असंतुष्ट नेपालको बानेश्वरमा चियापान

काठमाडौं । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल सहितको सचिवालय बैठकले संगठन निर्माणका काम थालेपछि नेकपाको मतभेद बाहिर आएको छ ।

शुक्रबार वरिष्ठ नेता माधव नेपालले राजधानीमा ‘चिया भेला’ आयोजना गरेर गुटगत समस्या चर्किएको प्रस्ट देखिएको हो । विदेश गएका बेला प्रदेश इन्चार्ज र नेतृत्व बाँडफाँट गरेपछि रुष्ट बनेका नेपालले भेलामा संगठन निर्माणमा एकपक्षीय भएको असन्तुष्टि पोखे ।

भेलामा स्थायी कमिटीका सदस्यहरू सहभागी थिए । नयाँ बानेश्वरमा भएको भेलामा ४५ जना स्थायी कमिटी सदस्य सहभागी भए । संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, मणि थापा, अग्नि सापकोटा, गणेश साह लगायतका नेताहरू सहभागी थिए । नेम्वाङ भने कार्यक्रममा नबसी निस्किएका थिए । वामदेव गौतम एकैछिन बसेर निस्किएका थिए ।

अघिल्लो साता अफ्रिकी मुलुक घाना जानुपूर्व नेता नेपाल र केपी ओलीबीच नयाँ मापदण्ड बनाएर प्रदेश र जिल्ला तहको नेतृत्व बाँडफाँट गर्ने मौखिक समझदारी भएको थियो । तर, उनी घानामै भएको बेला सचिवालयको बैठक राखेर प्रदेश निर्माण टुंग्याएपछि नेता नेपाल रुष्ट बनेका हुन् । अहिले संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन गएका प्रधानमन्त्री तथा अध्यक्ष ओली अमेरिकामा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल पत्नीको उपचारको सिलसिलामा सिंगापुरमा छन् ।

प्रदेश कमिटी निर्माणपछि नेकपाभित्रका विभिन्न गुटहरू सक्रिय बन्न थालेका छन् । गुट र उपगुटको सक्रियताले सचिवालयबाट भएको निर्णय गम्भीर विवादमा परेको छ । नेता युवराज ज्ञवाली त सचिवालयको निर्णय नै उल्टिन सक्ने बताउँछन् ।,

जतिबेला प्रदेश कमिटी तयार हुँदै थियो वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ विदेश थिए । प्रदेश कमिटी गठन गरेको साता नबित्दैदेखि नेपाल पक्षका नेताले अध्यक्षद्वय ओली र दाहालको खुलेरै विरोध सुरु गरिसकेका थिए । एक पक्षीय कमिटी निर्माण भएको भन्दै पार्टीभत्र प्रणाली समाप्त भएको टिप्पणी नेपाल पक्षका नेताको गुनासो छ ।

पार्टी एकिकरणपछि संगठन समायोजन गर्दा मापदण्ड परिमार्जन गरेर पार्टीमा वरिष्ठतालाई ख्याल गरेर निर्णय टुंग्याउने जिम्मा ओली र दाहाललाई दिएको थियो । प्रदेश कमिटीको टुंगो लगाउन स्थायी समितिमा छलफल हुनुपर्ने बताउँदै नेकपाभित्र असन्तुष्ट चर्किएको छ । यो विवाद विभिन्न उपगुटमा सल्किएको छ ।

असन्तुष्ट मध्येका अर्का नेता जगन्नाथ खतिवडाले यो निर्णयलाई तीव्र विरोध जनाएका छन् । प्रदेश संगठन कमिटीको नेतृत्वमा पूर्व–एमालेबाट १५ र माओवादीबाट १३ जना नेताले जिम्मेवारी पाएका छन् ।

पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो हुन छाडेको छ । अर्का वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको उठायै छन् । सचिवालय बैठकले प्रदेशका पदाधिकारी र इन्चार्जको जिम्मेवारी बाँडेको छ । यो निर्णय प्रक्रियामा उनको प्रतिक्रिया सार्वजनिक भएको छैन ।

उनीनिकट नेताका असन्तुष्टि आउन थालेका छन् । जेठ ३ गते भएको पार्टी एकिकरणका बेला पनि खनाल चीन भ्रमणमा थिए । तत्कालीन एमाले र माओवादीबीच एकीकरण हुँदा खनाल पक्षले यो विषय उठाएका थिए । तर, यसलाई ठूलो विवादको विषय नबनाउने खनालले स्वदेश फर्कंदा बताएका थिए ।

नेपालले शुक्रबारको भेलामा सरकार र पार्टीले राम्रो ढंगले काम गर्न नसकेको भन्दै यसको समीक्षा गर्न जरुरी रहेको बताए । आफू विदेश जाने बेलामा पार्टी अध्यक्ष ओलीसँग कुरा गरेको र स्वदेश नफर्किकन प्रदेश कमिटी गठन नगर्ने वचन दिएको नेता नेपालले स्थायी कमिटीका नेताहरूलाई बताए ।

‘तर, म नभएका बेला सचिवालयको बैठक बोलाउनुभएछ, सचिवालयको यो निर्णय मलाई मान्ने छैन, उनले भने, ‘आजै औपचारिक रूपमा असहमति दर्ज गरेको छु ।’ वरिष्ठ नेता नेपालले तत्काल स्थायी कमिटीको बैठक बोलाउन पार्टी नेतृत्वसँग मागसमेत गरेका छन् । ‘मैले स्थायी कमिटीको बैठक बोलाउन माग गरेको छु,’ उनले भने, यहाँ धेरै कुराहरू नभनौँ ।’

प्रतिक्रिया