एसिया कपमा हङकङ

काठमाडौं । हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । छनोट प्रतियोगिताको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई २ विकेटले पराजित गर्दै हङकङले उपाधिसँगै एसिया कपमा प्रवेश पाएको हो ।

मलेसियामा भएको वर्षाका कारण २४ ओभरमा छोट्टाइएको फाइनल खेलमा युएईले ९ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । उसका लागि असफिक अहमदले सर्वाधिक ७९ रन बनाएका थिए ।

हङकङका लागि एजिज खानले २८ रन दिएर पाँच विकेट लिए । वर्षाले पुनः अवरुद्ध बनाएपछि हङकङले डर्कवर्थ लुइस नियमअन्तर्गत २४ ओभरमा १७९ रनको विजय लक्ष्य पायो । हङकङले खेल सकिन ३ बल बाँकी छँदै २ विकेटको रोमाञ्चक जित निकाल्यो । हङकङका लागि निजाकत खानले ३८, क्रिस्टोफर कार्टरले ३३ रन बनाए ।

यसैबीच, प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आज स्वदेश फर्किंदै छ । टोली दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कनेछन् ।

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोलीले चौथो स्थानमै चित्त बुझायो । राउन्ड रोबिन लिगमा पाँच खेल खेलेको नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो भने ओमन, युएई र हङकङसँग पराजित भएको थियो ।

प्रतिक्रिया