पूर्ण निःशस्त्रीकरणमा किम सहमत


प्योङयाङ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँगको तेस्रो अन्तरकोरियाली बैठकमा व्यस्त उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना सम्पूर्ण मिसाइल कार्यक्रम अन्तर्राष्ट्रिय निरीक्षकहरूको उपस्थितिमा सधैँका लागि नष्ट गर्न सहमति जनाएका छन् ।

तर, पनि यसलाई सम्भव पार्न अमेरिकाले आफूहरूको पक्षमा त्यसै अनुरूपको प्रभावकारी कदम उठाउन पनि उत्तिकै जरुरी रहेको उनले बताएका छन् । बुधबारको पत्रकार सम्मेलनमा मुनसँगै उपस्थित किमले कोरियाली प्रायद्विपलाई ‘हतियारविहिन शान्ति भूमि’ ठहर गर्दै अब कहिल्यै आणविक खतरा नरहने वचन दिएका छन् ।

दुवै देशले अब यसै लक्ष्यलाई अघि बढाउन सकारात्मक कदम चाल्ने उल्लेख उनले गरेका छन् । पछिल्लो समय प्योङयाङ र वासिंटनबीचको आणविक वार्ता अवरुद्ध हुन पुगेपछि मुनले मध्यस्थताको भूमिका खेल्दै समस्या समाधान गर्ने वचन दिएका थिए ।

किमले यसअघिका दुईवटै अन्तर–कोरियाली वार्ता र ट्रम्पसँगको ऐतिहासिक सम्मेलनमा पनि कोरियाली प्रायद्विपलाई पूर्ण निःशस्त्रीकरण गर्ने प्रतिबद्धता जनाएका थिए । तर, वासिंगटनको लगातार दबाबका बीच उनीहरूले कुनै उल्लेखनीय कदम नउठाएपछि सिंगापुर बैठक अर्थहिन भएको भन्दै आलोचना गरिएको थियो ।

उता प्योङयाङले पनि अमेरिकासमक्ष कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गराउन र अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो पार्न माग राखिरहेको छ । उता ट्रम्पले पनि किमको यस्तो अभिव्यक्तिलाई उत्साहजनक बताएका छन् । उनले खुसी हुँदै ट्विटमा लेखेका छन् ।

‘किमले आणविक हतियार नष्ट गर्दा बाहिरी निरीक्षणका लागि समेत स्वीकृति दिइसकेका छन् र अन्तर्राष्ट्रिय विश्लेषकहरूकै उपस्थितिमा सधैँका लागि आणविक परीक्षण स्थल नष्ट गर्न सहमति जनाएका छन् ।’

उनले किमलाई ‘हिरो’ को नामसमेत दिएका छन् । यसका साथै किमले दक्षिण कोरियाको राजधानी सिओल भ्रमण गर्ने चाहनासमेत व्यक्त गरेका छन् । यसो गर्दैगर्दा दक्षिण कोरिया भ्रमण गर्ने उनी पहिलो उत्तर कोरियाली शासक हुनेछन् ।

मुनका अनुसार सो भ्रमण यसै वर्षको अन्त्यतिरलाई तय गरिनेछ । उता आगामी ०३२ को ओलम्पिक संयुक्त रूपमा आयोजना गर्न पनि उत्तर र दक्षिणले बोली लगाउने भएका छन् भने २०२० टोकियो ओलम्पिक्समा पनि एकसाथ सहभागी हुने बताइएको छ ।

त्यसैगरी, विश्वको सबैभन्दा बढी सेना तैनाथ गरिएको उत्तर दक्षिण सिमा क्षेत्रलाई खुकुलो पार्न पनि सम्झौता भएको छ । यससँगै अब दुवै देशले सीमामा खटाइएका भारी सैन्यबल फिर्ता बोलाउने बताइएको छ ।

प्रतिक्रिया