किमद्वारा ट्रम्पलाई वार्ताको आह्वान

प्योङयाङ । उत्तर कोरियाली नेता किम जङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ शिखर वार्ताको आह्वान गरेका छन् । अमेरिकी सदन ह्वाइट हाउसका अनुसार किमले शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्पलाई सद्भावपूर्णक पत्र पठाएका छन् ।

यसैवर्षको जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्तापछि उत्तरले पहिलोपटक अर्को शिखर वार्ताको आह्वान गरेको हो । यसअघिको वार्तामा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणका कार्यक्रमलाई निःशस्त्रीकरणगर्ने सम्झौता भएको थियो । उत्तर कोरियाको पछिल्लो प्रयास स्वागतयोग्य भएको ह्वाइट हाउसकी प्रवक्ता सरा साण्डर्सले बताएकी छन् ।

उनले भनिन्, ‘उत्तरले पठाएको सद्भावपूर्ण पत्र सकरात्मक र स्वागत योग्य छ ।’ उत्तरले पत्र पठाएर क्षेप्यास्त्र निःशस्त्रीकरण गर्ने वाचालाई निरन्तरता दिएको साण्डर्सको भनाइ छ । उनले अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहिरहेको अवस्थामा उत्तरले वार्ताका लागि पत्र पठाएको बताइन् ।

उत्तर कोरियाले केही दिनअघि आफ्नो ७०औँ वर्षगाँठको अवसरमा विशाल सैन्य परेड गराउँदा, त्यहाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रलाई प्रदर्शन गरेको थिएन । त्यस्ता क्षेप्यास्त्र अमेरिकासम्म मार हान्ने क्षमताको रहेको यसअघि उत्तर कोरियाले दाबी गर्दै आएको थियो ।

क्षेप्यास्त्रहरू परेडमा सामेल नगराएर उत्तरले अमेरिकी सहमतिलाई सम्मान गर्दै क्षेप्यास्त्र निःशस्त्रीकरणको प्रक्रिया सुरु गरेको विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया