याे पनि कानुनकै शासन हाे ?

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा २२ साउनमा दक्षिणकालीबाट पक्राउ परे ।

त्यसको केही दिनमै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश जारी गर्यो । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले दुईपटकसम्म विश्वकर्मालाई रिहा गर्न सरकारलाई आदेश दियो । तर, उनी रिहा हुँदै, पक्राउ पर्दै गए ।

बुधबार उनी भोजपुर अदालतमा बयानका लागि लगिए । करिब महिना दिनसम्म उनलाई रिहा गर्ने, फेरि अर्को मुद्दामा पक्राउ गर्ने क्रम चलिरह्यो । यो क्रम मंगलबार भोजपुर जिल्ला अदालतको कठघरामा पुर्याउँदासम्म जारी छ । व्यवस्थापिका र न्यायपालिकाका बीचमा उभिएका विश्वकर्माको मुद्दा कहिले टुगिंने अझै पत्तो छैन ।

विश्वकर्मा प्रकरण कसरी चल्यो ?

विभिन्न व्यापारीसँग चर्को चन्दा असुलेको आरोपमा विश्वकर्मासहितको समूहलाई प्रहरीले पहिलोपटक काठमाडाैंको दक्षिणकालीबाट पक्राउ गरेको थियो । २२ साउनमा उनीसँगै उनका सहयोगी हरीषचन्द्र आचार्य र गाडीचालक मीनबहादुर श्रेष्ठ पनि पक्राउ परेका थिए ।

भोलिपल्ट म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगियो । उनी पक्राउ परेपछि प्रहरीले उनको कपनस्थित डेरामा छापा मारेको थियो । यसअघि, नागढुंगाबाट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की र कृष्ण धमला पक्राउ परेका थिए । उनीहरूसहित पोलिटब्युरो सदस्यहरू पदम राई र ओमप्रकाश पुन पनि पक्राउ परिसकेका थिए ।

उनलाई गृह प्रशासनले गैरकानुनी रूपमा थुनामा राखेको ठहर गर्दै निवेदकको मागअनुसार मुक्त गर्नू भनी अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्यो ।

उनीहरू दुवैलाई सर्वोच्चका न्यायाधीशहरू डम्बरबहादुर शाही र शारदाप्रसाद घिमिरेको इजलासले रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको रिहा गर्ने आदेशलगत्तै अर्को मुद्दा लगाएर उनलाई नुवाकोट पुर्यारइयो । हिरासतबाट रिहा भएलगत्तै उनीसहित पोलिटब्युरो सदस्यहरू मोहन कार्की र कृष्ण धमलालाई सर्वोच्चबाटै पक्राउ गरेर नुवाकोट लगिएको थियो ।

नुवाकोट जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गर्यो । स्काभेटर जलाएको अभियोगमा ७ भदौमा प्रहरी नियन्त्रणमा लिई ८ भदौमा उनलाई नुवाकोट लगिएको थियो ।

विश्वकर्मालाई चौथोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरियो । प्रहरीले हरेकपटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन\तीन दिन मात्र म्याद थप गर्यो । बेलकोटगढी नपा–९ देवीस्थानस्थित सडकमा राखिएको बा२क ४८९३ र बा१क ६८८८ नम्बरको स्काभेटरमा गत ७ साउनको राती आगजनी गरी क्षति पुर्याएर फरार रहेको आरोप उनीमाथि लाग्यो ।

सोही अभियोगमा उनी पक्राउ परे । यो मुद्दामा विश्वकर्मासहित १५ जनाविरुद्ध नुवाकोट अदालतमा उजुरी दर्ता भएको थियो । उनीहरूका विरुद्ध धमले–निरञ्जना–नलगाउँ–दुईपीपल सडक निर्माणको काम गरिरहेको नागार्जुन कन्सट्रक्सनका ठेकेदार रामबाबु जिसीले उजुरी दर्ता गराएका थिए ।

व्यवस्थापिका र न्यायापालिका बीचमा उभिएका विश्वकर्माको मुद्दा कहिले टुगिंने अझै पत्तो छैन ।

स्काभेटर जलाएको आरोपमा चन्द, विश्वकर्मा, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर, प्रकाश ओली, उमा भुलेज, चन्द्रबहादुर चन्द, मोहनबहादुर कार्की, मोहनलाल चन्द, अमर झाँक्री, उदय चलाउने, सविता तामाङ, सागर तिमल्सिना, विन्तोष सिलवाल र कृष्ण धमलामाथि मुद्दा परेको थियो । चन्दा असुलीको आरोप लगाउँदै गिरफ्तार गरिएका विश्वकर्माको मुद्दाको कारण नुवाकोटमा पुग्दा बदलियो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गर्यो । अदालतको आदेशमा विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहबरमा छाड्न आदेश भयो । यसैबीच, सर्वोच्चले बन्दी प्रत्यक्षीकरण सम्बन्धमा सरकारले अटेरीपन दर्शाएको भनी सचेत गराइसकेको छ ।

उनलाई अर्को मुद्दा लगाएर मंगलबार भोजपुर लगिएको छ । जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले बताए ।

विश्वकर्मालाई बुधबार बिहान ११ बजे बयानका लागि जिल्ला प्रहरी कार्यालयबाट अदालतमा लगिएको हो । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राती सबा ११ बजे भोजपुर ल्याइएको थियो । अहिले उनीमाथि बयान चलिरहेको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ मुद्दाअन्तर्गत गत २८ कात्तिकमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तत्कालीन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका–६ कोटको गुम्बामा सकेटबम विष्फोट गराइएको थियो ।

विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका थिए । राईसहित पार्टी कार्यकर्ता चढेको बा१५ज ५६०८ नम्बरको ल्यान्डरोवर जिप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । विष्फोटपछि असई देवकोटाले २१ राउन्ड जवाफी फायरिङसमेत गरेका थिए ।

भोजपुरबाट निर्वाचित राई हाल प्रदेश–१ का मुख्यमन्त्री छन् । यसअघि, ‘विप्लव’ समूहले विष्फोट गराएको प्रहरीले बताउँदै आएको थियो । यही घटनालाई लिएर विश्वकर्मासहित विप्लवका नेता–कार्यकर्ताविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।

यसअघि, उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो । उनीसहित उच्च तहका नेताहरू पदमबहादुर राई ‘विकास’, देवान राई ‘दीपेश’, किरण राई, चन्द्र बुढाथोकी लगायतका विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो ।

बुधबारै भोजपुर अदालतले ६० हजार धरौटीमा रिहा गरे लगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो । बिश्वकर्मालाई बुधबार नै दाङ लगिएको छ ।

यो संगै उनि चार पटक पक्राउ परिसकेका छन् । चारै पटक उनलाई अदालतले रिहा गर्न आदेश दिइसकेको छ । यसअघि सर्वोच्च आदतले तीन पटक बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै रिहाको आदेश दिए पनि प्रहरीले फेरि पक्राउ गर्ने गरेको थियो ।

प्रतिक्रिया