वनस्पति उद्यानमा वृक्षरोपण

चितवन । संविधान दिवसको अवसर पारेर भरतपुर महानगरपालिका–७ मा रहेको कृष्णपुर वनस्पति उद्यानमा वृक्षरोपण गरिएको छ । करिब साढे सात कठ्ठा क्षेत्रफलमा फैलिएको सो उद्यानमा पञ्चेश्वर टोल विकास संस्थाको आयोजना तथा वन प्राविधिक समाज चितवनको व्यवस्थापन सहयोगमा बुधबार वृक्षरोपण गरिएको हो ।

वृक्षरोपणका क्रममा अशोका, धुपी, जामुन लगायतका सय वटा विरूवा उद्यानमा रोपिएको पञ्चेश्वर टोल विकास संस्थाका अध्यक्ष भवराज भट्टले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिका–७ का अध्यक्ष राजेन्द्रमणि काप्mलेले सो उद्यानलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने बताए । केही समयअगाडि झाडीको रूपमा रहेको खाल्डोलाई नयाँ स्वरूपमा परिवर्तन गरिएको भए पनि यसलाई उचित सम्बद्र्धन गर्दै आकर्षणको स्थल बनाउनुपर्नेमा काप्mलेले जोड दिए ।

त्यस्तै, डिभिजन वन कार्यालय भरतपुरका प्रमुख वन अधिकृत केदारनाथ पौडेलले समुदायले उद्यानको संरक्षण गर्नुपर्ने बताए । वृक्षरोपण गरिएको स्थानमा नियमित सरसफाइ र उचित गोडमेल गर्नु आवश्यक रहेको पौडेलको भनाइ थियो । सो उद्यानको सरसफाइ र सम्बद्र्धनका लागि भन्दै वन प्राविधिक समाज चितवनले पञ्चेश्वर टोल विकास संस्थालाई २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

समाजका अध्यक्ष राजु क्षेत्रीले टोल विकास संस्थाका अध्यक्ष भवराज भट्टलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कृष्णपुर जग्गा विकास एकीकरण आयोजनाको ‘ए’ ब्लकमा ०७१ सालमा निर्माण गरिएको उद्यानलाई व्यवस्थित गर्न भन्दै हालसम्म वनस्पति विभागबाट साढे तीन लाख, जिल्ला वन कार्यालय चितवनबाट आठ लाख, भरतपुर महानगरपालिकाबाट पटकपटक गरी २० लाख रुपैयाँ गरी साढे ३१ लाख रुपैयाँ प्रदान भइसकेको छ । सो रकमबाट उद्यानलाई व्यवस्थित पार्ने काम भइरहेको टोल विकास संस्थाका अध्यक्ष भट्टले बताए ।

प्रतिक्रिया