अर्बुद रोगको उपचार सुरु

महोत्तरी । महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेसनले अर्बुद रोगको उपचार गर्न थालेको छ ।

अमेरिकास्थित विनयतारा फाउन्डेसन, विनयतारा क्यान्सर ट्रस्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा सुरु गरेको अस्पतालले केही वर्षमै सुविधासम्पन्न अर्बुद रोग उपचार केन्द्र पनि निर्माण गर्ने लक्ष्य लिएको छ ।

पूर्वी नेपालमा अर्बुद रोगको उपचार नभएका कारण उक्त अस्पतालबाट सो सेवा सुरुआत गरिएको ट्रस्टका अध्यक्ष डा. राकेश साहले बताए । अब क्यान्सरपीडितलाई काठमाडौं वा भरतपुर धाउनुपर्ने अवस्था अन्त्य हुने उल्लेख गर्दै उनले सामुदायिक अर्बुद अस्पतालको परिकल्पना गरेर सेवाको सुरुआत गरिएको हो भने ।

हाल भाडाको घरबाट ओपिडी सेवा थालिए पनि केही वर्षमै सुविधासम्पन्न अस्पताल बनाउने योजना अघि सारिएको र यसका लागि नगरपालिकाले ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । भवन निर्माण र अर्बुद रोगको उपचारका लागि आवश्यक उपकरणको जिम्मा फाउन्डेसन र ट्रस्टले लिएका छन् ।

चार वर्षमा पूर्वाधार निर्माण र उपकरण राख्ने काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसअघि भने अर्बुदको ओपिडी सञ्चालनमा रहनेछ । फाउन्डेसनका अनुसार सेन्टरका लागि ७० करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ ।

प्रतिक्रिया