अधिकांशले नियमित तिर्दैनन् घरजग्गा कर


काठमाडौं । ललितपुर महानगरपालिकाभित्र करिब ३ प्रतिशतले मात्र नियमित घर जग्गा कर तिर्दै आएका छन् । करिब एक लाखको हाराहारीमा घरधुरी रहेको महानगरमा कर तिर्न भने स्थानीयले कन्जुस्याइँ गर्ने गरेको महानगरले जानकारी दिएको छ ।

नियमित रूपमा कर तिर्नुभन्दा पनि व्यक्तिगत काम रोकिने अवस्था आएपछि मात्र स्थानीयले जरिवानासहित कर तिर्ने गरेका छन् । विशेषगरी घर जग्गा बेचबिखन वा नामसारी र अंशवण्डा गर्नुपरेको खण्डमा मात्र राजस्व तिर्न आउने गरेको ललितपुर महानगरपालिकाका राजस्व विभागीय प्रमुख डिल्लिराज शाक्यले जानकारी दिए ।

ललितपुरमा राजस्वको अवस्था पनि माथि उठ्न नसकेको उनको भनाइ छ । ‘ललितपुर महानगरभित्र करिब एक लाख घर छन्, तर नियमित कर बुझाउन दुईदेखि तीन हजार मात्र आउँछन् ।’ विभागीय प्रमुख शाक्यले भने, ‘नियमको अभावमा करको दायरामा ल्याउन मुस्किल छ ।’

सबै जनतामा राजस्व तिर्नुपर्छ भन्ने चेतना नभएको होइन हेल्चेत्र्mयाइँ गरेको उनले बताए । ‘कतिपय हामीले नै भोट दिएर जिताएका जनप्रतिनिधि हुन् । हामीले कर किन तिर्ने ?’ भन्ने जस्ता प्रश्न गर्दै आउने गरेको पनि उनले सुनाए । यद्यपि, महानगरले कर तिनुपर्ने नागरिकको दायित्व हो भन्ने कुरा जनचेतना जगाउने कुनै कार्यक्रम भने नगरेको बताएको छ । कतिपयले सुरु देखि नै तिरेका छैनन्, त्यसैले कर कति बाँकी छ भन्न नसकिने विभागीय प्रमुख शाक्यले बताए ।

आर्थिक वर्ष ०७४\७५ आवासीय प्रयोजनका लागि ६ सयदेखि १८ सयसम्म कर तिर्नुपर्ने व्यवस्था रहेको छ । भने व्यवसायिक प्रयोजनका लागि १७ सय ५० देखि २२ सयसम्म तिर्नुपर्ने व्यवस्था उल्लेख गरिएको थियो । आर्थिक वर्ष ०ं७३\७४ मा ९ करोड १० लाख ६५ हजार ७ सय २ राजस्व संकलन भएको थियो । ०७४\७५ मा आइपुग्दा घरजग्गा करबाट २६ करोड ८६ लाख ४१ हजार २ सय ९६ राजस्व संकलन भएको प्रमुख शाक्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया