डिएनए नै अन्तिम सहारा

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको अभियोग लगाइएका आरोपी रिहा भएपछि प्रहरी थप सकसमा परेको छ ।

सुरुमा प्रहरीबाटै नै मुख्य आरोपी भनिएका दिलीपसहित बम दिदीबहिनी पनि छुटेपछि प्रहरी अब डिएनएको सहाराबाट अपराधी पत्ता लगाउने तयारीमा जुटेको छ ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले मुख्य आरोपी भनिएका दिलीपसिंह विष्टको डिएनए निर्मलाको योनीमा भेटिएको डिएनएसँग नमिलेको प्रतिवेदन दिएपछि उनलाई मंगलबार प्रहरीले जमानतमा रिहा गरेको हो ।

साथै, सार्वजनिक अपराधको अभियोग लगाएर डिएनए टेस्टका लागि रगत पठाइएका चक्रदेव बडूको डिएनए पनि नमिलेको स्रोतले जानकारी दिएको छ । दिलीपसँगै बम दिदीबहिनी पनि मंगलबार नै थुनामुक्त भइसकेका छन् ।

प्रहरीले शव बरामद गरेसँगै भएका प्रमाणहरू पनि नष्ट गरेको आरोप स्थानीयले सुरुबाटै लगाउँदै आएका छन् । जसका कारण, घटना घटेको डेढ महिना पुगिसक्दा पनि प्रहरी अपराधीको छेउमा समेत पुग्न सकेको छैन । अन्य प्रमाण नपुगे पनि अब डिएनए नै मुख्य अपराधीसम्म पुग्ने अन्तिम सहारा हुन सक्ने विश्वास प्रहरीले लिएको छ ।

एसपी डिल्लीराज विष्ट र सिआइबी डिएसपी अंगुर जिसीका कारण बल्झिएको अनुसन्धान डिएनए परीक्षणपछि सोझिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीले नै कतिपय प्रमाण मेटाएको अवस्थामा निर्मलाको योनीमा रहेको भजाइनल स्वाब (योनीबाट संकलन गरिने एक किसिमको तरल पदार्थ जसमा बलात्कारीको वीर्य रहन्छ) सुरक्षित रहेको पाइएको छ । प्रयोगशालाले सो स्वाबबाट डिएनएको सिक्वेन्स तयार पार्न पनि सफलता प्राप्त गरेको छ ।

बलात्कारीको डिएनए सिक्वेन्सको पहिचान भइसकेपछि हत्याराको पहिचान पनि नजिकिएको प्रहरीको दाबी छ । अबको अनुसन्धान शंकास्पद व्यक्तिको डिएनएलाई प्रयोगशालाले तयार पारेको सिक्वेन्ससँग भिडाउनमा केन्द्रीत हुने उनले नाम नबताउने शर्तमा भनेका छन् ।

यसका लागि प्रहरीको अनुसन्धान टोलीले शंकास्पद व्यक्तिको रगतको नमुना संकलन गर्ने काम सुरु गर्ने तयारी गरेको छ । स्थानीयले बताएका नाम, प्रहरी र घटनाको छानबिन गर्न गठित टोलीले दिएका व्यक्तिका नमुना संकलन गर्ने तयारीमा प्रहरी छ ।

यसैबीच, कञ्चनपुरस्थित दबाब संघर्ष समितिले हरितालिका तीजलाई कालोदिनका रूपमा मनाएको छ । ‘हरेक वर्ष आउने पर्वलाई रंगिन र रमाइलो नभएर कालो पहिरन लगाएर मनाएका छौँ,’ नागरिक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले भनिन्, ‘निर्मलालाई न्याय दिनका लागि हाम्रो आन्दोलन फेरि सुरु भएको छ ।’

महिला दिदीबहिनीले बुधबार कालो पहिरनमा मदन चोकमा एकघण्टा धर्ना दिए भने बजार क्षेत्रमा प्रदर्शनसमेत गरे । निर्मला पन्तका हत्यारालाई सार्वजनिक र संविधानमै बलात्कारीलाई फाँसीको सजाय दिन संविधान संशोधन गर्नुपर्ने माग उनीहरूको छ ।

प्रतिक्रिया