहाड मोटा अग्ला फेँद भएका बालुवाका रुखको घना जङ्गलजस्तै देखिन्छन् । यस्ता पहाडलाई तिब्बतमा माटोको जङ्गल भनी नामाकरण गरिएको छ । अर्को कोणबाट हेर्दा ती ससाना गिटी र बालुवाका पहाड ठूला सहरका गगनचुम्बी भवनका लस्करजस्ता देखिएका थिए ।

लुरी गुम्बादेखि यारासम्मको यारीपाङ्जेको लामो डाँडामा माटोको जङ्गलको पहाडको आधाभागसम्म पाँचतले गुफाहरू रहेका छन् । गुफाहरू पहाडको बीच भागसम्म रहेका छन् । कुनै–कुनै गुफामा भ¥याङ र ढुङ्गाको खातबाट चढ्न सक्नेजस्तो देखिए तापनि धेरैमा डोरीको सहयोग लिएर मात्र गुफामा पुग्न सकिन्छ । कुनैमा भने एक पहराको गुफादेखि अर्को पहरोको गुफामा जान मलेसियाको ट्वीन टावरको टुप्पामा पुल हालेझैँ काठका लामा मुड्का हालेर पुल बनाइएका छन् ।

अग्ला बलौटे पहाडको अग्रभागमा देखिने गुफाहरू गगनचुम्बी भवनका झ्यालजस्ता देखिन्छन् । चैले र ल्होमान्थाङ क्षेत्रका गुफाबारे सामान्य अध्ययन गरिए तापनि यो क्षेत्रमा भने कुनै अध्ययन भएको छैन । अन्यत्र भएको खोज, गुफामा भेटिएका मानव अस्तु, अस्तु राख्ने बाकस, ढुङ्गाका हतियार र माटाका भाँडा भेटिएको आधारमा भन्नुपर्दा चैलेतिरकाभन्दा यारा क्षेत्रमा भएका गुफा पुराना हुनुपर्छ ।

पानी भएको, खेती गर्न ससाना पखेरा भएको र चरनका लागि लेक भएकाले यो क्षेत्रमा सुरुदेखि मानवको बसोबास भई लामो समयसम्म बसेको हुनुपर्छ । मानिसले घर बनाउन सिकेपछि यस क्षेत्रका गुफामा बस्ने मानिसले पनि नजिकै घर बनाएर बस्न थालेको हुनुपर्छ ।

यात्रामा जति ठाउँका पहरामा गुफाहरू देखिए ती ठाउँजस्तै जोङ, चैले, ताङ्ग्या, यारा नजिक घरहरू बनाइ कालान्तरमा गाउँ बसेकाले गुफामा बस्ने समुदाय वा त्यसवेलाका गणका वंश नै त्यसै क्षेत्रमा स्थायी बसोबास गरेका हुन् भन्न कठिनाई हँुदैन । नेपालको हिमाली क्षेत्रमा सिन्धु सभ्यता र वैदिक संस्कृतिको विकास हुनुभन्दा पहिलेदेखि व्यवस्थित बस्ती विकास भइसकेको थियो ।

त्यो कुरा हालसम्म यस क्षेत्रमा पाइएका यसै क्षेत्रको ६÷७ हजार वर्ष पहिलेको हिमाली शैव संस्कृति, यहाँ भेटिएका वस्तु र हालसम्म त्यसक्षेत्रमा बसोबास गर्ने मानिसको चलन, संस्कृति र व्यवहार हेर्दा तिनीहरूका सन्तान हुन् भन्न सकिन्छ ।

याराका गुफाहरू अन्यत्रका भन्दा अग्ला हुनुको कारण मलाई यस्तो लाग्छ कि, पहरा गर्लम्म ढलेर भत्केनन् । तल्लो भागबाट पानीले खोल्दै गहिरो बनायो । निरन्तर बगिरहने कठोर हवा, र हिउँदमा जम्मा हुने हिउँ वैशाख–जेठमा पग्लँदा पखेराको बालुबा क्रमशः ताछिएर गयो जसले गर्दा पहरो ठाडो हँुदै अहिलेको अवस्थामा पुग्यो । त्यो क्रम हरेक वर्ष दोहोरिँदै गएको छ । कैयौँ गुफा पुरिएका, भत्केर गएका देखिएकाले पनि त्यो भन्न सकिन्छ ।

वर्षौँ वर्षको यो भौगर्भिक चलखेलले गर्दा ती गुफाहरू अनकन्टार बन्न पुगे । अहिले ती सबै गुफा कहालीलाग्दो ठाउँमा छन् । तिनको उचित संरक्षण गर्न सकिन्छ । तिब्बतमा चीनले त्यस्ता ऐतिहासिक क्षेत्रको पुरातात्विक गरिमाको सम्मान गर्दै संरक्षण गरेर पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको छ । तिब्बतमा भन्दा हिमालको दक्षिण भागमा पहिले र लामो समय मानिसको बसोबास भएको हो । किनभने, हिमालको दक्षिण भूभाग खेतीयोग्य र पशुपालनका लागि उपयुक्त छ ।

फराकिलो र औधी राम्रो हवापानी, खेतीयोग्य भूमि भएकाले यो क्षेत्रमा विश्वका घुमन्ते मानिस ओहोर–दोहोर गर्दा यतै बसे । त्यसकारण, हाम्रो हिमाली क्षेत्र मानव सभ्यताको विकास, कृषि, पशुपालन, जडीबुटीको जननी क्षेत्र हो ।

याराको पूर्वी कुनाको पहराको चेपमा रहेको निङ्मापा सम्प्रदायको लुरी घाङ गुम्बा विश्व प्रसिद्ध गुम्बा हो । पुयुङ खोलाको किनारभन्दा ३ सय ५० फिटमाथि बलौटे पहाडको चेपमा रहेको यो गुम्बा १२आँै शताब्दीमा बनेको हो । तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको मराङ्को घारा गुम्बापछि यो दोस्रो महत्वपूर्ण गुम्बा हो ।

गुम्बाको जग तलदेखि नै बनाइएको छ । खोलाको किनारबाट गोरेटो र सिँढी हुँदै गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने वेलामा काठको भ¥याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्या स्थल पहराभित्र छिरेको गुफामा रहेको छ । त्यहाँको आकर्षक चोर्तेनको भित्रिभागमा ल्होमान्थाङका गुम्बामा रहेका जस्तै आकर्षक भित्तेचित्र रहेका छन् । गुम्बाअगाडि रहेको चोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि रहेको छ ।

महासिद्ध पदमसम्भवसँग सम्बन्धित रहेको लुरी गुम्बा पहराको ढुङगालाई नै थामको रूपदिई बनाइएकाले बलियो छ । गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पदमसम्भवको मूर्ति रहेको छ । यो गुम्बाको सम्बन्ध भुटानको गुम्बासँग भएकाले समयसमयमा भुटानबाट समेत तीर्थयात्री यहाँ आउँछन् ।

यसो हुनुको प्रमुख कारण के भने आमिपालका नाति आगुन तेन्जिङ जाम्पोका छोरा आङ् छाङ्छेन दासिगोनका पालामा मुस्ताङले भुटानसम्म आफ्नो क्षेत्र विस्तार गरेको थियो । त्यसवेला सिंजा केन्द्र रहेको खस साम्राज्य (९२३–१४२०) उत्तरमा मानसरोवर, कैलाश, पश्चिममा लद्दाख, पूर्वमा त्रिशूली र दक्षिणमा तराइसम्म फैलिएको थियो ।

त्यसवेलादेखि भुटानसँग रहेको गुम्बाको सम्बन्ध पछिसम्म रहन गएको हो । त्यसबाहेक लुरी गुम्बा र भुटानको सम्बन्ध हुनुमा ल्होका राजाको भुटानी कन्यासँग वैवाहिक सम्बन्ध हुनु हो । त्यसवेला आफ्नी पत्नीलाई खुसीपार्न राजाले याराको लुरी गुम्बा बनाएका हुन् ।

ती राजाले पत्नीको नामबाट गुम्बाको नाम लुरी राखे वा किन त्यो नाम राखे भन्ने थाहा नभएको याराका हाम्रा पथ प्रदर्शक जामयाङ तेन्जिङ गुरुङले बताएका थिए । नेपालले तिब्बतमा भृकुटीलाई सम्झेझैँ भुटानी तीर्थयात्रीले मुस्ताङको लुरी गुम्बालाई चेलीको रूपमा सम्झेर त्यहाँ जाने गरेको हामी भन्न सक्छौँ ।

भुटानीले लुरी गुम्बालाई सम्झे तापनि नेपालमा भने यसको महत्व खस्किँदै गएको कुरा गुम्बाको अलपत्र र जीर्ण अवास्थाबाट थाहा हुन्छ । १२औँ शताब्दीमा हाम्रा पुर्खाले बनाएको गुम्बा अहिले पशुपतिनाथको वृद्धाश्रममा अलपत्र परेका वृद्ध आमाबाजस्तै अलपत्र अवस्थामा त्यो गुम्बा रहेको छ । लुरी गुम्बाका लामा गाउँमा हुँदा बत्ती भने नियमित बाल्ने गरिएको छ जसले पदमसम्भव एकपटक मुस्काएर याराका उनका पुर्खाका गुफाका भग्नावशेष देख्न सक्छन् ।

मलाई जहिले पनि अचम्म लाग्ने के भने विश्वलाई सभ्यता सिकाउने पूर्वजका सन्तान हामी किन यति धेरै असभ्य भयौँ ? लामा यारामा नै भएकाले हामीले गुम्बाभित्रको अवलोकन गर्न पाएनौँ । दामोदर कुण्ड जाने नेपाली र भारतीय तीर्थयात्रीभन्दा पश्चिमा पर्यटक इतिहासको महत्वलाई बुझेर लुरी गुम्बा हेर्न जाने गर्छन् ।

यो ऐतिहासिक र पुरातात्विक महत्वको गुम्बाको पुनर्निर्माण गरी संरक्षण गर्न आवश्यक भएको कुरामा हामी सबै तीर्थयात्री सहमत भयौँ । स्थानीय सरकारले पहल गरी स्रोत जुटाएर पुनर्निर्माण गर्न पनि अब सहज भएको छ ? लोकतन्त्र गाउँसम्म पुगेको अहिलेको अवस्थामा अब त्यस्ता ऐतिहासिक स्थलको संरक्षण गर्ने जिम्मा पनि स्थानीय सरकारको हो ।

पुयुङ खोलाको किनारलाई छोडेर हामी दामोदर कुण्डजाने बाटो समातेर उकालो लाग्यौँ । पारि पहरामा उभिएको लुरी गुम्बाको चित्र आँखा वरपर नाचिरहेकै थियो । गुम्बाले दामोदर कुण्डतिर चढेका मेरा सुस्ताएका पाइलाको गति हेरेजस्तो लाग्यो । त्यसैवेला धुले ठाडो उकालोमा मुटुको धड्कनको गति बढेको आवाज मैले अनुभव गरेँ । उचाइ बढ्दै गएको जानकारी मुटुको धड्कनको गतिले दिएको थियो ।

 [email protected]

प्रतिक्रिया