काबुल आक्रमणमा दुई पत्रकार मारिए

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुइवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।

तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो आक्रमणबाट क्षतविक्षत कुस्ती क्लबमा त्यहाँ अभ्यासरत कुस्ती खेलाडीका झोला, कपडा र म्याट रगतमा लतपतिएको विभत्स दृश्य देखिन्थ्यो । मारिएका खेलाडीमा १० वर्षका बालबालिका पनि रहेका थिए ।

क्लबमा सुरुमा गोली चलाउँदै एक आत्मघाती व्यक्ति क्लबभित्र प्रवेश गरेर आफैँलाई बमले उडाएका थिए । त्यसको एक घण्टापछि विस्फोटक पदार्थले भरिएको कारलाई क्लबको नजिक ल्याएर विस्फोट गराइएको थियो ।

पहिलो आक्रमणमा मारिएका, घाइतेको उद्धार र समाचार संकलनमा पुगेका उद्धारकर्मी तथा पत्रकारसमेत आक्रमणको चपेटामा परेका थिए । दोस्रो आक्रमणबाट अफगानिस्तानको सबैभन्दा ठूलो निजी प्रसारण संस्था टोलो न्युजमा कार्यरत दुईजना पत्रकारको मृत्यु भएको थियो । अरू चारजना सञ्चारकर्मी घाइते भएका थिए ।

‘जताततै मृत्यु भएका र घाइते भएका देखिन्छन्,’ १४ वर्षका कुस्ती खेलाडी सइद रोहुल्लाले बताए । अली सिनाले क्लब बाहिर गोलीको आवाज सुन्नेवित्तिकै खेलाडी क्लबको बीच भागमा भेला भएको जानकारी दिए । अलीले आत्मघाती व्यक्ति क्लबभित्र छिरेको देखेकै थिएनन् ।

यो आक्रमणका लागि इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । अफगान स्वास्थ्य तथा गृहमन्त्रालयले यस आक्रमणबाट कम्तीमा २६ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको जनाएको छ ।

माइवान्ड क्लबका व्यवस्थापक पहलवान शिरले मृत्यु हुने व्यक्तिको संख्या अरू बढ्न सक्ने बताए । आक्रमणका समयमा क्लबभित्र कम्तीमा १ सय ५० व्यक्ति अभ्यासरत रहेको उनले बताए । उनले भने, ‘कतिपय मानिसले आफ्ना दिवंगत व्यक्तिलाई घर लगिसके । म अझै पनि हराइरहेका विद्यार्थी र प्रशिक्षकको खोजी गरिरहेको छु ।’

शिते समुदायमाथि अगस्ट १५ मा पनि डरलाग्दो आक्रमण गरिएको थियो । शैक्षिक केन्द्रमा भएको त्यस आक्रमणमा एक दर्जनभन्दा बढी विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया