आधारभूत मूल्यमै विकास बैंकको सेयर

काठमाडौं । धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लोपटक बजार उतारचढावको अवस्थामा छ ।

बजार तलमाथि हुँदा कारोबार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ । केही कम्पनी तथा वित्तीय संस्थाको सेयरबाहेक अधिकांश संस्थाको सेयरमा उच्च गिरावट आएको छ । यस्तै, मेसोमा रहेको छ विकास बैंक समूह । नेपाल स्टक एक्सचेन्जमा कुल ३३ वटा विकास बैंकको सेयर सूचीकृत छन् । एकाध विकास बैंकको बाहेक धेरैको सेयर आधारभूत मूल्य अर्थात् १ सयको हाराहारीमा मात्रै छ ।

आधारभूत मूल्यभन्दा माथि नजाँदा अधिकांश लगानीकर्तालाई निराश बनाएको छ । लामो समयदेखि सेयर कारोबारमा संलग्नलाई पछिल्लो बजार मूल्यले निराश बनाएको छ भने नयाँ लगानीकर्तालाई यसले अवसर प्रदान गरेको छ ।

बजार तल्लो विन्दुमा झर्दा नयाँ लगानीकर्तालाई सेयर कारोबारमा प्रवेश गर्न सहज हुन्छ । स्टकमा सूचीकृत एक्सेल विकास बैंकको सेयर प्रतिकित्ता ३ सय १३ मा कारोबार भएको छ । गत वर्षको भदौ अन्तिम साता सो विकास बैंकको सेयर ४ सय ७१ मा कारोबार भएको थियो ।

यस्तै, काबेली विकास बैंकको प्रतिकित्ता २ सय ९८, कैलाश विकास बैंकको २ सय २९, मितेरी डेभलपमेन्ट बैंकको २ सय ७५ र मुक्तिनाथ विकास बैंकको प्रतिकित्ता ३ सय ९२ मा कारोबार भएको छ । गत वर्ष मुक्तिनाथको सेयर ५ सय ८६ मा कारोबार भएको थियो ।

यस्तै, सहयोगी विकास बैंकको सेयर प्रतिकित्ता २ सय १५ मा कारोबार भइरहेको छ । गत वर्ष प्रतिकित्ता ३ सय ४६ मा कारोबार भएको सो बैंकको सेयरमा समेत घटबढ भएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता २ सय ८५ मा कारोबार भएको छ । सो बैंकको गत वर्ष ३ सय ८७ मा कारोबार भएको थियो ।

एकाध बैंकबाहेक अधिकांश विकास बैंकको सेयर ओरालो लाग्दा लगानीकर्तालाई नराम्ररी प्रभावित बनाएको छ । स्टकमा सूचीकृत सबै विकास बैंकको तथ्यांक हेर्ने हो भने अवस्था एकदमै खराब देखिन्छ । अघिल्ला वर्षमा लगानीकर्तालाई राम्रो प्रतिफल दिएका विकास बैंकको सेयर बजारको चक्रका आधारमा ओरालो लागेर न्यून विन्दुमा कायम भएका छन् ।

स्टकका अनुसार भार्गव विकास बैंकको सेयर १ सय २६ मा कारोबार भएको छ । गतवर्ष पनि सो बैंकको अवस्था राम्रो थिएन । गत वर्षको भदौ अन्तिम साता सो बैंकको सेयर २ सय ६५ मा खरिद बिक्री भएको थियो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १ सय १ मा कारोबार भएको छ । गत वर्ष १ सय ४७ मा सीमित थियो ।

यस्तै, विकास बैंकमा राम्रो मानिएको देव विकास बैैंकको सेयरसमेत १ सय २९ मा सीमित भएको छ । गत वर्ष सो बैंकको सेयर २ सय ४९ मा कारोबार भएको थियो । गण्डकी विकास बैंकको १ सय ९५, गरिमा विकास बैंक १ सय ९२, ग्रिन डेभलपमेन्ट बैंक १ सय २६, हाम्रो विकास बैंक १ सय ३३, ज्योति विकास बैंक १ सय ४४, कामना सेवा विकास बैंक १ सय ४५, कञ्चन डेभलपमेन्ट बैंक १ सय ९७, कन्काई विकास बैंक १ सय २६, लुम्बिनी विकास बैंक १ सय ५३ तथा कर्णाली डेभलपमेन्ट बैंक १ सय २ मा कारोबार भइरहेको छ ।

स्टकका अनुसार महालक्ष्मी विकास बैंक १ सय ९१, मिसन डेभलपमेन्ट १ सय ७८, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक १ सय २२, एनआइडिसी डेभलपमेन्ट बैंक १ सय ५०, ओम डेभलपमेन्ट बैंक १ सय ९७, पूर्णिमा विकास बैंक १ सय ६८ रूपैयाँको कारोबार भएको छ । त्यस्तै, सहयोगी विकास बैंक २ सय १५, सप्तकोसी डेभलपमेन्ट बैंक १ सय १२, सांग्रिला डेभलपमेन्ट बैंक १ सय ४८, सिन्धु विकास बैंक १ सय १९ र वेस्टर्न डेभलपमेन्ट बैंकको २ सय ३१ मा कारोबार हुँदा तिनाउ विकास बैंकको भने पछिल्लो दिनमा कारोबार भएको स्टकबाट जानकारी पाइँदैन ।

विकास बैंक एसोसिएसनका अध्यक्ष गोविन्द ढकालले विकास बैंकको कारोबार तथा वासलात एकाधको बाहेक धेरैको राम्रो रहेको बताए । सेयर बजारमा उतारचढाव आउँदा त्यसबाट अरू क्षेत्रजस्तै विकास बैंक समूहसमेत प्रभावित भएको छ । बजार बढाउने वा घटाउने विषय आफूहरूको नभएको जानकारी दिँदै ढकालले भने ‘ग्रामीण क्षेत्रमा हामीले वित्तीय सेवा दिएका छौँ ।

सेयर बजार कहिले बढ्छ कहिले घट्छ यो सामान्य प्रक्रिया हो । हामी आत्तिएका छैनौँ ।’ सेयर बजारका जानकारका अनुसार नयाँ लगानीकर्तालाई भने लगानीको सुवर्ण अवसर प्राप्त भएको छ । सेयर विश्लेषक प्रकाश तिवारीले दीर्घकालीन फाइदाका लागि भने बजार घटेको वेला सेयर खरिद गर्न सहज हुने बताए ।

प्रतिक्रिया