न्यायको खोजी

लेखक-रमेश खनाल

  सामाजिक विभेद मुलुकभरि छ । खासगरी नारीहरू सामाजिक विभेदका सिकार भएका छन् । कतै बुहारीले अकूत सम्पत्ति ल्याइनन् भनेर सासू, ससुरा, नन्द, देवर सबै मिलेर मट्टितेल खन्याएर बुहारीलाई जलाइन्छ ।

कतै यस बोक्सीले समाजमा दिनरात दुःख दिएकी छे भन्दै मुखमा गुहु कोची दिन्छन्, लछारपछार पार्दै कुट्छन् । कतै बालिकालाई शिक्षाबाट वञ्चित गरिन्छ। कतै बालिकालाई भारतका विभिन्न स्थानमा लगेर बेचिन्छ ।

कतै गर्भमा छोरी देखापरेकी छे भनेर भु्रणहत्या गरिन्छ । कतै नाबालिक, बालिका, युवतीलाई बलात्कार गरेर हत्या गरिन्छ । फरक–फरक घटनाका लागि ऐन कानुन बनेका पनि छन् तर ती ऐन कानुन कमै लागू हुन्छन्। अपराधीहरू सहजै फुत्किन्छन्।

यो हो हाम्रो देशको अवस्था । केही महिनाअगाडि श्यामसुन्दर यादवको मिथिला यें आर्ट ग्यालरीमा मिथिला देवी यादव, पुनम कुमारी दास, रुवि कर्ण र सरिता मण्डललाई मैले मिथिलाञ्चलमा भइरहेको नारीजन्य सामाजिक विभेदलाई मिथिला शैलीमा बनाउन अनुरोध गरेँ ।

उहाँहरूले लोक कथा, लोक विवाह, महाभारत र रामायणका कथाहरूमा मनग्गे मिथिला चित्रहरू बनाएर राष्ट्रिय, एवं अन्तर्राष्ट्रिय जगत्मा ख्याति कमाई सक्नुभएको छ। अबको पालो भनेको मिथिला शैलीमा सामाजिक विभेद चित्रांकित गर्नु नै हो।

यही सत्यलाई आत्मसात गर्दै चारजना कलाकारहरूले निकै मेहनत गरेर मिथिलाञ्चलमा हुने गरेका सामाजिक विकृति, विभेदलाई क्यानभास, पेपरमा ‘एक्रेलिक र फ्रेविक’ रंगको माध्यमद्वारा तयार पारेर प्रदर्शनी गरेका छन् । यी चित्रहरू सन्देशमूलक छन् । यी चित्रहरूको माध्यमद्वारा न्यायको खोजी गरिएको छ ।

यी चित्रहरू प्रतिनिधि पात्र हुन् । समाज आफैँ चेतनशील हुनुपर्छ । समाजलाई सामाजिक विभेदमुक्त गर्ने दिशातर्फ अग्रसर गराउनु पर्छ । यी चारजना कलाकारहरूले चेतनाको बिगुल फुकेका छन् ।

उनीहरूको आवाज सबै सुन्नैपर्छ र सामाजिक विभेदको अन्त्य गर्नुपर्छ भन्ने उद्देश्य लिएर यो “A Quest of Justice, Mithila Group Painting Exhibition को आयोजना अर्पण आर्ट ग्यालरी, नेपालमा मिति ०७५ असार २८ गतेदेखि आयोजना गरिएको छ । उक्त सामूहिक चित्रकला प्रदर्शनी ०७५ साल श्रावण ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया