प्रदेश–७ मा असन्तुष्टि चुलिदैं, नाम र राजधानीको ब्यापक विरोध

कैलाली । प्रदेश –७ को नाम सुदुरपश्चिम राजधानी गोदावरी रहने प्रतिवेदन विशेष समितिले बुझाएपछि त्यसको ब्यापक विरोध सुरु भएको हो । प्रदेशको नाम र राजधानी सम्वन्धि विषयमा राय सुझाव संकलन गरी प्रदेशसभामा प्रतिवेदन बुझाउन गठित संसदीय समितिले मंगलबार यस्तो प्रतिवेदन बुझाएपछि विरोध सुरु भएको हो ।

साउन १४ गते गठित समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका ४ तेघरीस्थित नेपाली सेनाको ब्यारेक पछाडि र नाम सुदूरपश्चिम प्रदेश सिफारिस गरी प्रतिवेदन बुझाएको हो ।

झन्डै २ महिनाको अध्ययनपछि तयार प्रतिवेदनप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले विरोध जनाएको छ । कांग्रेस सांसद डा. रणबहादुर रावलले विशेष समितिले प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा आफूहरुको असहमति रहेको बताए ।

उनले सामुदायिक वनमा प्रदेशको राजधानी राख्दा वातावरणीय रुपमा पनि उपयुक्त नहुने तथा धनगढीमा अर्बौ रुपैयाँ भौतिक संरचनाका लागि खर्च भइसकेको अवस्थामा अन्य ठाउँमा राजधानी सार्न नहुने बताए ।

उनले अन्य प्रदेशको तुलनामा प्रदेश– ७ आर्थिक तथा स्रोत साधनमा गरिब भएका कारण नयाँ ठाउँमा राजधानी लैजाँदा प्रदेशलाई आर्थिक भार मात्रै बढ्ने बताए ।

राष्ट्रिय जनता पार्टीका सांसद कृष्ण चौधरीले राजधानी सिफारिस गरिएको स्थान उपयुक्त नभएको बताए । उनले प्रदेश ७ का नौवटै जिल्लालाई केन्द्र हुने गरी स्थायी राजधानी राख्नुपर्ने बताए । उनले कसैको ब्यक्तिगत स्वार्थका लागि प्रदेशका जनतालाई दुरगामी असर पर्ने गरी राजधानी राख्न नहुने बताए ।
उक्त प्रतिवेदन प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गरेमा प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका ४ मा नै रहनेछ ।

प्रतिक्रिया