अनुसन्धानमा जालझेल

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या भएको २ महिना पुग्न लाग्यो । १० साउनमा भएको उनको हत्यामा संलग्न हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारले गरेका अनुसन्धान एक ‘नाटक’जस्तो पटाक्षेप भएको छ ।

हत्याकाण्डपछि उत्पन्न परिस्थितिपछि शोकमा डुबेका कञ्चनपुर क्षेत्रका बासिन्दा प्रहरीको पछिल्लो गतिविधिले फेरि त्रसित बन्न थालेका छन् ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीले बाहिरी रूपमा सक्रियता देखाइरहेको भए पनि भित्री रूपमा तथ्य लुकाउने प्रयास गरेको देखिएको छ ।

निर्मलाको भेजाइनल स्वाबबाट बलात्कारीको डिएनए ग्रो गर्न सफलता मिलेपछि जागेको आशा र अनुसन्धानलाई अहिले अन्तै मोड्ने प्रयास थालिएको छ ।

जनदबाबका कारण प्रहरीले एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुस विष्टको डिएनए परीक्षणका लागि रगतको नमुना लिएको थियो । तीन जनाको मात्रै रगतको नमुना लिएर त्यो क्रम रोकेसँगै सिंगो प्रहरी संगठनकै नियतमा प्रश्न उठ्न थालेको छ।

निर्मलाको हत्या भएको दिन १० साउनमा किरणसँगै होटल ओपेरामा देखिएका तेस्रो युवकको खोजीमा भने प्रहरी उदासीन बनेको छ । प्रहरीले अनुसन्धानकै क्रममा अन्य तीनजना युवकलाई पनि शंकाको घेरामा राखेको थियो । तर, उनीहरूको रगतको नमुना लिइएको छैन ।

निर्मलाको भनिएको भेजाइनल स्वाब नक्कली हुने सम्भावना रहेको भए पनि अहिलेसम्म प्रहरीले जनतालाई विश्वासमा लिन त्यसबारेमा तथ्य सार्वजनिक गरेको छैन ।

पोस्टमार्टममा संलग्न चिकित्सक, भेजाइनल स्वाब संकलन गरी राखिएको कन्टेनरको सिलबन्दीको मुचुल्का, कन्टेनरमा तापक्रम सुनिश्चित हुने ग्यारेन्टी, कन्टेनर प्रयोगशालामा पठाइएको मिति र प्रयोगशालाले कन्टेनर दुरुस्त पाएको प्रमाणबारे प्रहरीले तथ्य सार्वजनिक नगर्दा आशंका उत्पन्न भएको हो ।

किरणसँगै होटेल ओपेरामा देखिएका भीमदत्त नगरपालिका–२ बस्ने बुढाएर थरका एक युवक केही दिनयता बेपत्ता छन् । उनी १० साउनमा किरणसँगै होटल ओपेरा गएका थिए । ती युवकको खोजी गरी डिएनए परीक्षण गर्न प्रहरीले अहिलेसम्म कुनै पहल गरेको छैन ।

अहिलेसम्म बुढाएरलाई अनुसन्धानको घेरामा ल्याएर डिएनए परीक्षण गर्नेतर्फ प्रहरीले ध्यान दिएको छैन। प्रहरीले हत्याकाण्डको आशंकामा दर्जनौँ व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएको भए पनि तीन जनाको मात्रै डिएनए परीक्षण गरेको छ । अन्यको पनि डिएनए परीक्षण गर्नुपर्ने हो ।

तर, प्रहरीले यसमा बेवास्ता गर्दै आएको छ । महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार निर्मलाको भेजाइनल स्वाबको संकलन र भण्डारणमा पनि शंका गर्न सकिने संकेत पाइएका छन् । स्रोतले निर्मलाको भेजाइनल स्वाबमै छेडखानीकोे सम्भावना औँल्याएको छ।

चिकित्सकले स्वाब संकलन गरी कन्टेनरमा राखेपछि तत्काल सिल नगरिएको स्रोतले बताएको छ । स्वाब सुरक्षित राख्नका लागि आवश्यक माइनस २० डिग्रीको तापक्रमयुक्त किट पनि प्रयोग गरिएको छैन । डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि एसपी विष्ट आफ्नो बचाउमा बोल्न थालेका छन् ।

निर्मला हत्याकाण्डमा अनुसन्धानका लागि महत्वपूर्ण बन्न सक्ने महेन्द्रनगर बजारक्षेत्रका सिसिटिभी क्यामेराको डाटा प्रहरीले नै नष्ट गरेको मानव अधिकार क्षेत्रका प्रतिनिधिले बताएका छन् । १० साउनमा निर्मलाको हत्या हुँदा महेन्द्रनगर बजार भित्रका १६ स्थानमा जडित सिसिटिभी क्यामेराले काम गरिरहेका थिए।

तर, अचानक प्रहरीले १० साउन आसपासको डाटा सुरक्षित नभएको बतायो । यसमा प्रहरीको गम्भीर लापरबाही रहेको एक अधिकारकर्मीले बताए । डाटा अति महत्वपूर्ण हुन सक्ने भए पनि जिल्ला प्रहरी कार्यालयबाटै मेटाइएको हुन सक्ने उनको दाबी छ ।

१५ साउनमा नागरिक समाजको एक टोलीसँग तत्कालीन प्रहरी प्रमुख निलम्बित एसपी डिल्लीराज विष्टले नगरका सिसिटिभी क्यामेराबाट आन्दोलनको निगरानी भइरहेको बताएका थिए । विष्टले आन्दोलन अराजक हुन नदिन सिसिटिभी क्यामेराको उपयोग भइरहेको आशय व्यक्त गरेका थिए ।

एसपी विष्टको अभिव्यक्तिले क्यामेराले काम गरिरहेको पुष्टि भएको देखिन्छ । तर, निर्मलाको हत्या भएको समय र अन्य दिनको डाटा नै सुरक्षित नगर्नुले प्रहरीले नै डाटा नष्ट गरेको शंका गर्न सकिने नागरिक समाजका अगुवाको जिकिर छ ।

डाटा सुरक्षित गरिएको भए एसपी विष्टका छोरा किरण विष्टसँग ओपेरामा कोको थिए भन्ने थाहा पाउन सकिने थियो ।नगरपालिकाले निर्मला हत्याकाण्डको करिब दुई महिनाअगाडि बजार क्षेत्रमा जडान गरेका १६ मध्ये सात क्यामेरा साउन १७ गतेपछि काम नलाग्ने अवस्थामा रहेको बताएर षड्यन्त्रको तानावाना बुनेको देखिएको छ ।

बन्द भएका ती क्यामेरा होटल ओपेरा र निर्मलाको शव पाइएको स्थल जाने बाटोमा जडित थिए । निर्मलाको हत्या भएको एक साता पछिसम्म चलिरहेको होटल ओपेराअगाडि र केही अन्य महत्वपूर्ण स्थानका क्यामेरा अचानक अहिले बिग्रेका छन् ।

प्रहरीका अनुसार होटल ओपेराको गेटसहितको क्षेत्रलाई फोकस गरिएको क्यामेरा १७ साउनपछि बेकामे भएको छ । प्रहरीले १० र ११ साउनका दिन नगरका सिसिटिभी क्यामेराको फुटेज सुरक्षित नराख्नु, तर आन्दोलनको निगरानीका लागि उपयोग गरिनुले आशंका जन्माएको कञ्चनपुरका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् ।

नगरपालिकाले झन्डै २० लाख रुपैयाँको लागतमा बजार क्षेत्रमा १६ क्यामेरा जडान गरेको थियो । होटल ओपेराले घटना भएको दिन किरणसँगै अन्य दुई युवक र तीन युवती होटलमा आएको जानकारी प्रहरीलाई उपलब्ध गराएको छ ।

निर्मलाका आमा–बुबाले तीनमध्ये एक आफ्नी छोरी निर्मला भएको आशंका गरेका छन् । तर, किरणले निर्मलालाई आफूले नचिनेको बताएका छन् । नगरपालिकाको सिसिटिभी नेटवर्कको डाटा सुरक्षित राखेको भए अनुसन्धानमा उपयोगी हुने थियो ।

होटल ओपेरा–उल्टाखाम जाने सब्जीमण्डी र मदनचोक दुवैतर्फका क्यामेरा १७ साउनमा पनि नचलेका स्रोतको भनाइ छ । मेनरोडका क्यामेरा पनि बेकामे अवस्थामा छन् । अन्य क्षेत्रका क्यामेराले भने अहिले काम गरिरहेका छन् ।

१० साउनपछि एकैचोटि ती क्यामेरा कसरी बिग्रे, बलात्कारपछि हत्याको घटना हुँदा पनि प्रहरीले नगरको फुटेज किन सुरक्षित राखेन, सिआइबी डिएसपी अंगुर जिसी र उच्चस्तरीय छानबिन समितिको ध्यान नगरको सिसिटिभी नेटवर्कतर्फ किन गएन भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।

डिएसपी जिसीको टोली घटनाको चौथो दिन महेन्द्रनगर पुगेको थियो । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान गर्न गठित समितिले निलम्बित सबै प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्नेतको नेतृत्वमा बनाएको टोलीले निलम्बित प्रहरी अधिकारीहरू एसपी डिल्लीराज विष्ट, डिएसपी अंकुर जिसी, ज्ञानबहादुर सेठी लगायतको पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको हो । समितिका एक सदस्यका अनुसार घटनास्थलमा निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउदको पोलिग्राफ परीक्षण भइसकेको छ।

त्यसको रिजल्ट आउन बाँकी छ । यसअघि, भदौ अन्तिम साता एसपी विष्ट, उनका छोरा किरण, मेयरका भतिजा आयुषको पनि डिएनए परीक्षण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले स्थानीय ओपेरा होटलको सिसिटिभी फुटेज ‘री–स्टोर’ गर्नलाई केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

स्थानीयले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रका भतिज र एसपीका छोरा किरणमाथि निर्मला पन्त बलात्कार प्रकरणमा आशंका व्यक्त गरेपछि ओपेरा होटलको फुटेज रिकभर गर्न लागेको हो । प्रहरीका अनुसार घटना भएको दिन किरण त्यहाँ बसेको जानकारी आएपछि फुटेज रिकभर गर्न लागिएको हो ।

होटलको सिसिटिभी १५ दिनमा अटो डिलिट हुने सिस्टममा रहेको प्रहरीको भनाइ छ । समितिले अनुसन्धानमा संलग्न १९ जना प्रहरी अधिकारीहरूको सिमकार्ड जफत गरेको थियो । जसको अध्ययनपछि शुक्रबार साँझ फिर्ता गरिएको छ ।

घटनामा प्रहरीले गैरजिम्मेवारपूर्ण गतिविधि गर्नुका पछाडिको अनुसन्धान गरिरहेको टोलीले उनीहरूको मोबाइल अध्ययन गरेपछि फिर्ता गरेको हो । कञ्चनपुर प्रहरीका एक अधिकारीले निर्मलाको ‘स्पाइनल कर्ड’ भाँच्चिएर ज्यान गएको बताउँदै घटनामा ‘प्रोफेसनल’ व्यक्ति संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे ।

निर्मलाको हत्या भएको दिन घटनास्थल नजिकै रहेको सेनाको ब्यारेकबाट निस्किएका अधिकारीहरूमाथि पनि छानबिन भइरहेको छ । त्यसदिन ब्यारेकबाट निस्किएका अधिकारीहरूको कल डिटेल रेकर्ड (सिडिआर) हेर्ने काम भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया