सामुद्रिक आँधीले ९ को मृत्यु, सयौँ वेपत्ता

टोकियो । जापानमा २५ वर्षयताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा नौ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।

पश्चिमी क्षेत्रमा पुगेको जेबी नामक समुद्री आँधीले भारी वर्षा र प्रतिघण्टा १ सय ७२ किलोमिटर वेगको हावाहुरी निम्त्याएको छ । ओसाका बेस्थित एउटा पुलमा आँधीले एउटा ट्यांकर उडाइदिएको छ भने क्योटोका केही क्षेत्रमा रेल्वे स्टेसनका छानाहरू खसेका छन् ।

समुद्रमा ठूला छाल तथा बाढी र पहिरोको चेतावनी जारी गर्दै अधिकारीहरूले प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान भनेका छन् ।

आँधीका कारण दशौँ हजार मानिस बिजुलीविना बस्न बाध्य भएका छन् । स्थानीय समयअनुसार मंगलबार मध्याह्नतिर उक्त आँधी सिकोकु टापु पुगेको थियो । यसपछि त्यो जापानको ठूलोमध्येको होन्सु टापुमा फैलिएको अधिकारीहरूले बताएका छन् ।

उत्तरतर्फ बढ्दै जाँदा जेबी आँधीको शक्ति कम हुँदै जाने अनुमान गरिएको छ । सयौँ संख्यामा हवाई उडानहरूका साथै रेल्वे तथा पानीजहाज सेवा स्थगित गरिएको छ ।

ओसाकास्थित समुद्री खाडी क्षेत्रमा बनाइएको मानव निर्मित टापुमा अवस्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बाढी पसेको छ ।

ओसाकानजिकै रहेको लोकप्रिय मनोरञ्जन पार्क ‘युनिभर्सल स्टुडियोज जापान’ बन्द गरिएको छ । एउटा आपत्कालीन बैठक डाक्दै प्रधानमन्त्री सिन्जो आबेले मानिसहरूलाई आवश्यक तयारी गर्न र चाँडै सुरक्षित स्थानमा जानेसहितका जीवन जोगाउने कदम चाल्न’ आग्रह गरेका छन् ।

प्रतिक्रिया