पप्पु कन्स्ट्रक्सनको अर्को ठगी

महोत्तरी । महोत्तरीमा पप्पु कन्स्ट्रक्सनले तीन ठूला काम अलपत्र रूपमा छाडेको छ ।

काम अलपत्र छाड्दा स्थानीयले दैनिक सास्ती खेप्दै आउनुपरेको छ । पप्पु कन्स्ट्रक्सनले डिभिजन सडक कार्यालय जनकपुरसँग सम्झौता गरेको तीन ठूला काम चार वर्ष बितिसक्दा समेत गरेको छैन ।

महोत्तरीमा रामजानकी पथ, लोहरपट्टीदेखि पश्चिम रातु खोलामा पर्ने पुल र जलेश्वर सदरमुकामस्थित खाद्य संस्थानदेखि धिरापुर जाने सडक निर्माण कार्य पप्पु कन्स्ट्रक्सनको लापरबाहीका कारण अलपत्र परेको हो ।

डिभिजन सडक कार्यालय जनकपुरले ०७१ असार ३१ मा पप्पु कन्स्ट्रक्सन पोखरिया पर्सासँग महोत्तरीको लोहारपट्टी–रौजा बीचमा पर्ने रातुखोलामा पुल निर्माण गर्न १४ करोड ६४ लाख ७४ हजार ६ सय ४७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

उक्त पुल निर्माण योजना ०७३ पुस ३१ सम्ममा सम्पन्न हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । तर, ठेक्काको म्याद समाप्त भएको दुई वर्षभन्दा बढी भइसक्दा समेत निर्माण अलपत्र अवस्थामा छ । पुलमा हालसम्म २३ प्रतिशत मात्रै काम भएको डिभिजन सडक कार्यालय जनकपुरले जनाएको छ ।

निर्माण कार्य अलपत्र हुनाले खोलामा बाढी आउँदा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन् । सामान्य वर्षाको वेलासमेत आवतजावत ठप्प हुने गरेको छ । बिरामी उपचारका लागि लैजानसमेत अप्ठेरो हुने गरेको स्थानीयहरू बताउँछन् ।

प्रमुख धार्मिक सडक भनेर चिनिने रामजानकी पथसमेत तीन वर्षदेखि अलपत्र छ । उक्त सडक निर्माण नसकिँदै भत्किन थालेको स्थानीयले बताउँदै आएका छन् । ‘रामजानकी पथ’ नाम दिइएको जनकपुर–मटिहानी १५ किलोमिटर सडक ०७२ असार १३ मा स्तरोन्नति र कालोपत्रे गर्न जिम्मा लिएको पप्पु कन्स्ट्रक्सनको काम अलपत्र नै छ ।

कामको प्रगति ५४ प्रतिशत रहेको डिभिजन सडक कार्यालय जनकपुरका सूचना अधिकृत मदन मोहनकुमार सिंहले जानकारी दिए । ९ करोड ४७ लाख रुपैयाँमा सडक निर्माण कालोपत्रे गर्न जिम्मा पाएका कम्पनीले हालसम्म ६ किमी सडक मात्र कालोपत्रे गरेका छन् । ६ किमी सडकसमेत अहिले जीर्ण अवस्थामा छ ।

त्यस्तै, जलेश्वर सदरमुकामस्थित खाद्य संस्थानदेखि धिरापुर जाने सडक पनि अलपत्र छ । ०७२ असार ३१ मा ३ करोड ४९ लाख ६८ हजारमा ठेक्का पाएको उक्त सडकको काम ५९ प्रतिशत मात्रै भएको छ । सम्झौतामा ०७३ असार ३१ मा उक्त सडक सम्झौता सकिने उल्लेख छ ।

पप्पुले विभिन्न बहाना बनाएर दुई पटकसम्म म्याद थपेको छ । म्याद थपअनुसार ०७५ असार मसान्तमा सकिनुपर्ने उल्लेख भए पनि कामको प्रगति शून्य रहेको डिभिजन सडक कार्यालय जनकपुरले जनाएको छ । कम मूल्यमा मिलेमतोमा ठेक्का सम्झौता गर्ने र समयमा काम नगर्ने प्रवृत्ति बढेको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पप्पुसहित काम नगर्ने २१ वटा निर्माण तथा ठेकेदार कम्पनीको नाम केही महिनाअघि गृह मन्त्रालयमा पठाएको छ । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण बर्सेनि स्थानीयले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया