प्रहरीकै अगाडि नेपालविरुद्ध प्रदर्शन

प्रहरीको खोजी सूचीमा रहेका सिके राउत प्रहरीकै अगाडि जनकपुरमा भाषण गरेर फर्किंदा पनि पक्राउ परेनन्, मधेस नेपाल होइन भन्ने नारासहित प्रदर्शन गर्दा पनि प्रहरी मुकदर्शक

जनकपुरधाम । मधेसलाई स्वतन्त्र बनाउने भन्दै अभियान चलाइरहेका सिके राउतले पुनः जनकपुरमा नेपालविरुद्ध प्रदर्शन गरेका छन् । संविधानको विरोध भन्दै जनकपुरको रामानन्द चोकमा आयोजित सभामा राउतले मधेस नेपाल होइन भन्ने ब्यानर र प्लेकार्ड प्रदर्शन गर्दै कार्यक्रम गरेका छन् ।

नेपाल प्रहरीको खोजीको सूचीमा रहेका राउत प्रहरीकै अगाडि १५ मिनेट भाषण गरेर जाँदा पनि प्रहरीले पक्राउ गर्न सकेन । संविधानविरोधी पम्प्लेटसहित प्रदर्शन गर्दा पनि प्रहरी मुकदर्शक भएको थियो । उनीहरूले ‘मधेस इज नट नेपाल’ नामक देशविरोधी प्लेकार्ड बोकेका थिए ।

संविधानको धारा ५ को उपधारा २ अनुसार राष्ट्र हित प्रतिकूलको आचरण र कार्य संघीय कानुनबमोजिम दण्डनीय हुनेछ भनी उल्लेख छ । तर, सो व्यवस्थाविरोधी नारा लगाउँदै राउत सहितका समूहले जनकपुरसहित विभिन्न भागमा प्रदर्शन गरे । प्रहरीले राउतलाई पक्राउ गर्न नसके पनि उनका कार्यकर्तालाई भने विभिन्न ठाउँमा पक्राउ गरेको छ ।

राउतले सम्बोधन गर्ने भनिएको स्थान रंगभूमि मैदान बाह्रबिघालाई सुरक्षाकर्मीले बिहानैदेखि आफ्नो नियन्त्रणमा लिँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिलेदेखि नै रामानन्द चोकमा भेला हुने भनिएकाले त्यहाँ पनि सुरक्षाकर्मीको बाक्लै उपस्थिति थियो ।

१ बजेतिर राउतका समर्थकहरूले रामानन्द चोकमा ‘सहिद’हरूको तस्बिर सहितको ब्यानर झुन्डयाएर श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न थाले । राउतको एजेन्डा रहेको माग सहितको नाराबाजी गर्दै उनीहरूले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषा पुर्यायो ।

प्रहरीले चारपटक गरेर रामानन्द चोकबाट राउतका कार्यकर्तालाई गिरफ्तार गरेको थियो । तर, दिउँसो २ बजेतिर राजमार्गको पिराडी चोकबाट रामानन्द चोकमा सयौँ कार्यकर्ताहरू मोटरसाइकलमा प्रदर्शन गर्दै आएपछि सुरक्षाकर्मी पछि हट्न बाध्य भयो ।

त्यसपछि त्यो जुलुस रामानन्द चोकदेखि अस्पताल रोड हुँदै जानकी मन्दिर, जनक चोक, राम चोक, मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुरा चोक हुँदै रामानन्द चोकमा आएर सभामा परिणत भयो । रामानन्द चोकमा सभा आयोजन गर्न करिब आधा घण्टा जति भिड जम्मा भएपछि अचानक राउत त्यहाँ आइपुगे ।

राउतलाई पक्राउ गर्न भनेर २ साता अगाडिदेखि प्रहरी परिचालन भएको थियो । तर, प्रहरीलाई नै झुक्याउँदै राउत एकाएक रामानन्द चोकमा देखा परे । प्रहरीले राउतलाई गिरफ्तार गर्न सकेन । राउतले सम्बोधनका क्रममा मधेसकेन्द्रित प्रमुख दुई दल संघीय फोरम र राजपाको आलोचना गरे ।

साथै संघीय सरकारको पनि आलोचना गरे । राउतले आफ्नो सम्बोधनका क्रममा प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवदेखि स्थानीय तहले बढाएको करको प्रसंग उठाए । करिब १५ मिनेट भाषण गरेका राउत लगत्तै फरार भएका थिए ।

प्रतिक्रिया