अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावक

कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिंगो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट सुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो ।

एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले सबै शक्ति लगाएको देखिन्छ । तर, विडम्बना, कञ्चनपुरमा महिला तथा बालिकाहरूमाथिको बलात्कार प्रयासका घटनाहरू भने रोकिएका छैनन् ।

निर्मला हत्याका वास्तविक अपराधीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सडक र सदनमा उठिरहे पनि यहाँ आपराधिक गतिविधिमा कमी नआउँदा सुरक्षा चुनौती थपिएको छ।गत ३२ असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कविता विष्टलाई बलात्कारपछि हत्या गरी लालझाँडी जंगलमा शव फालिएको अवस्थामा भेटिएयता कञ्चनपुरमा मात्रै झन्डै एक दर्जन बलात्कारका घटनाहरू भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्ट हत्यामा संलग्न कष्णपुर नगरपालिकाकै मदन गिरी र भरत बोहरालाई पक्राउ गरी कारबाही अघि बढायो। दुवै अभियुक्त हाल पुर्पक्षका लागि कञ्चनपुर कारागारमा रहेका छन् । विष्ट हत्याको एकसातापछि ६ साउनमा पुनर्वास नगरपालिकाका १७ वर्षीया युवतीलाई सोही नगरपालिकाका २६ वर्षीय विकास बुढाले दोदा नदी छेउको उखुबारीसम्म पुर्याएर बलात्कार प्रयास गरेका थिए ।

ती युवती कराउँदै उखुबारीबाट भाग्न सफल भइन् । उक्त घटनाका आरोपित बुढा पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । १० साउनमा शुक्लाफाँटा नगरपालिका–८ का बिन्तरामी चौधरीले स्थानीय वृद्धालाई मध्यरातमा बलात्कार गरे । आफन्तबाटै बलात्कारको सिकार बनेकी वृद्धाले जाहेरी दिएको आधारमा अभियुक्त चौधरी पनि हाल पुर्पक्षका लागि कारागारमा छन् ।

सोही दिन दिउँसो भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथी रोशनी बमको घरमा गृहकार्य गर्न आएकी भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मला पन्त अबेर साँझसम्म घर नफर्किएपछि आमा दुर्गादेवी पन्त छिमेकीसहित निर्मला खोज्न निस्किइन् । प्रहरीसम्म खोजबिनका लागि पुगेकी दुर्गादेवीको पुकार कहीँबाट सुनिएन ।

११ साउनमा बिहान निर्मलाको शव उखुबारीमा भेटियो । उल्टाखामवासीले लामो समयदेखि गाउँमा अस्थायी प्रहरी बिट स्थापनाका लागि माग गर्दै आएका थिए । निर्मलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा स्थानीयवासीले अवरोध पुर्याए ।

गाउँलेले निर्मलाका हत्यारामाथि कारबाहीको माग गर्नाका साथ सुरक्षाको प्रत्याभूत गराउन पनि अपिल गरे । चौकी स्थापनाका लागि केन्द्रमा लिखित पत्र पठाउँछु भन्दै प्रहरी पन्छिन खोजेको निर्मलाका आमा दुर्गादेवीको भनाइ छ । ‘सुरक्षाका लागि पहिले पनि गाउँलेहरूले पहल गर्दै आएका थिए’, उनले भनिन्, ‘निर्मलाको घटनामा पनि त्यो स्वर गुञ्जियो तर सुनिएको छैन ।’

उक्त घटनालाई सामान्य रूपमा लिइँदा आन्दोलन भड्कियो । भीमदत्तनगरमा दिनहुँ प्रदर्शनहरू भए । आन्दोलनले उग्र रूप लिँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परे । निर्मला घटनाका तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक एकिन्द्र खड्का र तत्कालीन प्रवक्ता एवं प्रहरी नायब उपरीक्षकसहित ६ जना प्रहरी कर्मचारी पनि ढिलो गरी निलम्बनमा परे ।

जिल्लामा नयाँ नेतृत्व आयो । जिल्ला प्रशासनको जिम्मेवारी लिएर प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुखको जिम्मेवारी लिएर प्रहरी उपरीक्षक कुबेर कडायत कञ्चनपुर आए । आन्दोलनले उग्र रूप लिन पुग्दा भीमदत्तनगरपालिका–१८ का सनी खुना सहिद बने ।

गृह मन्त्रालयको उच्चस्तरीय छानबिन समिति, प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको प्रहरी नायब महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको टोलीले भिन्नभिन्न ढंगबाट अनुसन्धान गरिरहेका छन् । घटनाको अनुसन्धान एवं समन्वयकर्ता भन्दै प्रहरी उपरीक्षक दुर्गा सिंह चन्दलाई प्रहरीको केन्द्रीय कार्यालयले कञ्चनपुर पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा अनुसन्धान अधिकृत भएर अनुसन्धान गरिरहेका छन् । ‘धेरै विज्ञसहितको टोलीहरूले अनेक कोणबाट निर्मला हत्या प्रकरणको सघन अनुसन्धान गर्दैछन्,’ जिप्रका कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले भने ।

प्रतिक्रिया