नाइजेरियामा मृतकको सख्या ४८ पुग्यो

कानो । नाइजेरियाको सीमा क्षेत्रमा रहेको सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सख्या ४८ पुगेको सोमबार नाजेरियाली सेनाले जनाएको छ । सेनाले यसभन्दा पहिले आइतबार दिएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको जनाएको थियो ।

‘सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकका थप १८ शवलाई जंगलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको सख्या ४८ पुगेको । एक सेनाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीलाई बताएका छन् ।

सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलियो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासि सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो संख्यामा सैनिक अधिकारी मारिएका हुन् ।

सयौँको संख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासि आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।

दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भए पनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ । सेनाले दिएको जानकारीमा विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएको छैन ।

प्रतिक्रिया