पप्पुलार्इ सरकारकै संरक्षण

रौतहट । दुई ठूला नदी बागमती र बकैया नदीमा निर्मित पुलहरू अलपत्र हुँदा स्थानीय भारततर्फको सडक प्रयोग गर्न बाध्य छन् ।

यी पुल निर्माणको जिम्मा पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले पाएको थियो । विभिन्न ठाउँका निर्माणाधीन पुल पप्पुले अलपत्र छोडिदिएको छ । बकैया र बागमती नदीमा पाँच वटा पुल अलपत्र छन् ।

पुलहरूको निर्माण कार्य समयमा नहुँदा रौतहट र सर्लाहीका जनता जोखिमपूर्ण डुंगाको भरमा ओहोरदोहोर गर्छन् । दुबै जिल्लाका बासिन्दा भारत पुगेर नदी वारपार गर्न बाध्य छन् । भारतको बैरगनियास्थित बागमती नदीमा पुल भएकोले नेपालका नागरिकलाई त्यहाँ पुग्नुपर्छ । स्थानीयलाई तीन किमी बाटोका लागि ४० किलोमिटर टाढा पुग्न बाध्यता छ । पुल समयमै नबन्दा जनताले ठूलो सास्ती बेहोर्दे आएका छन् ।

स्थानीय मोटरसाइकल, साइकल, डुंगामा राखेर यात्रा गर्नुपर्ने अवस्था छ । यसले स्थानीयको समय र पैसा बर्बाद बनाएको छ । चार पांग्रे सवारी साधन घुमाउरो बाटोबाट एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गराउन घन्टौँ लाग्ने अवस्था छ । सदरमुकाम गौरको टिकुलिया घाटस्थित बकैया नदीको पुल, दुर्गा भगवती गाउँपालिकाको बडहर्वा र पिप्रा घाटको पुल, गढिमाई नगरपालिकाको सिंगारमन र समनपुर घाटका पाँच वटा पुल निर्माणधीन छन् । यी सबै पुल पप्पु कन्ट्रक्सनले अलपत्र छोडेको हो ।

गौर नगरपालिकाको टिकुलिया घाटको पुल निर्माणको लागि २६ असार ०७१ मा पप्पु कन्स्ट्रक्सनले सम्झौता गरेको थियो । २ सय ४२ मिटर लामो र सात वटा स्परले बनेको पुल २५ असार ०७४ सम्म तयारी हुनुपर्ने थियो । हालसम्म पिलर मात्र राखेर बेवारिसे छोडिएको छ ।

१४ करोड १३ लाख २७ हजार १ सय ५० मा निर्माणको ठेक्का लिएका पप्पुलाई सम्झौताअनुसार काम किन नगरेको भन्दै सम्बन्धित निकायले पत्रचार गरे पनि ठेकेदारले अटेर गर्दे आएका छन् । यी सबै पुलको जिम्मेवार पाएका व्यक्ति पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियार हुन् ।

गौर नगरपालिकाबाट क्षेत्र नं. २ मा पर्ने बन्जरहा, बलुवा, औरैया, बैरियासहित बारा, पर्सा जिल्ला पुग्न दैनिक ओहोरदोहोर गर्ने हजारौँ जनताको यात्रा नै कष्टकर र जोखिमपूर्ण छ । दुर्गा भगवती गाउँपालिकाको बडहर्वाघाटको पुल समयमै नबन्दा सर्लाही र रौतहटको जनताले उस्तै सास्ती बेहोरेका छन् । ३१ जेठ ०६७ मा निर्माण सम्झौता भएर ३० जेठ ०७० सम्म बनाइसक्नुपर्ने बडहर्वाका पुल अझै अधुरै छ ।

बागमतीले धार परिवर्तन गरेको बहाना गर्दै हुलाकी सडक योजनाले बन्द गरेको पुलको काम सुरु हुन सकेको छैन । पुल नबन्दा सर्लाही रौतहटका दुई दर्जन गाउँका जनताहरू दुःख कष्ट झेलिरहेका छन् । स्थानीय डुंगाको सहाराले आवतजावत तथा खेतबारीमा भनेको समयमा जान सक्दैनन् । आफ्नो बारीमै जान रौतहटबाट सर्लाही जान भारतको बाटोको प्रयोग गर्न बाध्य छन् ।

पुल निर्माण रोकिएको वर्षौं बितिसक्दा कम्पनीले काम सुचारु नगर्दा जनता आक्रोशित छन् । ठेकेदारले अबको केही दिनमै पुनः काम सुरु हुन्छ भन्ने आश्वासन मात्र दिँदै आएको छ । पप्पु कन्ट्रक्सनले ६ महिना बितिसक्दा पनि काम सुरु नगरेको गाउँपालिकाका अध्यक्ष अरुण साहले बताए । ‘फोन गर्दा ठेकेदारले जहिले पनि झुट बोलेको हुन्छ,’ उनले भने, ‘ठेकेदारको यो ठग प्रवृत्ति हो ।’ ठेकेदारले आपूmहरूलाई सधैँ झुक्याएको अर्का समाजसेवी मुकेश साहले आक्रोश व्यक्त गरे ।

बडहर्वा घाटभन्दा पाँच किमी उत्तर पिपरा बजार नजिक बागमतीमै पुल बन्न थालेको ६ वर्ष भयो । तर, पुल निर्माणको गति निकै सुस्त रहेको स्थानीय वडाध्यक्ष डिके झा बताउँछन् । नदीमा पानीको बहाव बढेपछि हाल काम रोकिएको छ । झाले पुलको काम गुणस्तरहीन भइरहेको तर सम्बन्धित निकायले कुनै चासो नदिएको उनले जानकारी गराए ।

पिपरा बजारभन्दा करिब आठ किमी उत्तर गढीमाई नगरपालिका–७ सिंगारमन घाटमा निर्माणाधीन पुलको काम पनि अलपत्र छ । समयमै पुल बनाइसक्न आफुले खबरदारी गर्दा ठेकेदारले वास्ता नगरेको नगरप्रमुख श्याम यादवले बताए । नगरपालिकाको समनपुरघाटस्थित निर्माण भइरहेको पुल पनि अधुरै छ ।

सम्झौताअनुसार पुल बनाएर सक्नुपर्ने म्याद चैतमै हो । तर, पुनः म्याद थपेर ०७५ फागुनसम्म पु¥याइएको निर्माण कम्पनीका सुपरभाइजर हरि उपाध्यायले बताए । ती सबै पुल निर्माण कम्पनीको बदमासी र सरकारी पक्षको ढिलासुस्ती, निगरानी नहुनुले अलपत्रमा परेको नेकपाका युवा नेता शम्भु शाह बताउँछन् ।

रौतहटबाट पश्चिमी क्षेत्रमा खेतमा काम गर्न बारा, पर्सा जाने स्थानीयलाई बकैया नदीको कटहरिया, फतुहा महेशपुर घाटमा बनेको पुलको भर छ । अन्य घाटमा डुंगाबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । टिकुलिया, बन्जरहा, बैरिया, इनरवारीसहित रौतहटको दर्जनौँ घाटमा डुंगा मात्रै चल्छ । ती सबै घाटबाट दैनिक हजारौँ यात्रु आवतजावत गर्न डुंगाकै सहारा लिने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कर्मैयास्थित बागमती नदीमा एउटा मात्र पुल छ । कर्मैयाको पुलदेखि भारतको सिमानासम्म करिब ४० किमी लामो बागमती नदीमा पुल नहुँदा रौतहट, सर्लाही दुबै जिल्लावासीलाई ठूलो सास्ती छ ।

पुल नहुँदा पटकपटक डुंगा दुर्घटना

१० भदौ ०६९ मा सर्लाहीको मानपुरबाट रौतहटको गम्हरिया पर्साको लक्ष्मीपुर आउँदै गरेको डुंगा दुर्घटना भएको थियो । डुंगा बागमतीमा डुब्दा स्थानीय रजिया खातुन, निसाद खातुन, अफसरा खातुन र प्रतिमा कुमारी पटेलको ज्यान गएको थियो । दुर्घटनामा बेपत्ता भएको ५ जनाको अहिलेसम्म अतोपत्तो छैन ।

६ भदौ ०७१ मा सर्लाहीको बैरियाबाट पिपरा रजवाडातर्फ आउने क्रममा डुंगामा सवार ६० जना नदीमा डुबेका थिए । ती मध्ये ५८ जनालाई प्रशासन र स्थानीयले उद्धार गरे । दुर्घटनामा सुखलीदेवी पण्डित र चिकनीदेवी दासको ज्यान गयो । गौर नगरपालिकाको लाल बकैयास्थित टिकुलिया घाटमा टिकुलियातर्फ आउँदै गरेको डुंगा ०६२ सालमा दुर्घटना हुँदा स्थानीय १३ जनाको ज्यान गयो ।

दर्जनौँ घाइते भएका थिए । दुर्घटनापश्चात् पुल निर्माणको काम सुरु भएको थियो । ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले काम समयमै नसक्दा यही ९ भदौमा अर्को दुर्घटना भयो । स्थानीय रुना पटेल, उष्मा पटेल, कान्ती देवी, शान्ति देवी, ओमप्रकाश चनौ र इन्दु देवीसहित ६ जनाले ज्यान गुमाए । दुई दर्जन डुंगा सवार यात्रुहरू घाइते भएका थिए ।

निर्माणाधीन पुलको पिलरमा ठोकिएर डुंगा दुर्घटना भएको थियो । स्थानीयले जोखिमपूर्ण तथा कष्टदायी डुंगा यात्रा गर्दा अकालमा ज्यान गुमाउँदै आएका छन् । पुल निर्माण नगरी ठग्दै आएको ठेकेदारलाई कारबाही गर्नुपर्ने स्थानीयको माग छ । प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले लापरबाही गर्ने ठेकेदारलाई कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया