करारकाे म्याद नथपेपछि राेइलाे

काठमाडौं । तपाईंले राष्ट्रहितविपरीत कुनै विषय सामाजिक सञ्जालमा सेयर गर्दै हुनुहुन्छ ? अब होसियार हुनुहोला ।

१ भदौदेखि लागू भएको कानुनले राष्ट्रियतामाथि खलल पार्ने विषय सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाइनेछैन । यदि गर्नुभयो भने तपाईंले गम्भीर सजाय भोग्नुपर्नेछ ।

यस्तै, सजायको भागिदार बनेकी छिन् जनकपुरकी एक युवती । ३ असोज संविधान दिवसका दिन मधेसका केही जिल्लामा संविधानको विरोध भयो ।

संविधान दिवसलाई ‘कालो दिवस’ को पोस्टलाई फेसबुकमा सेयर गरेका कारण जिल्ला अदालत धनुषामा कार्यरत गुन्जा राय कामबाट निकालिएकी छिन् ।

उनले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी ३ असोज संविधान दिवसका दिन कालो दिवसको पोस्ट फेसबुकमा सेयर गरेकै कारणले जागिरबाट निकालिएको जानकारी दिइन् ।

तीन दिनअघि अदालतका श्रेस्तेदार राधाकान्त झाले उनलाई कामबाट निष्कासन गरेको पत्र दिएका उनको भनाइ छ । रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको र आफूलाई मात्र अवकाश पत्र थमाइएको बताइन् ।

उनी १७ पुस ०७३ देखि अदालतमा कार्यरत थिइन् । संविधान दिवस ३ असोजमा मधेसी दलले ‘कालो दिवस’ भन्दै विरोध जनाएका थिए । कालो दिवससम्बन्धि समाचार फेसबुकमा सेयर गरेको भन्दै रायलाई निकालिएको अदालत स्रोतले जनाएको छ ।

महोत्तरी घर भएकी रायले यसअघि विभिन्न सञ्चार माध्यममा काम गरेकी थिइन् । स्नातकोत्तर सम्मको अध्ययन गरेकी उनले भनेकी छिन्, ‘कसैले लेखेको समाचार मैले सेयर गरिदिएकी मात्र हुँ । त्यसरी सेयर गर्नुहुँदैन भन्ने कुरा मैले बल्ल थाहा पाएकी छु ।’

प्रतिक्रिया