३८ क्विन्टल सुन काण्ड: जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत


विराटनगर । ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रहरीलाई उच्च अदालत विरानगरले धमाधम तारेखमा रिहा गर्न थालेको छ । निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई रिहा गरेको भोलिपल्टै उच्च अदालतले निलम्बित प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिज केसीलाई पनि साधारण तारेखमा रिहा गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेशकुमार सिंहको संयुक्त इजलासले निलिम्बित डिएसपी केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको हो । यसैगरी, मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ का सहयोगी रामकुमार तिवारीलाई पनि पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्चले आदेश गरेको छ ।

जिल्ला अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको थियो । तर, उच्च अदालतले त्यसलाई उल्टाउँदै साधारण तारेखमा रिहा गर्न भनेको छ । जिल्ला अदालतको आदेश रीतपूर्वक नदेखिएको भन्दै केसीलाई साधारण तारेखमा राखी मुद्दाको थप कारबाही प्रक्रिया अघि बढाउन आदेश भएको उच्च अदालतका रजिस्ट्रार नारयण रेग्मीले जानकारी दिए ।

मुलुकी ऐन अदालती बन्दोबस्तको ४७ नम्बरबमोजिम साधारण तारेखमा छाड्न आदेश दिइएको हो । मुख्य अभियुक्त ‘गोरे’ को सूचना पछ्याउँदै कार्यक्षेत्र नाघेर तत्कालीन महाशाखामा कार्यरत केसीको नेतृत्वमा टोली मोरङ गएको थियो ।

यसअघि, उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पुर्पक्षका जिल्ला अदालत मोरङले जेल चलान गरेका निलम्बित एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको थियो ।

उच्च अदालत विराटनगरले प्रतिवादी तिवारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्दैै नगद, बैंक ग्यारेन्टी वा जेथा धरौटी बुझाउन भनेको छ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाएकाहरू जिल्लाको आदेशविरुद्ध अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत गएका थिए ।

आइतबार उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २३ वटा पेसी तोकिएका थिए । जसमध्ये, एकजनाको हेर्न नमिल्ने, एकजनाको हेर्न नभ्याइएको र १९ जनाको स्थगित पेसी भएको थियो । दुई वटा पेसीमा भने उच्च अदालतले सुनुवाइ गर्दै जिल्लाको आदेश उल्टाएको छ ।

लोहनी रिहा
पुर्पक्षका लागि थुनामा रहेका एसएसपी लोहनी आइतबार क्षेत्रीय कारागार झुम्काबाट साधारण तारेखमा रिहा भएका छन् । उच्च अदालतको आदेशअनुसार रिहाका लागि पत्र आइतबार आएपछि उनलाई रिहा गरिएको कारागार प्रमुख गणेश अधिकारीले जानकारी दिए ।

उच्च अदालत विराटनगरका न्यायधीशद्वय नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको संयुक्त इजलासले गत शुक्रबार जिल्ला अदालतको निर्णय उल्टाउँदै लोहनीलाई साधारण तारेखमा छाडेर मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको थियो । लोहनीलाई उच्चस्तरीय छानबिन समितिले १६ वैशाखमा पक्राउ गरेको थियो ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले ८ जेठमा लोहनीसहित ३१ जना अभियुक्तलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश ठहर नहुने देखिएकाले लोहनीलाई सादा तारेखमा छाडेर मुद्दा कारबाही अघि बढाउन आदेश दिएको थियो । उच्च अदालतले उनीसँगै पुर्पक्ष थुनामा रहेका डिएसपी सञ्जयबहादुर राउतसहित १० जनाको हकमा जिल्ला अदालतको निर्णयलाई सदर गरेको छ ।

प्रतिक्रिया