दामोदर कुण्ड : पकृति र संस्कृतिको दोभान

दामोदर कुण्डको यात्रा गर्दा बाटोमा पर्ने सबैभन्दा अग्लो धुरी बस्याक ला (५,४५० मि. दामोदर ला) नाघेपछि यात्राको सबैभन्दा कठिन भाग पार गरेका थियौँ । भन्ज्याङबाट करिब पाँच सय मिटर झर्दा सजिलो गोरेटो, ढल्के पखेरो, भिर, कतै चट्टाने पहरो र कतै चुच्चे ढुंगाका रासको बाटो भएर झर्यौँ । भुइँमा टुक्रुक्क बसेका झार र बुट्यान देखा परे ।

बलौटे फुस्रा पाखा, पखेरा र हिमालको तल्लो भाग नपत्याउँदो रूपमा हरियो देखिन थाल्यो । भृकुटी हिमालको आधार शिविरबाट दामोदर कुण्ड नजिक भएर आएको देच्याङ खोला जुन कालीगण्डकीको एक प्रमुख शाखा पनि हो, तरेर उत्तर छिरेपछि फराकिलो धार्मिक कुण्डको उपत्यकामा प्रवेश गर्यौं ।

वरपरका थुम्का, पाटन, र उपत्यका हरिया झार, थरिथरिका फुल र पवित्र कुशले भरिभराउ देखिए । त्यो दृश्यले कुण्डको लक्ष भेदन भएको संकेत गरेको थियो । चारैतिर अग्ला हिमचुचुरा, काला अग्ला पहाड, हरिया थुम्का र पाटन भएको सानो, साँघुरो तर अति नै रोमाञ्चक उपत्यका थियो, त्यो । सुख्खा, बलौटे, फुस्रो, रुखो भौगोलिक अवस्थिति पातलो मन्द हरियालीको क्षेत्रमा प्रवेश मात्र गर्दा हृदयमा खुसियालीले कुतकुती लगाएको थियो । हामी देवताहरूको वासस्थान हिमाली क्षेत्रको देवलोकमा प्रवेश गरेका थियौँ । पुराणमा लेखेअनुसार विष्णुको दरबार पूण्य प्राप्त गर्ने ढोकाभित्र छिरेका थियौँ ।

गण्डकीको मुख्य शिर देच्याङ खोलो तरेपछि पानी पर्न थाल्यो । क्षणभरमै भुल्के सेतो बादल आएर उपत्यका ढपक्क ढाक्यो । मानिस देखेर नाउर उकालो बुर्कुसी मारेझैँ बादल पनि उकालो लाग्यो । त्यो क्रम जारी नै रह्यो । लेककी पार्वती मैयाले आँखा झिम्क्याएझैँ मौसमले शान देखायो । सेतो मलमलको पछ्यौरी ओढेकी पुराणकी उर्वशी सुन्दरीजस्तै अति नै सुन्दर भृकुटी हिमालले मुसुक्क मुस्काएर स्वागत गरी अन्तरध्यान भइन् । हाम्रो हृदय नाच्यो । मोक्ष प्राप्त भएझँै हामी धन्य भयौँ ।

पाटनमा पुगेपछि त्यहाँको भौगोलिक रूपमा परिवर्तन देखियो । देच्याङ खोलाभन्दा पारीको पाखामा चरिरहेका नाउरको बथानले हामीलाई फुुक्क हेरे भने दुलाभित्र बसेका मारमोतले दुई खुट्टामा उभिएर दुई हातले नमस्ते गरे । पाटन र थुम्का भरी सेता, राता, गुलाबी, हरिया विभिन्न थरिका पूmल र पवित्र वmुशका गाँजले बाटोभरि मुस्कान छरेर हाम्रो थकाइ मारिदिए । खोलाको कलकल आवाज, चराको चिरबिर र नाउरको उफ्राइको आवाज सुन्दा वरपरका पहाडले पञ्चै बाजा बजाएको जस्तो लाग्यो । धार्मिक महत्व बोकेको प्रकृतिको अति सुन्दर ठाउँमा हाम्रा पाइला परेका थिए ।

पाटन पार गरेपछि अलि फराकिलो उपत्यकामा प्रवेश गर्यौं । सुरुमा सानो पोखरी देखियो त्यो रक्तकुण्ड रहेछ । बाटोको तल्लो भागमा गोलो प्रेमाकारमा रहेकोे अर्को लोभलाग्दो तामा कुण्ड देखा पर्यो । तामा कुण्डपछि हामी दामोदरकुण्डमा रहेको टिनको धर्मशालाको कुटीमा पुग्यौँ । सिमसिम पानी परिरहको थियो । उपत्यकाको हावा, फुलका वासना, सामान्य उठेका थुम्का देख्दा हर्षित हँुदै हाम्रो मन पनि सेतो कुहिरोसँग लुकामारी खेल्न थाल्यो । हामी फुकित भयौँ ।

जोमसोम–कोरला राजमार्ग खुलेपछि काठमाडौंबाट हिँडेको तेस्रो दिनमा मोटरबाटोबाट पोखरा, बेनी, जोमसोम हुँदै मुस्ताङको चराङ पुगिन्छ । चराङबाट पैदल यात्रागरी यारा हँुदै दामोदर कुण्ड पुग्न तीन दिन लाग्छ । यसरी ६ दिनमा दामोदर कुण्डको एकतर्फी यात्रा तय गर्न सकिन्छ । पोखरालाई केन्द्र मान्दा १२ दिनको योजना गरी यात्रा गर्दा राम्रो हुन्छ ।

चैतदेखि असोजसम्म यहाँ पुग्न हिउँले छेक्दैन भने अन्य महिनामा यो क्षेत्र हिउँले पुरिएको हुन्छ । समुद्र सतहदेखि पाँच हजार मिटरभन्दा अग्ला दुई भन्ज्याङ पार गर्नुपर्ने, बाटोमा होटलको व्यवस्था नभएको, उकालो, ओरालो र भिरको बाटो हिँड्नुपर्ने, उचाइमा लाग्ने विमार लाग्नसक्ने भएकाले खाना, औषधि र कपडाको व्यवस्था गरी यात्रा सुरु गर्नुपर्छ । उत्तर, पूर्व र दक्षिण तीन दिशामा रहेका बाक्ला हिम चुचुराले घेरिएको भएता पनि दामोदरकुण्ड भएको स्थल भने पाटन र उपत्यका हो ।

यहाँ कुशसहित अन्य घाँस, थरिथरिका फुलहरू र जीवनदायिनी जडीबुटी पाइन्छन् । वर्षाको समयमा यारा, घाराका किसानले भेडाच्याङ्ग्रा चराउन आफ्नो गोठ कुण्डसम्म ल्याउने गर्छन् । पहिले, तिब्बततिरबाट पनि यहाँ चौरी र याक चराउन ल्याइन्थ्यो ।

दामोदर कुण्डको पूर्वमा दामोदर हिमालका चुचुराहरू र मनाङको फु गाउँ पर्दछ । पश्चिममा यारा, चराङ र ल्होमान्थाङ पर्दछ । यसको उत्तरमा दामोदर हिमाल, दामोदर डाँडा र तिब्बतको पठार रहेको छ भने दक्षिणमा दामोदर हिमालका ४० भन्दा बढी हिमचुचुरा, मुक्तिनाथ हिमाल र अन्नपूर्ण हिमाल पर्दछन् । समुद्र सतहदेखि ४ हजार ८ सय ९० मिटरको उचाइमा हिमनदी र दामोदर हिमाल अन्तर्गतका थुप्रै हिमचुचुराले घेरिएको पाटनसहितको उपत्यमामा अवस्थित दामोदरकुण्ड गोलाकारको छ ।

सुन्दरता र धार्मिक महत्वको तुलनामा आकारमा भने सानो भएको भान हुन्छ । यसको अनुमानित लम्बाइ २ सय ५० देखि तीन सय फिट र चौडाइ सयदेखि १ सय ५० फिटसम्म फैलिएको छ । यसको गहिराइ भने अनुमान गर्न सकिएन । वरपरका अन्य तालहेर्दा कुण्ड धेरै गहिरो छैन । पूर्वीवmुना सबैभन्दा फराकिलो हँुदै पश्चिम पुग्दा कुण्ड साँघुरिएको छ ।

तीन तिरबाट ससाना थुम्काले घेरिएको तलाउ पश्चिममा खुला रहेको छ । दामोदर कुण्डमा गोलो आकारको एक चक्र देख्न सकिन्छ । फोटोमा नै उतार्न सकिने चक्र आकारको त्यो पहेँलो चक्रलाई विष्णुको सुदर्शन चक्र भनेर पनि विश्वास गरिन्छ ।

कुण्डबाट निस्केको पानीले सुन र चाँदी नामका अन्य दुई कुण्ड निर्माण गरी पश्चिम–दक्षिणतिर बग्दछ । धेच्याङ खोलाको नामबाट बग्ने यो खोला काली गण्डकीको तीन प्रमुख शिरमध्ये सबैभन्दा महत्वपूर्ण शिर हो । यो शाखा नाम्जा दोभानभन्दा माथि मुस्ताङबाट आएको काली गण्डकीको उत्तरी शाखामा मिसिन्छ ।

दामोदरकुण्ड अन्नपूर्ण, धवलागिरि, मुक्तिनाथ हिम शृंखलाभन्दा धेरै उत्तर–पूर्वमा रहेको छ । यसलाई हिमालभित्रको हिमाली क्षेत्र भन्न सकिन्छ । कुण्डको पूर्वमा ६ हजार मिटरभन्दा उचाइमा रहेका दामोदर हिमालका भृवmुटी (६,३६१ मि), वmुम्लुङ, कारसाङ, सोनाम र मनाङका नार र फू क्षेत्रका हिमाल पर्दछन् ।

त्यसरी नै कुण्डको उत्तर र दक्षिण दुवैतिर दामोदर हिमाल र पश्चिममा दामोदर पहाड, यारा, चराङ रहेका छन् । करिब ६ हजार मिटरभन्दा अग्ला हिम चुचुराको खातको बीचमा दामोदरकुण्ड विराजमान छ । नेपालको सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको र धेरै चुचुरा भएको हिमाल दामोदर हिमाल हो । दामोदर कुण्ड ती हिमालको बीचमा रहेको छ । त्यसैले, धार्मिकजस्तै यसको भौगोलिक महत्व पनि उत्तिकै छ ।

दामोदरकुण्डमा पुग्नुभन्दा पहिले कुण्डसँगै सुन र चाँदी नाम गरेका दुई साना कुण्ड छन् । दामोदरकुण्ड सिरानमा रहेको छ । सुन कुण्ड आकारमा सानो भए पनि कुण्डमुनि देखिने सुनौलो पहेँलो रङको लेउले सुनको तलाउजस्तै देखिन्छ भने चम्किलो हिमालको छायाँ कुण्डमा पर्दा चाँदी कुण्ड साँच्चिकै चाँदीमा रूपान्तरण भएको भान हुन्छ ।

यसै सुन्दरतालाई बिहानीपख ३६ सुनौला कमलका पूmल देखिने भनी वराह पुराणमा चर्चा गरिएको छ । कुण्डको पश्चिम गरामा ससाना कुण्ड छन् । तिनलाई धार्मिक महत्व राख्ने १ सय ८ कुण्ड हुन्भन्दा फरक पर्दैन । पश्चिम कुनामा तीर्थ यात्रीका लागि कुटी रहेको छ । प्रकृतिको सुन्दरता अपरम्पार नै हुन्छ । त्यो सुन्दरताको वर्णन वराह पुराणमा पनि गरिएको छ । कुण्डको वरपर १२ वर्ष चोखो रहने पवित्र कुश र अन्य पूmलहरूको बगैँचा नै रहेको छ । यहाँ रहेका सबै पहाड शालिग्राम पहाड हुन् । यो क्षेत्र नै शालिग्रामको खानी भएको क्षेत्र हो ।
पाटन भएकाले यो क्षेत्रमा हिउँचितुवा, नाउर, मारमोत पाइन्छ । चरामा हिमाली काग, हिमाली ठूलो परेवा, गिद्ध, ठूलो च्याखुरा र अन्य

ससाना चराहरू पाइन्छन् । प्राकृतिक रूपमा यो जति सुन्दर र अलौकिक छ । धार्मिक महत्व र विश्वासका हिसाबले पनि वmुण्ड उत्तिकै महत्वपूर्ण छ । कैलाश पर्वत, मानसरोवर, गोसाइँवmुण्ड, पाँच पोखरीजस्तै दामोदरकुण्ड हिन्दु, बोन र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । यसको पूर्वी ढिस्कोमा बौद्ध स्तूपा रहेको छ भने पश्चिम ढिस्कोमा विष्णुको मन्दिर छ ।

मुक्तिक्षेत्रको शिर दामोदर हिमाल र दामोदर कुण्ड हो । मुक्तिक्षेत्र र दामोदरकुण्डको महत्वबारे सबैजसो वैदिक ग्रन्थमा उल्लेख गरिएको छ । दामोदर हिमाल, दामोदरकुण्ड, मुक्तिनाथ हिमाल, मुक्तिक्षेत्र, शालिग्राम, हिमनदी, काली गण्डकी, शाखा नदी, फुह र फुस्त्य मुनिको तपस्या स्थल, गलेश्वर, रुरुक्षेत्र र यसको महत्वबारे संक्षिप्त चर्चा वराह पुराण, शिवपुराण, महागरुड पुराण र स्कन्दपुराणको हिमवत् खण्डमा भएको बारे नलराज शास्त्री नेपालले चार तीर्थराज प्रयागमा उल्लेख गरेका छन् ।

धार्मिक ग्रन्थमा उल्लेख भएबमोजिम मुक्तिनाथ, शालिग्राम, गण्डकी नदी र दामोदर कुण्ड सबै भगवान् विष्णुका अति प्रिय क्षेत्र हुन् । जगत्को हित गर्न विष्णुले मुक्तिक्षेत्र (शालिग्राम, दामोदर क्षेत्र) मा कठोर तपस्या गरेको कुरा शिवले ब्रह्मालगायत सबै देवतालाई भने । त्यसवेलादेखि त्यो क्षेत्रमा शिव, ब्रह्मा, विष्णु, देवता, ऋषि, यक्ष वास बस्न थालेको कुरा वराह पुराणमा छ ।

प्राकृतिक सुन्दरता आँखाले होइन, त्यो त आँखाबन्द गरेर हृदयले महसुस गर्ने कुरा हो । त्यसैले, पुर्खाले हिमाली क्षेत्रलाई देवताको वासस्थान भनेर वैदिक ग्रन्थमा उल्लेख गरे । यो क्षेत्र हिमालै हिमालको बीच अति नै सुन्दर, शान्त र मनमोहक भएकाले देवगण यो क्षेत्रमा बसेका हुन् । पौराणिक कालमा अनैतिक काम गर्ने, परस्त्री गमन गर्ने, गणका मानिसलाई कष्ट दिने, जे मन लाग्यो त्यही गर्ने गरेकाले कुवेरका पुत्र नल र कँुँवर रुख भएर बस्नुपरेको थियो ।

बाल्यकालमा कृष्णले यशोदालाई सताएको हुनाले उनले कृष्णलाई दाम्लोले कम्मरमा बाँधी अर्को टुप्पोले ओखलमा बाँधेकी थिइन् । कृष्णले ओखलसहित वनतिर जाँदा दुई खरीको रुखमा ओखल अड्कियो । उनले बल गर्दा दुवै रुख ढले त्यसबाट नल र कुँवर मानव रूपमा देखा परे । कृष्णले उनीहरूलाई पापबाट मुक्ति पाउन हिमालय पर्वतको शिरमा रहेको दामोदर कुण्डमा गएर स्नान गर्न सुझाव दिए ।

नल र कुँवरले हिमाल पार गरी दामोदर कुण्डमा गएर स्नान गरी तपस्या गरे । त्यो कुण्डमा स्नान गरेपछि उनीहरूले दिव्य शरीर प्राप्त गरी सुख–भोग गरे भन्ने कथा वराह पुराणमा छ । आममानिसमा दामोदरकुण्डमा स्नान गर्दा हतियार, जंगली जनावर र रोगले छुन सक्दैन, विष्णुको प्रत्यक्ष दर्शन मिल्छ, पाप नाश हुन्छ र अर्को जन्ममा सुख प्राप्त हुन्छ, भन्ने परम्परा विद्यमान छ ।

कैलाश र मानसरोवरमा तीर्थ गर्दा वा स्नान गर्दा मृत्यु भएमा शिवलोकमा बास पाइने भन्ने विश्वास भएझँै दामोदर हिमाल र दामोदर कुण्डमा मृत्यु भएमा वैकुण्ठधाम पुगिन्छ भन्ने ठूलो विश्वास मानिसमा रहेको छ । त्यस प्रकारको विश्वास भएर नै टाढाटाढाबाट त्यो विकट क्षेत्रमा तीर्थयात्री जनै पूर्णिमा र अन्य समयमा पुगेको कुरा हामीसँगै दामोदर कुण्डको कुटीमा बस्ने यात्रीले भनेका थिए । त्यो विश्वास जीवन र मृत्यु जत्तिकै सत्य भएर मानिसको आत्मामा बसेको छ ।

कैलाश र मानसरोवरलाई हिन्दू धर्मावलम्बीले भगवान् शिव र हिमालयकी पुत्री पार्वतीको बासस्थान मानेझँै दामोदर हिमाल, मुक्तिनाथ हिमाल, दामोदरकुण्ड, कालीगण्डकी, मुक्तिक्षेत्र, कागबेनी र शालिग्रामलाई भगवान् विष्णुको बासस्थानको रूपमा लिइन्छ । कथामा, गण्डकी देवी नदीको तपस्याअनुसार विष्णु गण्डकीको पुत्र शालिग्राम भएर बसेका हुन् ।

त्यसैले ती क्षेत्रमा पाइने विभिन्न आकार र रंगका शालिग्राम विष्णुका रूप हुन् । दामोदरकुण्ड, मुक्तिनाथ र कालिगण्डकीको शिरदेखि अन्त देवघाटसम्मलाई विष्णुको क्षेत्र मानिन्छ । त्यसमध्ये दामोदरकुण्ड, गण्डकी नदीको शिर, शालिग्राम पहाडको खानी भएकाले भगवान् विष्णु विचरण गर्ने मूल थलो हो ।

दामोदर कुण्डमा जनै पूर्णिमाको दिन सयौँ तीर्थालुको सहभागितामा ठूलो मेला लाग्छ । त्यसवेला हिन्दू, बोन र बौद्ध सबै धर्मावलम्बी आआफ्नो धार्मिक विश्वास र सांस्कृतिक परम्पराअनुसार स्नान गर्ने, पूजा गर्ने, ध्वजा र लुङदार टाँग्ने र परिक्रमा गरी बडो धुमधामका साथ नाचगानसमेत गरी चाड मनाउँछन् ।

पूण्य प्राप्त गर्न अति कष्टका साथ तीर्थालु यहाँ पुग्दछन् र विष्णुको प्रत्यक्ष दर्शन गरेको अनुभव बटुलेर फर्कन्छन् । कसैले मृत्यु पनि वरण गर्दछन् र स्वर्गमा वास बसेको भनी सहयात्रीले कथा सुनाउँछन् । सुन्दरता, शालीनता र पवित्रताभित्र स्वर्ग लुकेको हुन्छ । स्वर्ग सजिलै प्राप्त हुँदैन । दामोदरकुण्ड पुग्न साधु मन, बलियो अठोट, सन्यासी त्याग र मुस्ताङ्गी किसानको जस्तो मिहिनेत चाहिन्छ ।

त्यहाँ पुगेपछि स्वर्ग पुगेको अनुभव हुन्छ । मन हलुका भएर बादल बनेर उड्न थाल्छ । पैतालाहरू अनायस मयुरझँै नाच्न थाल्दछन् । मैले त्यस्तै अनुभव गरेँ । मलाई लाग्यो, सुन्दर हुँदैनथ्यो भने विष्णु भगवान् आफ्नो चक्रसहित किन त्यहाँ विचरण गर्थे र ? ब्रह्मा, शिवसहित देवगण त्यहाँ आइ किन बस्थे र ? त्यसैले, दामोदरकुण्ड पवित्र पनि छ र सुन्दर पनि ।

दामोदरकुण्ड वरपरको संक्षिप्त अवलोकनपछि नेपाली बाबाले पकाएको पकवान स्वादसँग खायौँ । हाम्रा निम्ति तिनीहरू नै विष्णु थिए । पवित्र कुशको ओच्छ्यानमाथि कुशको सिरक, शालिग्रामको सिरानी राखेर विष्णुको चक्र खेलाउँदै विष्णुको काखमा एक रात बितायौं । भोलिपल्ट बिहान दामोदर कुण्डको पवित्र जलले स्नान गरी जीवनमा गरेका पाप कर्मलाई पखालेर मोक्ष मार्ग खुला गर्यौं ।

चियासँगै उवाको सातु घोलेर पियौँ । दुई अग्ला भञ्ज्याङलाई चुनौती दिँदै उकालो लाग्यौँ यारातिर । दुई दिन हिँडेको बाटोलाई १४ घण्टा लगातारको एकै दिनको मुर्ख हिँडाइपछि हामी यारा फर्केर वास बस्यौँ । यारा पुग्दा, हामी सबै असार महिनामा लगातार जोतेर थाकेको बुढो गोरुजस्तै थकाइले लोत भएका थियौँ । यारा गाउँकी छिरिङ डोका गुरुङ बहिनीको मीठो मुस्कानसहितको दाल र भातले हामी चारै जना मिठाराम, ज्ञानेन्द्र, श्याम र म तृप्त भयौँ । प्रकृति र धार्मिक आस्थाको दोभान दामोदर कुण्डमा डुबुल्की मारेर १२ दिनमा ताङ्ग्या, मुक्तिनाथ हँुदै हिलाम्मे राजधानीमा छिर्यौँ ।

प्रतिक्रिया