कुशवाहालाई जन्मकैद

वीरगञ्ज । उच्च अदालत जनकपुरको वीरगञ्जस्थित इजलासले तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहालाई जन्मकैदको फैसला सुनाएको छ । तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलमको हत्यामा उनको संलग्नता रहेको भन्दै जिल्ला अदालत बाराले १० वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको फैसलाबमोजिम १५ वैशाख ०७३ देखि जेल सजाय काटिरहेका प्यासीलाई उच्च अदालतले मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (४) बमोजिम फैसला सुनाएको हो । सो महलमा जन्मकैदको व्यवस्था रहेको छ ।

आलमकी पत्नी नेजमाले दिएको पुनरावेदनमा मुख्य न्यायाधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई उक्त फैसला सुनाएको इजलास अधिकृत श्रीदीप वाग्लेले जानकारी दिए । यसअघि, जिल्ला अदालत बाराले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ बमोजिम फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै आलम–पत्नी नेजमाले ५ कात्तिक ०७३ मा पुनरावेदन गरेकी थिइन् । पुनरावेदनको करिब दुई वर्षपछि उच्च अदालतले फैसला गरेको हो । आलम हत्यामै जिल्ला अदालत बाराबाट जन्मकैदको फैसला पाएका मनोज भनिने रवि पाण्डेलाई अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ बमोजिम कसुरदार ठहर गरेको छ । इजलास अधिकृत वाग्लेका अनुसार पाण्डेको हकमा तत्काल कसुर ठहर भएको र अर्को इजलासबाट सजाय फैसला हुनेछ ।

आलम हत्याको घटनामा प्रयोग भएको भारतीय मोटरसाइकल पाण्डेले चलाएका थिए । उनी जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएपछि वीरगञ्ज कारागारमा जेल सजाय काटिरहेका छन् । घटनामा संलग्न अन्य तीनजनाको हकमा भने उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको छ । घटनामा सूचना आदानप्रदान गर्न संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने विपिन यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ बमोजिम १० वर्षको फैसला सुनाइएको छ ।

संविधानसभाको दोस्रो निर्वाचनको समयमा बारा–६ बाट सभासद् पदमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट १८ असोज ०७० मा आलममाथि परवानीपुरको चावासोती दाल मिलअगाडि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते आलमको २४ असोजमा २४ काठमाडौंमा निधन भएको थियो ।

एमालेनिकट मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका आलम हत्या घटनाको अनुसन्धान गर्न काठमाडौंबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो । लामो समयको अनुसन्धानबाट घटना प्यासीकै योजनामा भएको प्रमाण भेटिएपछि प्रहरीले उनलाई सिमरास्थित एक होटलबाट पक्राउ गरेको थियो ।

प्यासी तत्कालीन एमालेका पूर्व समानुपातिक सभासद् हुन् । उम्मेदवारका आकांक्षी प्यासीले टिकट नपाएपछि आलम हत्याको योजना बुनेको प्रहरीले बताएको थियो । आलम हत्यापछि एमालेले उनकी पत्नी नेजमालाई उम्मेदवार बनाएको थियो । आलम–पत्नी नेजमाले फराकिलो मतान्तरसहित चुनाव जितेकी थिइन् । आलमका तीन छोरा छन् ।

प्रतिक्रिया