चिस्यान केन्द्रले आर्थिकस्तर उकास्दै

पाँचथर । फाल्गुनन्द गाउँपालिका–५ स्थित घुर्बिसे पन्चमी बजारमा चिस्यान केन्द्र खुलेपछि स्थानीयको आर्थिक उन्नति हुन थालेको छ । केन्द्र खुलेपछि दूधजन्य उत्पादनको सुरक्षा र भण्डारणमा समस्या हराएको स्थानीय युद्धबहादुर बोहोराले बताए ।

पाँचवटा कृषि उपजको बजारीकरणसहितका क्षेत्रमा काम गरिरहेको उन्नति समावेशी वृद्धि परियोजना र जनजागरण अभियान कृषि सहकारी संस्थाको साझेदारीमा इलाम र पाँचथरमा सो चिस्यान केन्द्र खोलिएकोे हो ।

केन्द्रले इलाम फाकफोकथुम–१ र २ साथै पाँचथर फाल्गुनन्द–४ र ५ मा जम्मा १५ वटा संकलन केन्द्रहरू रहेका छन । चिस्यान केन्द्रबाट दैनिक संकलन हुने दूधलाई केन्द्रमा सुरक्षित गरिन थालिएको छ ।

यस अघिको दुई घण्टाको दूरीमा रहेको राँके बजारसम्म बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ । स्थानीयलाई दूध बिग्रिने डर र समस्या पनि नरहेको बताइन्छ । दैनिक एक हजार लिटर दूध संकलन गर्ने अपेक्षा रहेको यस केन्द्रबाट पाँच सय लिटर संकलित दूध देउराली दूध चिस्यान केन्द्रमार्फत विराटनगर दुग्ध विकास संस्थानमा पठाउने सम्झौता भएको संस्थाका व्यवस्थापक सूर्यप्रकाश चेम्जोङले जनाएका छन् ।

सम्झौतासँगै दूध बिक्रि नभएर पशुपालनबाटै पलायन भइरहेका कृषकका लागि राहत मिलेको छ । उनले भने, ‘यसबाट हुने फाइदाका बारेमा भने स्थानीयलाई जानकारी गराउन जरुरी छ ।’

संकलन गरिएको दूधबाट दहि, घ्यू, पनिर र छुर्र्पी उत्पादन गरिने भएको छ । त्यहाँको दूधजन्य उत्पादनलाई बिक्री वितरणमासमेत परियोजनाले सहयोग गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधको फ्याट र ल्याक्टोको आधारमा उनीहरूले उचित मूल्य पाउने भएका छन् ।

दूध उत्पादन हुने पकेट क्षेत्रलाई अझै व्यवस्थित गर्दै कृषकको आयस्रोत वृद्धि गर्ने उद्देश्यले कृषि विशेषज्ञबाट प्रभावकारी तालिमको व्यवस्था गर्ने सहकारीको तयारी छ ।

चिस्यान केन्द्र स्थापनापूर्व दूधको मापदण्ड तथा प्राविधिक जानकारीको लागि देउराली चिस्यान केन्द्रका इन्चार्ज रामलगन यादवले दूध मापनसहित कृषकलाई स्वस्थ दूध उत्पादनको तरिकाबारे प्रशिक्षण दिएका थिए ।

यस संस्थाले दुवै जिल्लाका पशुपालक कृषकलाई ७५ थान च्याप कटर, विभिन्न प्रकारका घाँसका विरुवा वितरण पनि गरेको छ । संस्थाले गोठ सुधार, घाँस तथा घाँसेबाली र पशुपालनसम्बन्धी तालिमसमेत दिँदै आएको छ ।

प्रतिक्रिया